खडेरीमै भेरीको पानी उपत्यकामा

सुर्खेत : सुख्खायाममा खानीपानीको संकट झेल्दै आएका वीरन्द्रनगरबासीलाई भेरी नदीको पानी ल्याउने गृहकार्य शुरु गरिएको छ । भेरी नदीबाट तीन महिनामै उपत्यका ल्याउने गरी संरचना निर्माणको प्रक्रिया शुरु गरिएको हो ।

भेरी नदीमा सोमबारदेखी सम्पवेल टेस्ट (जमिनमूनी संरचना निर्माण गरेर पानी संकलन गर्ने) निर्माण काम शुरु गरिएको छ । यो कार्य माघ दोस्रो हप्तासम्म सम्पन्न हुनेछ । पहिलो सम्पवेल निर्माण सम्पन्न भएपछि कति पानी जम्मा हुन्छ भन्ने निक्र्यौल निस्कनेछ । पानीको गुणस्तर मापन, पम्पिङ्ग गर्न सकिने पानीको मात्रा र गहिराइको अवस्था पत्ता लाग्ने भएकाले सम्पवेलको काम अघि बढाइएको सुर्खेत उपत्यका खानेपानी संस्थाका इञ्जिनियर बालाराम तिवारीले बताए ।

सम्पवेलको चौडाई २० मिटर र लम्बाई झण्डै १० मिटरको हुनेछ । सम्पवेल निर्माण भएपछि कम्तिमा ५० देखी ७५ लिटर प्रतिसेकेण्ड पानी जम्मा हुनेछ । कम्तीमा ५० लिटर प्रतिसेकेण्ड पानी सम्पवेलमा जम्मा हुने अपेक्षा छ । पहिलो सम्पवेलको पानी उपत्यका आगामी बैशाखसम्म लैजाने गरी गृहकारी भइरहेको छ । पहिलो सम्पवेलमा कति पानी जम्मा हुन्छ त्यहीँ आधारमा थप सम्पवेल निर्माण हुने तिवारीको भनाइ छ । सम्पवेलको संरचनामा निर्माणमा आरसीसी ढलान गरिने छ ।

६ किलोमिटर दुरीमा रहेको अमृतडाँडामा पाइप विस्तार गरेर एकसय हर्सपावरको मोटरमार्फत भेरी नदीबाट पानी पम्पीङ्ग गरिनेछ । ३९० लिटर प्रतिसकेण्ड पानी सुर्खेत उपत्यका ल्याउने उदेश्यले वृहत भेरी नदी पम्पीङ्ग आयोजना अघि बढाइको हो । यो आयोजनाका लागि संघीय खानेपानी विभागले चार करोड बजेट विनियोजन गरेको छ ।
भेरी नदीको पानी सुर्खेत उपत्यका ल्याउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विशेष पहल गर्ने वचन दिएका छन् ।

मुख्यमन्त्रीले भेरी नदीसम्म विद्युत विस्तार गर्न पहल गर्ने बताएका छन् । ‘आगामी बैशाखसम्म एउटा सम्पवेलको पानी सुर्खेत उपत्यका लैजानेगरी काम गर्नुहोस्’ मुख्यमन्त्रीको भनाई उद्वृत गर्दै संस्थाका इन्जिनियर बालाराम तिवारीले भने, ‘६ किलोमिटरसम्मको विद्युत विस्तार तत्काल गर्न र पाइप लाइन विछ्याउने प्रक्रिया अघि बढाउन मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ ।’

तपाईको प्रतिक्रिया