कालिकोटका क्वारेन्टाइन सुरक्षामा नेपाली सेना खटिए

तुलराज पाण्डे
कालीकोट, ५ असार ।
कालीकोटमा तीन हजार भन्दा बढि नागरिक भारतबट आएपछि क्वारेन्टाइन भरिभराउ भएका छन् । क्वारेन्टाइन भरिएपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । क्वारेन्टाइनमा रहेका नागरिक अराजक बन्न थालेपछि कालीकोटका तीन स्थानीय तहमा नेपाली सेना परिचालन गरिएको हो ।

क्वारेन्टाइनमा बस्ने नागरिकले जथाभावी गर्ने र झोला बोकेर घर तिर जाने क्रम बढेपछि जिल्ला विपद् ब्यवस्थापन समितिले नेपाली सेनालाई क्वारेन्टाइन सुरक्षाको जिम्मा दिएको छ । प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जिल्ला भरीका ३५ वटा क्वारेन्टाईनमा चार हजार ३०४ वेडमा नागरिक रहेको बताउनुभयो । उहाँले क्वारेन्टाइनमा एक्कासि भीड लागेकाले सुरक्षाशक्ति पनि वाँडफाँड भएको बताउनुभयो । सुरक्षाकर्मीको संख्या कम भएकाले अलि सम्वेदनशिल ठाउँमा नेपाली सेनालाई जिम्मा दिएको गैरेले जानकारी दिनुभयो ।

जिल्लाको रास्कोट नगरपालिकाको वडा नं. ७ को क्वारेन्टाइन, तिलागुफा नगरपालिका, र खाँडाचक्र नगरपालिका स्थीत तिलाकर्णाली बहुमुखी क्याम्पसको क्वारेन्टाइन गरि जिल्लाका तिन वटा क्वारेन्टाइनको सुरक्षा नेपाली सेनाले लिएको छ । सेनानी उत्तम कटुवालले अलि सम्वेदनशिल क्वारेन्टाइनमा नेपाली सेनाले सुरक्षा दिने भनेपछि आफू खटिएको बताउनुभयो । ठुलो संख्या भएकाले हो हल्ला बढि हुने ठाउँलाई जिल्ला विपद् ब्यवस्थापन समितिले संवेदनशिल क्षेत्र भनेर नामकरण गरेको छ ।

रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र वरालले क्वारेन्टाइनमा बसेका व्यक्ति भाग्न थालेपछि सेनाले सुरक्षा दिन भनेको बताउनुभयो । नेपाल प्रहरीको संख्या कम भएकाले उनीहरुको कुरा नसुन्ने भएकाले नेपाली सेना परिचालन गरिएको उहाँको भनाई छ । सुरक्षा ब्यवस्था मजवुत हुँदा क्वारेन्टाइनमा बसेका नागरिकबाट कतै कोरोना संक्र्मणको हुन सक्ने जोखिम पनि कम भएको बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले हाल सम्म ५ हजार ४०२ जना भर्ना भएकोमा ३ हजार ६७५ जना पिसिआर, आरडिटी परीक्षण पछि घर गएको बताउनुभयो । उहाँले हाल आएर १ हजार ७१२ जना क्वारेन्टाइनमा रहेको र उनीहरुको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीले गरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया