तरकारीसँगै व्यवसायिक भैंसीपालनबाट आत्मनिर्भर

सुर्खेत, २६ साउन ।
जिल्लामा अहिले पनि रोजगारीको खोजीमा स्वदेश तथा विदेश धाउनेहरुको संख्या कमी छैन । आफ्नै गाउँ ठाउँमा भएका सम्भावनाको खोजी तथा भएका स्रोत साधानको उचित प्रयोग गर्न नसक्दा हजारौं युवायुवतीहरु बेरोजगार बस्नु परेको छ । तर जिल्लाको बराहताल गाउँपालिका–५ मा पर्ने सुनद्वारी गाउँका कृषकले कुनै पनि पेशालाई व्यवसायिक रुपमा अंगाल्न सके कामको खोजीमा भौतारिनु पर्दैन भन्ने गतिलो उदाहरण दिएका छन् ।

तरकारीसँगै व्यवसायिक भैंसीपालनबाट आत्मनिर्भर बन्दै गएका यहाँका कृषक आफ्नो कर्मप्रति निकै खुसी देखिन्छन् । गाउँमै आफै रोजगारी सृर्जना गरेर आत्मनिर्भरको विकल्प खोजेका सुनद्वारीवासीले घरघरमा भैंसी पालनदेखि व्यवसायिक तरकारी उत्पादनको अवधारणा लिएका हुन् । यहाँका एकसय दुई घरधुरी मध्ये झण्डै ६० घरधुरीले तरकारी उत्पादनसँगै भैंसी पालन गरेका छन् । भने बाँकी घरधुरीले तरकारी, बाख्रा पालन तथा अन्य व्यवसाय अपनाएका छन् ।

यहाँका कृषकहरु कसैले भैंसीको दुध बेच्ने, कसैले तरकारी बेच्ने, सकैले बजारीकरणको काम गर्नेदेखि लिएर कसैले कृषकका समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने काम गर्छन् । कृषकहरुको व्यवसायप्रतिको लगाव र मेहनतले गाउँमा आउने जो सुकैलाई प्रेरणा मिल्छ । यहाँ उत्पादन भएको भैंसीको दुधको माग नजिकैको बड्डीचौर बजारमा पुर्ती भइसकेपछि मात्रै वीरेन्द्रनगर लगायतका बजारमा दुध निर्यात हुन्छ । भने यो गाउँमा उत्पादित तरकारीले बजारको माग पुर्ती गर्दै गएको छ ।

विदेशभन्दा स्वदेशमै बढी कमाई
समूहका सचिवसमेत रहेका गोविन्द पौडेल झण्डै तीन वर्ष मलेसिया बसेर स्वदेश फर्केका हुन् । स्नातकसम्मको अध्ययन पुरा गरे कामको खोजीमा मलेसिया हानिएका उनले अन्तत गाउँमै स्वरोजगार बन्ने सपना देखे । विदेशमा दिनरात नभनी गरेको मेहनतबाट उनले अहिले जत्तिको पैसा कमाउदैन थिए । जब उनले गाउँमै फर्केर केही व्यवसाय गर्ने सपना देखे, र उनी विदेशबाट घर पर्किए पनि । विदेशबाट घर फर्केर व्यवसायिक भैंसीपालन सुरु गरेका गोविन्दलाई अहिले विदेश भन्दा यहाँ पैंसा र सन्तुष्टि दुबै बढी मिलेको छ ।

विगत एक वर्षदेखि भैंसी पाल्दै आएका उनले मासिक करिब ८४ हजार रुपैंया कमाउँछन् । १२ लाख निजी लगानी र केही अनुदानको रकमबाट उनको भैंसी फर्म व्यवसाय सुरु भएको हो । अहिले उनको फर्ममा ५ वटा दुहुना र ३ वटा ब्याउने भैंसी छन् । ‘भैंसीको आहाराका लागि घाँस र दाना व्यवस्थापनमा समस्या छ । तर तीन वटा घाँसको मेला भाडामा लिएको छु । विदेश भन्दा गाउँमै चुनौती मोलेर गरेको व्यवसायले मलाई सन्तुष्टी मिलेको छ’ उनले भने ।

