२०८२ फाल्गुन ५ गते
×

Now Playing

सम्झौता कार्यन्वयनमा ढिलासुस्ती, कर्णाली प्रदेश अस्पतालमा सुरु भएन क्यान्सर उपचार सेवा


स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–०३० स्वीकृत गरेका थिए । त्यसै आधारमा अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि, २०८१ लागुसमेत भएको छ ।

कार्यविधि अनुसार नेपालको संबिधान २०७२ धारा ३५(३) ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गर्ने भनिएको छ । क्यान्सर रोगको भार बर्षेनी बढ्दै जाँदा उपचार गर्ने अस्पतालहरु सिमित भई उपचारमा नागरिकको पहुँच पर्याप्त हुन नसकेको अवस्थामा सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने लक्ष्य संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको थियो ।

हाल काठमाडौ उपत्यका र भरतपुर चितवनमा सिमित रहेको क्यान्सर रोगको उपचार सेवालाई सातै प्रदेशमा विस्तार गर्न अत्यावश्यक भैसकेकाले क्यान्सर उपचार सेवा सञ्चालन गरिरहेका संघीय अस्पतालहरुले सो सेवा नभएका प्रदेशस्थित कम्तिमा एक संघीय, प्रादेशिक अस्पतालहरुमा क्यान्सर सेवा सञ्चालन गर्न जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिईएको अधिकार प्रयोग गरी संघीय सरकार अघि बढेको थियो ।

त्यसै उद्देश्य अनुसार हाल सञ्चालनमा रहेका संघीय तहका क्यान्सर अस्पतालहरुबाट उपलब्ध जनशक्ति तथा साधन श्रोत एवं आवश्यकता अनुसार थपसमेत गरी सातै प्रदेशमा अवस्थित कम्तीमा एक संघीय, प्रादेशिक अस्पतालहरुबाट क्यान्सर रोग उपचार र व्यवस्थापन गर्नुपर्ने थियो । सोही बमोजिम संघीय सरकारले देशभरका सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार योजना अगाडि सारेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतसँग बिपी कोइराला क्यान्सर अस्पताल बिच सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भएको लामो समयसम्म पनि सेवा सुचारुमा बिलम्ब भइरहेको छ । १८ भदौ २०८१ मा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र कर्णाली प्रदेश अस्पताल सुर्खेत तर्फबाट तत्कालिन अस्पताल निर्देशक डम्बर खड्काले सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता–पत्र अनुसार क्यान्सरको उपचार सेवा १३ असोजबाट सुरु हुनुपर्ने थियो । सम्झौतामा बिपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने थियो । सम्झौता अनुसार १३ असोजमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा क्यान्सर पहिचानका लागि जाँच (स्क्रिनिङ), प्रयोगशालामा क्यान्सर परीक्षण, केमोथेरापी, रेडियोथेरापी, शल्यक्रिया, प्यालियटिभ केयर, रेफरल र परामर्श लगायतका सेवा दिने कार्यक्रम रहेको थियो । तर, अहिलेसम्म पनि यो सेवा सुरु हुने संकेत देखा परेको छैन ।

सम्झौता कार्यान्वयनमा अन्यौलता
हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शैयाको क्यान्सर उपचारकक्ष सञ्चालन गर्ने गरी सेवा विस्तार गर्ने लक्ष्यका साथ भएको सम्झौता अनुसार हालसम्ममा कर्णाली प्रदेश अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुन सकेको छैन् ।

हरेक महिनाको एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित सेवा केन्द्रमा खटिने सम्झौता भएको भएपनि हालसम्म पनि कुनै काम हुन नसकेको कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी बिनोद बस्नेतले बताए । ‘१३ असोजबाट सेवा विस्तार गर्ने योजना थियो,’ उनले भने, ‘तर, बीचमा चाडपर्व परेका कारणले कुनै काम हुन सकेको छैन् ।’

