भत्ताले भत्किदै राउटेको अस्तित्व

सुर्खेत, १६ कार्तिक ।

‘जंगलका राजा’ अर्थात लोपोन्मुख राउटे समुदाय । कुनै समय शिकार खेलेर जीविका चलाउँथे । काठका भाँडासँग अन्यपात साँट्थे । पैसा छुनु हुँदैन भन्ने मान्यता थियो उनीहरुको । अन्यपात बाहेक बाँदर शिकार नै उनीहरुको मुख्य आहारा हुन्थ्यो । बाँच्नका लागि कसैको साहरा चाहिदैनथ्यो । न राज्यले दुई रुपैयाँ दिन्थ्यो । न त खेतिपाती गर्थे । काठका भाँडा र बाँदरको शिकार नै उनीहरुको बाँच्ने आधार थियो ।

युगौदेखि जंगलमा फिरन्ते जीवन विताउँथे उनीहरु । तर हिजोआज भने उनीहरु बदलिएका छन् । न पहिलेको जस्तो शिकार खेल्छन्, न त काठका भाँडाकुडा नै बनाउँछन् । कारण हिजोआज उनीहरुलाई सरकार र गैरसरकारी संस्थाहरुले भत्ता र राहत बाँडेर अल्छी बनाएका छन् । राज्यले उनीहरुलाई तीन हजार रुपैयाँ मासिक भत्ता दिन्छ । दशैतिहार जस्ता चाडबाडमा खर्च दिन्छ ।

एनजिओ÷आइएनजीले पनि हातमै पैसा थम्याउँछन् । जसकाकारण राउटे समुदाय परनिर्भर बन्दै गएका छन् । केन्द्र सरकारले दिँदै आएको मासिक तीन हजार रुपैयाँमा कर्णाली प्रदेश सरकारले थप दुई हजार दिने भएको भएको छ । योसँगै अब प्रति राउटेले मासिक पाँच हजारका दरले भत्ता पाउनेछन् । यसले राउटेलाई थप परनिर्भर र अल्छि बनाउने चिन्ता सरोकारवालाहरुले गर्न थालेका छन् ।

राउटेलाई आत्मनिर्भर बनाउनेतर्फ न सरकारले सोचेको छन त एनजीओ÷आइएनजीओहरुले नै । सरकारी भत्ताका कारण राउटे समुदायको दैनिकी बदलिएको छ । ‘पहिले काठका खाम, भकारी जस्ता बनाउँथ्यौँ, त्यही बेचेर पेट पाल्थ्यौँ’ राउने समुदायका पूर्वमुखिया महिनबहादुर शाहभन्छन्, ‘सरकारले भत्ता दिन थालेपछि सबैले काम गर्न छोडे, अल्छी भए ।’ भत्ता पाउन थालेपछि काठका भाँडाकुडा बनाउन छोडेको र भत्ताविना बाँच्ने गाह्रो हुने अवस्था आएको उनको तर्क छ । उसो त हिजोआज जंगलमा पहिलेको जस्तो शिकार पनि पाउन छोडेको छ ।

आधुनिक भाँडाकुडाका कारण काठका भाँडापनि बिक्न छोडेका छन् । तर त्योभन्दा दुःखद् पक्ष राउटे समुदायको अस्तित्व नै संकटमा पर्न थालेको छ । काठका भाँडा बनाउने समुदायको परिचय गुम्न थालेको छ । भत्ताले राउटे समुदायको अस्तित्व नै भत्काने अवस्थामा पुगेको छ । सित्तैमा पैसा पाएपछि शहरीया खानपान र अन्य समुदायसँग घुलमिलसमेत हुन थालेका छन् । भत्ता दिन सहज होस् भन्ने उद्देश्यले राउटे समुदायले दैलेखको गुराँस गाउँपालिकाको स्थायी परिचयपत्रसमेत लिएका छन् । परिचयपत्रले राउटेहरूलाई सेवा सुविधा वितरणमा सहजमात्रै होइन परनिर्भरसमेत बनाउँदै गएको छ ।

