स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

दृष्टिविहिनहरुको समावेशीकरण र सशक्तिकरण परियोजनाको स्थानीय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । बुधवार वीरेन्द्रनगरमा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो ।
नेपाल नेत्रहीन संघको आयोजना र डेनिस एसोसिएसन अफ द ब्लाइन्डको आर्थिक सहयोगमा दृष्टिविहिनहरुको समावेशीकरण र सशक्तिकरण परियोजना संचालन भएको छ । हाल अहिले कर्णाली प्रदेशको चार जिल्ला जाजरकोट, सल्यान, दैलेख र सुर्खेतमा यस परियोजनाले काम गरिरहेको नेपाल नेत्रहीन संघका केन्द्रिय महासचिव सुसिल खनालले जानकारी दिए ।
नेपाल नेत्रहीन संघले विभिन्न जिल्लामा शाखा विस्तार गरि विभिन्न संस्थासँग समन्वय गरी यस परियोजना अन्तर्गत विभिन्न काम गर्दै आएको छ । समाजमा दृष्टिविहिन भएका व्यक्तिहरुको सवालमा उनीहको जीवनलाई स्थायित्व गर्नको निम्ति परियोजना संचालन गरिएको महासचिव खनालले बताए । उनले भने, ‘यो परियोजनाले अपाङ्गता भएका नागरिकको हक, अधिकारको लागि काम गर्दै आएको छ । उनीहरुलाई विभिन्न सिप सिकायर आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ । सबैभन्दा कठिन अपाङगता भनेकै दृष्टिविहिन अपाङ्गता हो ।’
यस्तै खोमराज शर्माले आफ्नो प्रस्तुतीकरणमा परियोजना मार्फत अपाङ्गता भएका व्यक्तिहरुले विभिन्न सिप सिकेर दुई सय भन्दा बढिले व्यवसायिक गरि आफ्नो जीवन निर्वाह गरेको बताए । स्थानीय सरकारले कानुनमा अपाङ्गता सम्बन्धीका हक, अधिकारको लागि उल्लेख भएका नीति तथा कार्यक्रमलाई निरन्र्तता दिन सुझाव दिए ।
अपाङ्गता भएका व्यक्तिहरु शिक्षित छन् या कतिले रोजगारी पाएका छन् यसको बारे तंथ्याक नभएको बताए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगरपालिकामा प्रमुख र उपप्रमुख भएर ७ वर्ष विताउँदै गर्दा अपाङ्गता भएका व्यक्तिहरुको लागि विगतदेखि नै काम गर्दै आएको जानकारी दिए ।
शिक्षा, स्वास्थ्यलाई विषेश प्राथमिकतामा राखि आर्थिक वर्ष २०८०/०८१ मा अपाङ्गतामैत्री स्वास्थ्य संस्था बनाउने तयारी रहेको बताईन् । साउन १ गते देखि अपाङ्गता भएको व्यक्तिको घरमा नै गएर चेक, जाँच गर्ने तयारी भएको उनको भनाई थियो । स्थानीय सरकार सधै अपाङ्गता भएका व्यक्तिहरुको हक, अधिकारको लागि साथमा नै रहेको उनले बताईन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख सचिन वडुवालले धेरै अधिकार स्थानीय तहलाई दिएको हुँदा अपाङ्गता भएका व्यक्तिहरुकोलागि स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताए । नीतिगत व्यवस्था गर्दा हरेकमा समावेशीता भए सबैमा समावेशीकरण हुने उनको भनाई थियो ।
उक्त परियोजना परिवर्तन, आत्मनिर्भर र सक्षम तथा सचेत नागरिक बनाउने काममा अग्रसर भइरहेको जिल्ला समन्वय समितिका उपप्रमुख सचिन वडुवालले बताए ।





