संचारीका समूह बाँकेको आयोजनामा पहिलोपटक महिला पत्रकारहरूका लागि ‘तिज ट्यालेन्ट शो’ सम्पन्न

बाँके ,१ भदौ।
सञ्चारिका समूह बाँके शाखाले पहिलोपटक आयोजना गरेको महिला पत्रकारहरूका लागि विशेष ‘तिज ट्यालेन्ट शो प्रतियोगिता–२०८२’ कोहलपुरमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख आतिथि कोहलपुर नगरपालिकाकी कार्यबहाक नगरप्रमुख सङ्गिता सुवेदी रहनुभएको थियो। उहाँले महिला पत्रकारहरू सधैं अरुको कला, क्षमता र प्रस्तुति बारेमा समाचार लेख्दै हिँड्ने भए पनि आफ्नै प्रतिभा प्रदर्शन गर्ने अवसर पाउन नसक्ने अवस्थालाई यस कार्यक्रमले तोडेको बताउनुभयो।

“महिला दिदीबहिनीहरूको महान पर्व तिजलाई विकृति होइन संस्कृतिको झल्को दिने गरी मनाउँदा वर्षदिनको दुखपिडा एकै दिन भए पनि बिर्सन सकिन्छ,” उहाँले भन्नुभयो, “यस्तो जमघट र सिर्जनात्मक प्रस्तुतिले महिला पत्रकारहरूमा आत्मबल थप्नेछ।”

विशिष्ट अतिथि लखनउ सिटी अस्पतालका डा. प्रमोद कुमार पालले तिजलाई महिला दिदीबहिनीहरूको हर्ष–उल्लासको पर्व भन्दै स्वास्थ्य, सामाजिक र सांस्कृतिक दृष्टिले यसले ठूलो महत्व राख्ने बताउनुभयो।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले महिला पत्रकारहरूको प्रतिभा अभिव्यक्त गर्ने माध्यमका रूपमा कार्यक्रम अर्थपूर्ण भएको बताउनुभयो। उपाध्यक्ष करुणा शाहले महिला पत्रकारहरूको सिर्जनशीलता उजागर गर्ने यस्तो पहलले आगामी दिनमा अझ ठूलो उत्साह जगाउने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, सञ्चारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रूपा गहतराज, संस्थापक अध्यक्ष अछरी पोख्रेल, कोहलपुर–२ का वडा अध्यक्ष हरि कठायत, समाजसेवी अन्जना पाण्डे लगायत वक्ताहरूले तिज पर्वले महिलाले भोग्ने दुख, पीडा र तनावलाई भुलाउँदै सामाजिक एकता र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताएका थिए।

कार्यक्रममा क्रियाशिल महिला पत्रकार बाँकेकि अध्यक्ष सावित्री गिरी , प्रेस युनियन बाँके अध्यक्ष प्रीयास्मृति ढकाल, प्रेस सेन्टर बाँके सचिव पुस्पराज हमाल, अकोराबका केन्द्रीय सदस्य हेमन्त विक, रेडियो प्रतिबोध एफएमका अध्यक्ष शिव सुनार, नेपाल पत्रकार महासङ्घ बाँके उपाध्यक्ष रेजिना मल्ल, तिलक गाउले, नेपाल पत्रकार महासङ्घ बाँकेका निवर्तमान उपाध्यक्ष सङ्गिन शर्मा, सचिव कृष्ण ओली, प्रेस सेन्टर कोहलपुर नगर अध्यक्ष निरज सिङ लगायतको सहभागिता सङ्गै बाँके जिल्लाका सक्रिय महिला पत्रकारहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता सञ्चारिका समूह बाँके अध्यक्ष पवित्रा परियारले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई मुख्य प्रायोजकका रूपमा साथ दिएको लखनउ सिटी अस्पताल र सहप्रायोजक पोखरा गहना पसल लगायत अन्य प्रायोजकलाई धन्यवाद ज्ञापन गर्दै महिला पत्रकारहरूको क्षमता विकासमा निरन्तर सहयोगको अपेक्षा राख्नुभयो।

प्रतियोगितामा तीन विधामा प्रतिस्पर्धा भएको थियो। निर्णायक मण्डलमा साहित्यतर्फ कोहलपुरकी साहित्यकार सुमित्रा न्यौपाने, नृत्यतर्फ पत्रकार महासङ्घ बाँकेका निवर्तमान अध्यक्ष देवीलाल सुनार र गायनतर्फ लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बिरेन्द्रसिंह ठकुरी रहनुभएको थियो। निर्णायकहरूले निष्पक्ष ढङ्गले निर्णय गरेको बताएका थिए।
विजेताहरू:
एकल गायनतर्फ: प्रथम – शान्ती सुनार, द्वितीय – काजल रैका, तृतीय – विमला चौधरी
साहित्यतर्फ: प्रथम – निशु जोशी, द्वितीय – विद्युत्मा रैका, तृतीय – शान्ति सुनार
नृत्यतर्फ: प्रथम – ममता थापा, द्वितीय – ज्ञानु थापा, तृतीय – सन्ध्या गरै र सावित्री गिरी हुनुभएको छ।

नगद पुरस्कारसहित तीनै विधाका प्रथम विजेतालाई पोखरा गहना पसलका सञ्चालक बालकृष्ण दियालीले चाँदीको सिक्का उपहार प्रदान गर्नुभएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य सञ्चारिका समूह बाँकेकी उपाध्यक्ष सरला सुवेदीले गर्नुभएको थियो भने सञ्चालन सञ्चारकर्मी ममता थापा र धना केसिले गर्नुभएको थियो।












