अघि बढ्यो वीरेन्द्रनगरको ‘ड्रिम प्रोजेक्ट’


कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अगाडि सारेको ‘ड्रिम’ प्रोजेक्ट भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण प्रक्रियामा प्रवेश गरेको छ । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट बन्न लागेको भेरी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण सम्झौता भएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालय सुर्खेत र निर्माण व्यवसायीबिच निर्माण सम्झौता भएसँगै आयोजना बन्ने निश्चित भएको हो । बुधबार आयोजना इकाईका प्रमुख सन्जिवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपररेसन कम्पनी लिमेटेडका प्रतिनिधि सुशिलकुमार श्रेष्ठबिच निर्माण सम्झौता भएको हो । आगामी तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग तीन अर्ब ५० करोड आठ लाख १५ हजार दुई सय ८० रुपैयाँ ६१ पैसा लागतमा सम्झौता भएको हो । ग्लोबल टेण्डरमार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायी मध्ये चिनियाँ कम्पनी छनौटमा परेको हो ।

प्रदेशकै ठूलो नगरपालिकाको रूपमा रहेको वीरेन्द्रनगरमा आगामी ३० वर्ष (सन् २०५०) सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसंख्यालाई दिर्घकालीन खानेपानीको सहज आपूर्तिमा पु¥याउने लक्ष्यका साथ आयोजना अगाडिब बढेको हो । यसअघि ठूलो लगानीको आयोजना भएकाले बीचमा कुनै कारण डिजाइन फेल नहोस् भन्ने हेतुले पुनः परामर्शको लागि आयोजना कार्यान्वयनको जिम्मा पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागले पटक–पटक विज्ञहरूको राय मागेको थियो । दुई खण्डमा गरी ६ अर्ब रूपैयाँ लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गर्न विभागले थप गरेको समयावधिमा इन्टेक निर्माण गरिने स्थान परिवर्तनबाहेक अन्य डिजाइन ठीक भएसँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको हो ।

संघीय खानेपानी मन्त्रालयले विश्व बैङ्कको ऋण सहयोगमा चालु आर्थिक वर्ष २०८१/०८२ बाट संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर उपत्यकामा ल्याउन सुरु गरेको हो । जसअनुसार संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिकाले २० प्रतिशत लगानी जुटाउनु पर्ने हुन्छ । कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचअल फण्ड’ अन्तर्गत प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा पाँच करोड रूपैयाँ विनियोजन गरेको छ, भने नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरिसकेको छ ।

दिगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउनुका साथै सेवा प्रवाहमा स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजनाको पहिलो चरणका कामहरूमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब सात मिटर गहिरा दुई वटा इन्टेक निर्माण गरिनेछ । त्यसपश्चात् इन्टेकदेखि करिब चार सय मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, सात किलोमिटर पाइप लाइन विस्तारसँगै वीरेन्द्रनगर–११, स्थित अमृत डाडाँमा मुख्य रिजर्भ ट्याङ्की निर्माण हुनेछन् । यस्तै पहिलो चरणकै काममा ट्याङ्कीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारणलाइन विस्तार हुनेछ ।

यस्तै, दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गर्ने योजना छ । वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ । पहिलो र दोस्रो चरणका लागि करिब ३/३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । भेरीको पानी चार मिटर उचाइमा प्रशोधन ट्याङ्कीमा खसालिनेछ । त्यसपश्चात् करिब सात किलोमिटर लामो पाइपका माध्ययमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिनेछ । पाँच सय ५० मिलिमिटर प्रति सेकण्ड क्षमताको पानी बोक्न सक्ने पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म विस्तार गरिनेछ ।

अमृतडाँडामा ३० लाख क्षमताका तीन वटा रिजर्व ट्याङ्की निर्माण हुनेछन् । भेरीबाट पानी लिफ्टिङका लागि दुई मेगावट विद्युत् आवश्यक पर्ने आयोजनाका प्रमुख सन्जिबकुमार साहले बताए । आयोजना कार्यान्वयका क्रममा कुनै पनि समस्या नहोस् भनेर ११ महिनाको सुक्ष्म अध्यन पश्चात ठेक्का सम्झौतामा गएको उनले बताए । समयमै आयोजना सम्पन्न गर्ने गरी कार्यालयले आवश्यक प्राविधिक तथा व्यवस्थापकिय पक्षलाई ध्यानमा राखेर निर्माण व्यवसायी छनौट गरिएको उनले बताए । लिफ्ट प्रविधिमार्फत ल्याइने भेरीको पानी वीरेन्द्रनगर नगरपालिकामा वडा नम्बर १ देखि १३ सम्म वितरण गरिने छ । तीन वर्ष निर्माणको समायावधि रहेको आयोजना निर्माण सम्पन्न भइसकेपछि पनि थप तीन वर्ष आयोजनाको सञ्चालन र व्यवस्थापको जिम्मा निर्माण कम्पनीले लिनेछ । त्यस पश्चात आयोजनाको सम्पूर्ण स्वामित्व वीरेन्द्रनगर नगरपालिकाको मातहतमा आउनेछ ।

