जुम्लामा दैनिक एक हजार स्वाब परीक्षण गर्ने मेसिन

जुम्ला, १८ साउन ।
जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण गर्ने नयाँ मेसिन जडान गर्न लागिएको छ । ‘अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन सिस्टम’ जडान गर्न लागिएको हो । यसको क्षमता दैनिक कम्तिमा एक हजार स्वाब परीक्षण गर्न सक्ने हुन्छ । केन्द्र सरकारले प्रत्येक प्रदेशका लागि भनेर ल्याएको ७ वटा यी एक्स्ट्रयाक्सन मेसिनमध्ये कर्णालीको जुम्लामा जडान गर्न लागिएको हो ।

आइतबार यो मेसिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण भएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए । सुर्खेतमा रहेको प्रदेश अस्पताललाई प्रदेश सरकारले नै यस्तो खालको मेसिन दिने भएपछि केन्द्र सरकारले खरिद गरेको मेसिम प्रतिष्ठानमा राख्न लागिएको उनले बताए ।

‘प्रदेश अस्पताललाई प्रदेश अस्पताललाई यस्तै मेसिन दिने कुरा भएपछि, हामीले यो एक्स्ट्रयाक्सन सिस्टमको लागि पहल गरेका थियौं,’ डा. रावलले भने, ‘अब यो मेसिन आज प्राप्त गरेका छौं, केही दिनमा जुम्ला पुग्छ ।’ डा. रावलका अनुसार यो साताभित्रै प्रतिष्ठानमा आरएनए एक्स्ट्रयाक्सन सिस्टम जडान भइसक्ने छ । ‘मंगलबार हामी मेसिन जुम्ला पठाउँछौं, मेसिनसँगै इञ्जिनियर पनि पठाउँछौं,’ उनले भने, ‘यो हप्ताभित्रै यो मेसिन सञ्चालनमा आउँछ ।’ डा. रावलका अनुसार यो एक्स्ट्रयाक्सन सिस्टमले पिसिआर मेसिनले ६ घण्टामा गर्ने काम ३५ मिनेटमा गर्छ ।

‘स्वाब परीक्षण गर्ने दुइटा विधि हुन्छ, जसमध्ये एउटा पिसिआर हो भने अर्को एक्स्ट्रयाक्सन हो,’ उनले भने, ‘एक्स्ट्रयाक्सन सिस्टमबाट पिसिआर प्रणालीले ६ घण्टामा गर्ने ३५ मिनेटमा सम्पन्न हुन्छ ।’ कोरोना जाँच गर्न स्वाब परीक्षण गर्ने कार्यमा अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान काठमाडौंपछिको दोस्रोमा पर्छ। यो एक्स्ट्रयाक्सन सिस्टम जडान भएसँगै झनै सहज हुने डा. रावलको भनाइ छ । सेताेपाटीबाट 

Leave a comment

Your email address will not be published. Required fields are marked *