सम्पादकीय : खेलकुदबाट कर्णालीको इज्जत जोगाऊ

वीरेन्द्रनगर सुर्खेतमा यही मिति २०८१ मंसिर २ मै जसरी नि १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने एक पक्षको कुरा छ भने अर्कोतर्फ बन्नुपर्ने संरचना र तयारी कम भएकाले केही समय पछाडी सार्नुपर्छ भन्ने अर्को पक्षको कुरा रहेको छ । यसलाई बैचारिक मतभिन्नता या त व्यक्तिगत नियतसंग जोड्नु हुँदैन । किनकि यो कर्णाली प्रदेशको ईज्जतको विषय पनि हो । यसमा मुख्यमन्त्री, सामाजिक विकास मन्त्री र खेलकुद परिषद्का सदस्य सचिव तीन वटा फरक फरक पार्टीका व्यक्ति भएकाले आफ्नो अनुकुलता राजनीतिक पार्टी बोकेर पार्टीको स्वार्थमा निर्णय गरिनु हुँदैन ।
सदस्य सचिवको पदावधी केही महिनाभित्र सकिँदै छ खेलकुद पूर्वाधार निर्माणमा उनले पाएको जिम्मेवारी कुलतापूर्वक निर्वाह गर्न सके वा सकेनन राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना, सफलतापूर्वक सञ्चालन र समापनपछि मात्रै जिम्मेवारीको मापन हुनेनैछ । चौतर्फी समिक्षा गर्दै कर्णालीको ईज्जत जोगिने र थप कद उचो हुनेगरी विवेकपूर्ण ढंगले काम गर्नुपर्छ । जसका कारण नेतृत्व, खेलाडी र सिङ्गो कर्णालीको समेत ईज्जत जोगिनुपर्छ ।
न कि यो आफ्नो काम देखाउने नाममा सोचविचार गरी दिर्घकालिन असर पुग्ने गरी राष्ट्रिय खेलकुदको प्रतियोगिता समय तालिकालाई परिवर्तन गर्नु पनि हुँदैन र कसैले जस लिहाल्लाकी भनेर डाहले तय भैसकेको कार्यक्रमलाई स्थगन गर्नु या सार्नु पनि राम्रो होईन ।
कर्णाली प्रदेशको सुर्खेतमा हुने भनि तय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने कि नहुने भन्ने कुरामा अनेकन विचारहरु आउन थालेका छन् । यो हालसालै तोकिएको समय तालिका भने होइन । खेलकुदका लागि चाहिने भौतिक पूर्वाधारको अवस्था, आफ्नै प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीको तयारीको अवस्था, जुन अहिलेको अवस्था छ त्यो भन्दा उत्कृष्ट नतिजा ल्याउने कुरा या त भएको स्तर पनि कतै हतार गर्दा सानो निर्णयले कर्णालीको ईज्जतमै समस्या हुने, प्रयाप्त खेलकुदका प्रतियोगिताहरु सञ्चालन गर्न कठिनाई हुने, खेलाडी र पाहुना बोलाएपछि थप प्रदेशको लाज हुने लगायतका कुराहरुलाई हेर्दा समयमै हुने कि नहुने भन्ने कुरामा अन्यौल देखिएको छ ।
जुन कुरा राम्रो होईन ईतिहाँसमा पहिलोपटक आयोजना गर्ने अवसर पाएको कर्णाली प्रदेशको आफ्नै कारणले आयोजनाको समय तालिका विवादित हुनु कदापी पनि कसैका लागि पनि राम्रो हँुदैहैन । विभिन्न समयमा सम्बन्धितसंग गरेका छलफलहरु, त्यहाँबाट आएका प्रतिक्रियाहरु, त्यसको तत्कालिन र दिर्घकालीन असरहरुमा ध्यान दिँदै सिंगो कर्णालीको सान बढ्ने गरी खेलकुद आयोजना गर्नु आयोजक र सम्बन्धितको दायित्व हो । यसलाई कसैको व्यक्तिगत लाभ हानीको विषय बनाउनु हँुदैन र बन्नु पनि हुँदैन ।
आयोजनालाई लक्षित गरी तयार हुँदै गरेका २७ वटा खेल पूर्वाधार निर्माणको अवस्था कस्तो छ ? पूर्वाधार नै तयार नभएको भए कसरी सफल हुन्छ कार्यक्रम ? बसोबास, यातायात, स्वास्थ्य, सुरक्षाको अवस्था के हो ? अहिलेको अवस्थाले कर्णालीको कस्तो खालको सन्देश जान्छ बाहिर ? अनि आयोजक प्रदेशको आफ्ना खेलाडीको लागी कस्तो खालको तयारी छ ? यस्ता विषयलाई मध्यनजर गर्दै कार्यक्रम निर्धारित समयमै गर्ने कि केही थप तयारी पुरा गरेर केही समय पछाडी पो गर्ने कि भन्ने कुरा लहडको भरमा भन्दा पनि विवेकपूर्ण तरिका, साझा सहमति जुटाउँदै सबैको अपनत्व र साझा निर्णयबाट गर्नुपर्ने होला कि ?
यसरी कर्णालीमा आयोजना हुन लागेको कर्णालीको गौरवको आयोजना/कार्यक्रम सफल पार्नलाई प्रत्येक्ष तथा अप्रत्यक्ष रुपमा लाखौ व्यक्तिहरुको भूमिका र सहयोग हुन्छ । जस्तै निजि व्यवसायी जसले बाहिरबाट आएका खेलाडी, पाहुना, दर्शक लगायतका लागी सुरक्षित आवास, यातायात र खानाको प्रबन्ध गर्नुपर्नेहोला । उनीहरुको क्षमता र स्तरको कुरा पनि होला । खेलाडीहरुलाई सामान्य व्यक्तिभन्दा केही फरक सुविधाहरु चाहिने होला । उपयुक्त र अनुकुल वातावरण छ कि छैन ? सबै विषयमा गम्भिरतापूर्वक लिएर सबैको साझा धारणाबाट एउटा निर्माणमा पुग्नु र प्रदेशको इज्जत तथा गौरव बढाउनेतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।