आयोजनामा समस्या आउँदैन: मेयर ढकाल
वीरेन्द्रनगर नगरपालिकाले अघि सारेको सबैभन्दा ठुलो र महत्वपूर्ण आयोजनाको रुपमा रहेको भेरी लिफ्ट खानेपानी आयोजना कार्यान्वयका क्रममा कुनै पनि समस्या आउन नदिने वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले बताइन । वीरेन्द्रनगरको मात्र नभई समर्ग प्रदेशको चासो विषय रहेका आयोजनालाई समयमै सक्न निर्माण व्यवसायीलाई कुनै पनि नीतिगत तथा स्थानीयस्तरमा समस्या आउन नदिने प्रमुख ढकालले बताइन ।

वीरेन्द्रनगरमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि स्रोतको खोजी गरिएको उल्लेख गर्दै भेरी नदीको पानी उपत्यकामा ल्याउने विकल्प नै उत्तम भएपछि आयोजनाको कन्सेप्ट तयार भएको ढकालले बताइन । ‘नगरपालिकाको गौरवको आयोजनालाई हामीले अपनत्व लिने गरी विशेष प्राथमिकतामा राखेका छौँ । यसलाई समयमै सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो ध्यय हो । यसमा तीनै तहका सरकारहरुले आपसी समन्वय र सहकार्य छ ।

यो संघीयता कार्यान्वयनको एक गतिलो उदाहरण पनि हो,’ ढकालले भनिन्, ‘मेलम्चीपछिको दोस्रो ठुलो खानेपानी आयोजनाको रुपमा रहेको भेरीलाई स्थानीय तहलले अगाडि बढाउन सक्छ कि ? सक्दैन भन्ने आशंका आज हामीले यो आयोजना अगाडि बढाएर पुरा गरेका छौं ।’ निर्माण कम्पनीले गरेको प्रतिवद्धता पुरा गराउन फिल्डस्तरमा नगरपालिकाको तर्फबाट गर्नुपर्ने कामहरु यथासिंघ्र अगाडि बढाउने ढकालले प्रतिवद्धता जनाइन् ।

समयमै आयोजना सम्पन्न हुनुपर्छ: अध्यक्ष देवकोटा
वीरेन्द्रनगर उपत्यकाको दीर्घकालिन खानेपानी समस्या समाधान गर्न अगाडि बढाइएको आयोजना निर्माणमा विलम्ब गर्न नहुने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटा जोड दिए । अहिलेको संरचनाले नगरमा पानीको माग पूरा गर्न नसकिने भन्दै अगाडि बढाइएको आयोजना निर्माणमा ढिलाइ गर्न नहुने उनले बताए । आयोजना कार्यान्वयन स्थलमा कुनै पनि नीतिगत अल्झनहरु नरहेको उल्लेख गर्दै भएको काम गर्नेक्रममा आउने सामाजिक अल्झन सुल्झाउन आफूले प्रमुख भूमिका खेल्ने देवकोटाले प्रतिवद्धता जनाए ।

आयोजनाको चर्चा हुन थालेको लामो समयपछि निर्माणको चरणमा जानु वीरेन्द्रनगरबासीका लागि खुशीको विषय रहेको उल्लेख गर्दै यसमा सबैले साथ र सयोग गर्नुपर्ने अध्यक्ष देवकोटाले बताए । लामो प्रतिक्षापछि औपचारिक निर्माणमा प्रवेश गरेको आयोजनाको गुणस्तरमा कुनै पनि सम्झौता नुहुने पनि उनले बताए । निर्माण सम्झौता भएसँगै आयोजनाको पुनः जोइन्ट सर्भे हुने उल्लेख गर्दै अध्यक्ष देवकोटाले आयोजनामा रहेका प्राविधिक र व्यवस्थापकिय त्रुटिहरुलाई सच्याएर अगाडि बढ्ने उनले बताए ।

वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दिनानुदिन चुलिँदो खानेपानीको समस्या समाधानको एकमात्र विकल्प भेरी लिफ्ट रहेको उनले बताए । वीरेन्द्रनगरमा हाल दैनिक ती सय २० लिटर प्रतिसेकण्ड पानीको माग भए पनि आपूर्ति भने प्रतिसेकेन्ड एक सय ५३ लिटर भइरहेको छ । खानेपानी आपूर्ति तथा व्यवस्थापनको जिम्मा पाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ । तर, मागबमोजिमको पानी उपलब्ध गराउन भने सकेको छैन । हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको संस्थाले १८ हजारबढी घरधुरीलाई खानेपानी दिन सकेको छैन । हाल संस्थाले झुप्राखोला, खरी खोला, खोर्के खोला, इत्राम खोलाबाट खानेपानी वितरण गरिरहेको छ ।

अघि बढ्यो वीरेन्द्रनगरको ‘ड्रिम प्रोजेक्ट’

सम्पादकीय: कार्यक्रम उज्यालो कि अँध्यारो ?

अघि बढ्यो वीरेन्द्रनगरको ‘ड्रिम प्रोजेक्ट’

वाध्यताको परिधिमा यौन स्वतन्त्रता