काठका भाँडा नबिक्दा समस्या

राउटे समुदायले बनाउने काठका भाँडाहरू (कौशी, बाकस, सिलौटो, ओखल) जस्ता सामान बिन्क छोडेका छन् । भाँडा नबिक्दा राउटेमा आर्थिक समस्या देखिएको छ । गाउँघरमा समेत शहरीया सामानले कब्जा जमाएपछि उनीहरूले बनाउने भाँडाहरू बिक्न छाडेका छन् । ‘कसैकसैले मात्रै चिनोका रूपमा लिन्छन्’ राउटेका पूर्वमुखिया शाही भन्छन्, ‘सामान नबिकेपछि आर्थिक समस्या छ ।’ पाँच÷६ वर्षदेखि आफ्ना सामानहरू बिक्री नहुँदा निर्माण गर्नसमेत छाडेको उनको भनाइ छ । ‘जंगलमा शिकार पाउन छोडेको छ,’ उनी भन्छन्, ‘बजारबाट खाद्यान्न ल्याएपछि मात्रै भोक मेटिन्छ ।’ आर्थिक अभाव हुन थालेपछि राउटेहरूले आफ्नो नाममा आउने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको हिसाब–किताबसमेत माग्न थालेका छन् ।

नाजुक शिक्षा र स्वास्थ्य

ेउता रिसाउने डरले स्वास्थ्य संस्थामा जान नमान्ने उनीहरू शिक्षाको पहुँचबाट टाढा छन् । विरामी पर्दा वा चोटपटक लाग्दा पनि उनीहरूले औषधी उपचार गर्दैनन् । गर्भनिरोधक साधन प्रयोग नगर्दा महिलाहरूको अवस्था झनै नाजुक बन्दै गएको छ । बर्सेनी बालबच्चा जन्माउँदै आएका महिलाहरूको जीवन जोखिममा छ । गर्भवती अवस्थामा महिलाहरूको मृत्यु हुनु र बालबालिकाको स्याहार सुहारमा ध्यान दिन नसक्दा राउटेको संख्या पनि घट्दै गएको छ । कुनै समय चारपाँचसयको संख्यामा घट्दै गएको छ ।

राउटे समुदायमा मुखियाले आफूपछि मुखिया हुने व्यक्तिलाई सिकाउनेबाहेक अन्य शिक्षा दिने चलन छैन । विद्यालयमा पुगेर शिक्षा लिन न उनीहरूको संस्कारले मान्छ, न त सम्भव नै हुन्छ । यही समस्यालाई मध्येनजर गर्दै विगत दुई वर्षदेखि दैलेखको सोकेक नेपालले राउटे बालबालिकाकालाई शिक्षादिक्षा दिँदै आएको छ । यता कर्णाली प्रदेश सरकारले भने राउटे समुदायका नागरिकहरु बिरामी पर्दा प्रदेश सरकारले निशुल्क उपचार गर्नेसमेत घोषणा गरेका छ । ‘समुदायमा स्वास्थ्यकर्मी खटाउँछौं, तपाईहरु एकै ठाउँमा बसे प्रदेश सरकारले घर बनाइदिन्छ, एकै ठाउँमा बसेर काठका सामग्री निर्माण गर्नुहोस्,’ मुख्यमन्त्री शाहीले भने । उनले राउटे समुदायका नागरिकहरुलाई पढाईमा ध्यान दिन आग्रह समेत गरेका छन् ।

कर्णाली सरकारको थप दुईहजार भत्ता

राउटे समुदायले कर्णाली प्रदेश सरकारबाट थप दुई हजार रुपैयाँ भत्ता पाउने भएका छन् ।

सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा बसोबास गर्दै आएका राउटे समुदायको बस्तीमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायका नागरिकहरुलाई मासिक दुईहजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेका हुन् । कर्णालीका गहनाको रुपमा रहेको राउटे समुदायका नागरिकहरुले संघीय सरकारमार्फत लोपोन्मुख जातीअन्तरगर्त मासिक तीन हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

राउटे समुदायका नागरिकलाई संघीय सरकारले प्रदान गर्दै आएको तीन हजारसँगै कर्णाली प्रदेश सरकारमार्फत थप दुइहजार रुपैयाँ भत्ता प्रदान गर्न लागिएको हो । अबदेखि राउटेले मासिक रुपमा पाँच हजार रुपैयाँका दरले भत्ता पाउनेछन् । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले दिने थप दुइहजार भत्ता मदिरा सेवनमा खर्च नगर्न राउटे समुदायलाई आग्रह गरेका छन् । ‘सरकारले दिने भत्ता कपडा किन्न र पोषणयुक्त खाना किन्न मात्रै खर्च गर्नुहोस्,’ मुख्यमन्त्री शाहीले भने । केही दिनअघि राउटे बस्तीमा पुगेर सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराम ओली सहित बस्तीमा पुगेका मुख्यमन्त्री शाहीले यस्तो घोषणा गरेका हुन् ।

नागरिकता लिन आग्रह

फिरन्ते रुपमा जीवनयापन गर्दै आएका राउटे समुदायका व्यक्तिलाई गुराँस गाउँपालिकाले २०७५ असार ३० गते स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गरिसकेको छ । दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई आफ्नै स्थायी नागरिक बनाउने गरि परिचयपत्र दिएको हो । त्यसबेला राउटेको नाम, थर, जन्ममिति र ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र प्रदान गरिएको हो । स्थायी परिचयपत्र पाएका राउटेहरु समुदायलाई नागरिकता लिन स्थानीय, प्रदेश र संघीय सरकारले आग्रह गर्दै आएको छ । तर, उनिहरुले अस्विकार गर्दै आएका छन् । राउटे समुदायमा पुगेका कर्णालीका मुख्यमन्त्री शाहीले उनिहरुलाई नागरिकता लिन आग्रह गरे ।

समुदायमा एइआइएन लक्जेम्वर्गको आर्थीक सहयोगमा सोसेक दैलेख मार्फत राउटे परियोजना सञ्चालित छ । परियोजना मार्फत तीन जना कर्मचारी खटिईएका छन् । एक जना अहेव र दुई जना जोडी शिक्षक समुदायमा कार्यरत छन् । अहेवले राउटे नागरिकहरुको स्वास्थ्यउपचार र अन्य दुईजनाको जोडी शिक्षकले राउटे नागरिकको आनीवानीमा परिवर्तन, पोषण, बाल संरक्षण र शिक्षाका लागि अनौपचारिक कक्षा संचालन गरिरहेको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले जनाए ।

मदिराको कुलत

शहरीया जीवनमा आएसँगै राउटे समुदाय विस्तारै विभिन्न कुलतमा फस्न थालेका छन् । रक्सी र सूर्ति उनीहरूको दैनिक खुराकजस्तै बनेका छन् । यस्तै मोबाइलमा अश्लील भिडियो र तस्बिरहरू उनीहरूको थप रुचिको विषय बनेका छन् । यस्ता अश्लील कुराले समुदायमा हिंसा फैलिने डर बढ्दै गएको छ । देशका विभिन्न ठाउँमा हत्या, हिंसा र बलात्कारका घटना सार्वजनिक भइरहेका बेला राउटे समुदायमा पनि सुरक्षाको चिन्ता बढ्न थालेको छ । राउटे महिलाहरू बस्तीमा दिनभर एक्लै बस्छन् । पुरुषहरू आउँदा डराउँछन् । पुरुषहरू जंगलमा शिकार खेल्न गएको समयमा महिलाहरू असुरक्षित महसुस गर्छन् ।

भत्ताले भत्किदै राउटेको अस्तित्व

YUGAAWHAN NATIONAL DAILY (2077-07-16)

भत्ताले भत्किदै राउटेको अस्तित्व

कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन रोकियो

Leave a comment

Your email address will not be published. Required fields are marked *