चाडपर्वपछि पनि बिपी कोइराला क्यान्सर अस्पतालले अहिलेसम्म कहिले सेवा सुचारु गर्ने भन्ने विषयमा जानकारी नगराएको सूचना अधिकारी बस्नेतले बताए । ‘क्यान्सर उपचार सेवा सञ्चालन कहिले हुन्छ भन्ने बिषयमा कुनै जानकारी छैन्,’ उनले भने, ‘पछिल्लो चरणमा कुनै सम्पर्क पनि हुन सकेको छैन् ।’

संरचनामा पनि भएन प्रगति
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर र कर्णाली प्रदेश अस्पताल, सुर्खेतको सम्झौता अनुसार भरतपुर अस्पतालले क्यान्सर उपचार विस्तारित सेवा सञ्चालन गर्ने, क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि, २०८१ मार्फत अनुसार सम्झौता भएको थियो ।

समझदारी अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले सेवा प्रदान गर्ने जनशक्तिलाई नियमानुसार यातायात, खाजा लगायत खर्चको लागि आवश्यक बजेटको व्यवस्था मिलाउनु पर्ने, सेवा सञ्चालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउनु पर्ने, विस्तारित सेवाको हकमा महिनाको कम्तीमा एकपटक सेवा सञ्चालन गर्नुपर्ने, विस्तारित सेवामा बहिरङ्ग, अन्तरङ्ग एवं उपचार समेत समेटी सेवा प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, कर्णाली प्रदेश अस्पतालले क्यान्सर रोगको विस्तारित सेवा सञ्चालन गर्न आवश्यक वातावरण निर्माण गर्नु पर्ने, सेवाग्राहीलाई विस्तारित सेवा बारे सूचना, कार्यतालिका र सेवा विवरण बारे जानकारी गराउनु पर्ने, उपचारका लागि आफ्नो संस्थामा उपलब्ध पूर्वाधार औजार उपकरण र जनशक्ति परिचालन गरी प्रथम पक्षलाई पूर्ण सहयोग गर्नु पर्ने उल्लेख छ ।

तर, अहिलेसम्म पनि सेवा बिस्तार नहुँदा विस्तारित सेवामा बहिरङ्ग, अन्तरङ्ग एवं उपचारका लागि प्रदेश अस्पतालमा कुनै संरचना निर्माण हुन नसकेको अस्पतालका सूचना अधिकारी बस्नेतले जानकारी दिए । ‘सम्झौता अनुसार काम नभएपछि कुनै प्रकार छुट्टै वार्ड र जनशक्तिको विस्ता हुन सकेको छैन्,’ उनले भने, ‘सम्झौता कार्यन्वयनमा आएपछि मात्र अन्य संरचना बन्छन् होला ।’

सेवा प्रदायक अस्पताल र विस्तारित सेवा सञ्चालन गर्ने अस्पतालको द्विपक्षीय सहमतिका आधारमा सेवा थप गर्ने वा सेवा संचालनको कार्यतालिका परिमार्जन गर्न सकिने र सेवाको गुणस्तरको लागि दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने थियो । यो समझदारी भएको लामो समयसम्म पनि सेवा विस्तार नहुँदा क्यान्सरका बिरामीहरु अस्पतालमा आउन सकेको कर्णाली प्रदेश अस्पतालले जनाएको छ ।

वर्षेनी बढ्दै क्यान्सका बिरामी
सुर्खेत जिल्लामा क्यान्सर रोगका बिरामी बर्र्षेनी थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा सुर्खेत जिल्लामा एक सय १० जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो संख्या उपचारमा सहुलियत लिन आएकाको हो ।

गत वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट ५० जनाले प्रतिव्यक्ति २० हजारका दरले सहुलियत यातायात खर्च लिएका छन् । अन्य ६० जनाले सहुलियत लिन निवेदन पेस गरेको कार्यालयले जनाएको छ ।

सम्झौता कार्यन्वयनमा ढिलासुस्ती, कर्णाली प्रदेश अस्पतालमा सुरु भएन क्यान्सर उपचार सेवा

YUGAAWHAN NATIONAL DAILY (2081-08-22)

सम्झौता कार्यन्वयनमा ढिलासुस्ती, कर्णाली प्रदेश अस्पतालमा सुरु भएन क्यान्सर उपचार सेवा

कर्णाली याक्सको दोस्रो जीत, विराटनगर ७ रनले