दुधबाटै लाखौं आम्दानी
सुनद्वारी गाउँमा दुधबाटै मासिक पाँच लाख बढी रकम भित्रिन्छ । गाउँमा रहेको चिस्यान केन्द्रमा कृषकहरुले दुध जम्मा गर्छन् । त्यहाँ फ्याटका आधारमा दुधको पैसा पाउने कृषकले लिटरको एकसय पाँच रुपैयाँसम्म मूल्य पाउँछन् । ‘पछिल्लो समय लकडाउनले केही समस्या पारेको छ, तर पनि दिनमा झण्डै तीन सय बढी लिटर दुध निर्यात गर्न सफल भएका छौ’ सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष रत्नलाल सुवेदीले भने ‘आगामी असोजदेखि गाउँबाट दैनिक एक हजार लिटर दुध निर्यात हुने अनुमान छ ।

कृषिबाट आत्मनिर्भर बनेको यो गाउँमा अहिले धेरै भैंसी पाल्ने कृषकका लागि काम गर्ने जनशक्ति खोज्नुपर्ने अवस्था छ ।’ उक्त कृषक समूहमा आवद्ध ४७ जना कृषकलाई पशुपंक्षी तथा कृषि निर्देशनालयको तर्फबाट अनुदानमा भैंसी वितरण गरिएको छ । आर्थिक वर्ष ०७५/०७६ र ०७६/७७ मा गरी गाउँमा एकसय १० वटा भैंसी वितरण गरिएका छन् ।

२०७६/०७७ मा प्रदेश सरकारको एक लाख रुपैयाँ अनुदान र कृषकको ३२ हजार रुपैयाँ लगानीमा गरी एक लाख ३२ हजार बराबरको भैंसी वितरण गरिएका हुन् । समूहमा आवद्ध कृषक विमला चालिसेले दुध उत्पादनबाट हुने आम्दानीले आफूहरु सन्तुष्ट रहेको बताइन् । उनी गाउँमा कृषि यन्त्रको पहुँच पुगेमा अझ भैंसी थप्ने योजनामा रहेको बताउँछन् ।

कृषिमा यान्त्रीकरण गर्ने प्रयास
प्रत्येक घरमा दुई भन्दा बढी भैंसी छन् । यो गाउँका मानिसले गर्ने मुख्य आम्दानीको स्रोतमध्ये भैंसीपालन एक हो । गाउँका प्रत्येक परिवारले कम्तिमा मासिक २२ हजार रुपैयाँको दूध बेच्छन् । सुनद्वारीका कृषकहरुले गाउँमा गरिने कृषिमा यान्त्रीकरण गर्ने पनि थप प्रयास थालेका छन् । गाउँका केही कृषकले सरकारी अनुदानमा समेत भैंसी पालेका हुन् ।

गाउँमा रहेको सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष रत्नलाल सुवेदीले भने, ‘गाउँको कृषिमा यान्त्रीकरण गर्ने प्रयासमा हामी जुटेका छौं । यहाँको कृषि क्षेत्रमा यान्त्रीकरण गरी मेसिनबाट खेती लगाउनेदेखि भियभयाउनेसम्मको काम गर्ने प्रयास भइरहेको छ ।’

गोरुले गर्ने काम मेसिनले गर्ने र गोरु पाल्नुको सट्टा भैंसी पाल्दा छोटो समयमा धेरै आम्दानी लिन सकिने उनको भनाइ छ । अबको दुई वर्षभित्र गाउँको कृषिलाई यान्त्रीकरण गरी सिंगो गाउँलाई तरकारी तथा दुधबाटै आत्मनिर्भर बनाउने योजनामा समूह लागेको उनले बताए । गाउँलेहरुले यान्त्रीकरणका लागि प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म प्रस्ताव राखेका छन् ।

प्रशस्त पशुपालनबाट मलको अभाव भोग्नु नपरेको यहाँका कृषक बताउँछन् । गोरुको ठाउँमा भैंसी पाल्दा मलको अभाव भोग्नु नपरेको र कृषि बाली उत्पादनमा बृद्धि भएको हो । सुनद्वारी गाउँका कृषकले थालेको अभियानले अन्य कृषकलाई पनि प्रेरणा मिलेको भन्दै गाउँपालिका उपाध्यक्ष शोभाकुमारी शर्माले पालिकालाई तरकारी, दुध र मासुबाटै आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताइन् ।

तपाईको प्रतिक्रिया