जेन–जी आन्दोलन प्रहरीको गोलीले सन्तोषका गुमे दुवै आँखाका नानी

सुर्खेत, १४ असोज ।
जेन–जी आन्दोलनका क्रममा घाइते भएका सन्तोष बोहोरा जीवन र मृत्युको दोबाटोमा अस्पतालको आईसीयूमा छटपछाइरहेका छन् । २६ वर्षीय बोहोरा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, ठौरी निवासी हुन् । आन्दोलनका क्रममा वीरेन्द्रनगर–७, इत्राममा २४ भदौमा प्रहरीले चलाएको गोली दाहिने आँखामा लागेर उनी घाइते भए ।

अहिले उनको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनका दुवै आँखाका नानी गुमेका छन् । अब उनी अरुको सहाराबिना बाँच्न सक्ने अवस्था छैन । उनलाई खाना खान र उठबस गर्न पनि समस्या भएको छ । परिवारका अनुसार, उनको अस्पतालभित्रको सम्पूर्ण खर्च अस्पताल प्रशासनले निःशुल्क गरे पनि अस्पतालभित्र नपाइने औषधी, आवश्यक रगत बाहिरबाट किनेर ल्याउँदा आर्थिक समस्या झेल्नुपरेको छ ।
सन्तोषको परिवारको आर्थिक अवस्था कमजोर छ । घरमा ५ कट्ठा जमिन र एउटा घर मात्रै छ । उनी बेरोजगार थिए र क्रोएसिया जानका लागि ३ लाख रुपैयाँ म्यानपावरलाई बुझाइसकेका थिए । आन्दोलनका क्रममा यस्तो घटना भएको जानकारी मेनपावरलाई गराएपछि उक्त रकम फिर्ता दिएको पत्नी निर्मलाले बताइन् ।
निर्मलाले भेटेनरी पढेकी छन् तर जागिर छैन । सुशासन, भष्टाचारविरुद्धको आन्दोलनका कारण सन्तोषको अवस्था यस्तो भयो । पति, छोरी र सासूससुराको जिम्मेवारी आफूमा आइपरेकाले रोजगारी र घाइतेको पालनपोषणका लागि उचित व्यवस्था गरिदिन सरकारसँग उनको माग छ ।
आन्दोलनकै क्रममा २४ भदौमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, इत्राममा दिउँसो ३ बजे प्रहरीले चलाएको गोली घाँटी र हातमा लागेर २१ वर्षीय दिलबहादुर खत्री घाइते भए । दैलेखको दुल्लु नगरपालिका– ५, रिजु घरभई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकमा बस्दै आएका उनी कोरिया जानका लागि भाषा सिक्दै थिए ।
घाइते खत्री अहिले कर्णाली प्रदेश अस्पतालमा उपचार भई घर फर्किएका छन् । उनको उपचार अस्पतालले निःशुल्क गरेको छ । सुशासनको माग गर्दै सुरु भएको जेन–जी आन्दोलनले कर्णाली प्रदेश पनि अछुतो रहेन । आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाले सरकारी र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । आन्दोलनमा भएको तोडफोड र आगजनीका घटनाहरूको अभिलेख इन्सेक कर्णाली प्रदेश कार्यालयले गरिरहेको छ ।
अभिलेखअनुसार आन्दोलनका क्रममा कर्णाली प्रदेशमा ३५ जना घाइते भएका छन् । घाइतेहरूमध्ये १८ जनालाई गोली लागेको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बताए । साथै, आन्दोलनका क्रममा सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, निजी घर र सवारी साधनहरूमा क्षति पुगेको छ । कर्णाली प्रदेशमा २९ वटा सरकारी कार्यालय, २० वटा राजनीतिक दलका पार्टी कार्यालय भवन र आठवटा घरमा आजगनी तथा तोडफोड गरिएको छ ।
साथै, १३ वटा सरकारी गाडी, १९ वटा मोटरसाइकल, दमकल, एम्बुलेन्स, शववाहन, डोजर, ट्याम्पु र व्यक्तिगत गाडीहरू समेतमा आगजनी गरियो । जेन–जी समूहले गरेको आन्दोलनका क्रममा सुर्खेतमा मात्रै २१ करोड रुपैयाँभन्दा बढीको सरकारी सम्पत्ति क्षति भएको छ । क्षति मूल्यांकन समितिमा प्राप्त भएको विवरणका आधारमा २१ करोड १९ लाख ६९ हजार ३ सय ४५ रुपैयाँबराबरको सरकारी सम्पत्ति क्षति भएको हो ।

यो क्षति राजनीतिक दलका कार्यालय र निजी घर बाहेकको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतको तथ्यांकअनुसार संघीय सरकारका कार्यालय, प्रदेश सरकारका कार्यालय र स्थानीय तहका कार्यालयमा भएको भौतिक संरचना, उपकरणलगायतका क्षतिको विवरण उल्लेख छ । सबैभन्दा धेरै क्षति वीरेन्द्रनगर नगरपालिकाको भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, १ नम्बरदेखि १२ नम्बरसम्मका वडा कार्यालय र सिटी हलसमेत गरी ११ करोड रुपैयाँभन्दा बढीको क्षति भएको नगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख डिल भण्डारीले बताए । सबै क्षतिको मूल्यांकन गरी करिब ११ करोडजति आएको उनको भनाइ छ । कर्णाली प्रदेशसभा सचिवालयको बढी क्षति भएको छ । यहाँ ३ करोड ९४ लाख १६ हजार ३ सय ९४ रुपैयाँबराबरको क्षति भएको छ । कार्यालयमा भवन तथा कोठा, फर्निचर तथा फिक्चर्स, कम्प्युटर तथा इलेक्ट्रोनिक्स, सवारीसाधन तथा खर्च भएर जाने सामानहरू क्षति भएका छन् ।
नापी कार्यालयको दुई करोड ६३ लाख ६० हजार ९ सय ९० रुपैयाँको क्षति भएको छ । यी कार्यालयमा पनि भवन तथा कोठा, फर्निचर, सवारी साधन लगायतका महत्वपूर्ण कागजात नष्ट भएका छन्‌ । प्रदेश लेखा नियन्त्रक कार्यालयको १ करोड ३२ लाख १६ हजार ६१ रुपैयाँबराबरको क्षति भएको विवरण प्राप्त भएको छ । यसमा सरकारी कागजात, सवारी साधन, कम्प्युटर, फर्निचर र भवन तथा कोठा क्षतिग्रस्त भएका छन्‌ ।
त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मुख्यमन्त्री निवाससमेतको गरी १ करोड ७९ हजार रुपैयाँ बराबरको क्षति भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयको १ करोड १४ लाख ६० हजार बराबरको क्षति भएको छ । जिल्ला समन्वय समितिको ४ लाख ३ हजार, सडक डिभिजन कार्यालयको २ लाख ४ हजार, भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाको ६० हजार, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ४ लाख १० हजार र सामाजिक विकास मन्त्रालयको ३ लाख ५९ हजार ९ सय बराबरको क्षति भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले पालिका र पालिकाअन्तर्गतका संरचनाको क्षतिको मूल्यांकन गरेर पठाइएको बताए । आन्दोलनका क्रममा सुर्खेतमा पाँचवटा राजनीतिक दलका कार्यालय, आठवटा निजी घर र २८ वटा सरकारी संरचना गरी कुल ४४ वटा भौतिक संरचना तोडफोड तथा आगजनीमा क्षतिग्रस्त भएका छन् ।

सरकारले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा क्षति मूल्यांकन समिति गठन गरेको थियो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले सरकारी कार्यालयको क्षतिको विवरण संकलन गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै अब निजी घर तथा राजनीतिक दलका कार्यालयको क्षतिको मूल्यांकन हुने तयारी भइरहेको बताए ।

 

जेन–जी आन्दोलन प्रहरीको गोलीले सन्तोषका गुमे दुवै आँखाका नानी

दसैंमा पनि दाङका किसानको केरा बिक्री नहुंदा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds