चुहिने छानोमा कष्टकर राउटेको बास


बुधबार दिउँसो १ बजेको समयमा दैलेखको गुराँस गाउँपालिका–१ को टिमिले खोलाको किनारमा लोपोन्मुख जातीको रुपमा रहेको राउटे समुदाय बसोबासका लागि अस्थायी टहरा निर्माणमा व्यस्त देखिन्थे । कतिपयले पाल टागेर भित्रको जमिनको सतह मिलाइरहेका थिए, भने कोही भिरालो जमिन सम्याउनमा व्यस्त थिए । केही दिनअघि यहि वडाको अलि तल कर्णाली नदी छेउबाट बस्ती सरेका उनीहरु ओत लाग्ने छानो बनाउन खटिरहेका थिए । त्यसमा महिला र पुरुषले एक आपसमा सघाई रहेका देखिन्थे । बालबालिकाहरु कोही पानी ओसार्दै थिए, त कोही कर्णाली राजमार्ग छेउमा यत्रयत्र हिँडिरहेका देखिन्थे । केही बृद्ध, महिला तथा बालबालिकाहरु असारको टनटलापुर घाम छेक्न पालभित्र आराम गरिरहेका थिए ।

तर, जनस्वास्थ्यका दृष्टिकोणले उनीहरुका छाना सुरक्षित र बस्न लायकका भने थिएनन् । प्लाष्टिक तथा कपडाले बनेका पालहरु पुराना तथा झुत्रा देखिन्थे । कतिपयका पाल च्यातिएका छन् । तै पनि जसोतसो घामपानीबाट जोगिन झुत्रिएकै पाल गाँसगुस गरेर गुजरा चलाउने पक्षमा छन् राउटे मुखिया सूर्यनारायण शाही । यसपालीको साउन महिनामा झरी र घामबाट आफ्ना जनतालाई जोगाउन सकस पर्ने चिन्ता छ राउटे मुखिया शाहीलाई ।

‘हामीले अस्ती नै पाल र चामल चाहियो भनेका हौँ, उनी भन्छन्, ‘अझै सामाजिक मन्त्रीले सुन्नु भएको छैन, हामीलाई चामलको पनि अभाव छ, साउने संक्रान्ति आउन लाग्यो, कुखुरा बाख्रा पनि दिएका छैनन् ।’ अन्य समयमा आफ्नो परम्परा अनुसार काममा व्यस्त रहने राउटे समुदायले साउन महिनालाई भने कालो महिनाका रुपमा लिने रहेछन् । अन्य सयम खाद्यान्न लगायतको जोहो गर्न लाग्ने यो समुदाय पछिल्लो समय मौसममा आएको परिवर्तनसँग जुध्ने खालका आवास नहुँदा विशेष गरी साउन र खडेरी पर्ने महिनामा समस्या झेलिरहेको स्थलगत रिपोटिङ्गमा प्रष्ट देखिन्थ्यो ।

आधुनिक मानव भनिएकाहरुको हस्तक्षेपमा परेको यो समुदाय लगभग पूर्णरुपमा परनिर्भरको बाटोमा छ भन्दा फरक नपर्ला । झण्डै दशकअघिसम्म आफ्ना परम्परागत काठका सामाग्रीयूक्त हुने यो समुदाय अहिले मुलप्रवाहीकरणको गलत अभ्यासका कारण राउटेमा गलत संस्कृति झागिरहेको भान हुनुलाई अनुपयूक्त मान्न नहुने बताउँछन् विगत एकवर्षदेखि यो समुदायको सुक्ष्म अध्ययन गरिरहेका मानवशास्त्री अनुप पौडेल ।

राउटेहरुलाई संरक्षणका नाममा गरिएको हस्तक्षेपभन्दा पनि उनीहरुको अपेक्षा, चाहना र पराम्परा अनुसार संरक्षणको नीति बनाउन आवश्यक रहेको पौडेलले बताए । ठुला उमेरका मात्र नभई साना बालबालिकासमेत आफ्नो परम्पराभन्दा बाहिर जान नचाहेको अध्ययनको क्रममा आफूले पाएको पौडेले सुनाए । पढ्न नमान्नु, बिरामी हुँदा औषधी उपचार गर्न नमान्नु लगायतका आनीबानीहरुले यसको पुष्टि गर्ने उनले बताए ।

अहिले राउटेहरु बस्न लागेको स्थान भौगोलिक हिसावले पहिरोको जोखिममा छ भने खानेपानीको समेत उचित प्रवन्ध छैन । शौचालयको प्रवन्धसमेत गरिएको छैन । जसले बर्खाको समयमा फैलन सक्ने पानीजन्य र सरसफाइजन्य संक्रमण फैलने डर उत्तिकै छ । तत्काललाई राउटेहरुका लागि खाद्यान्नभन्दा पनि आवसाका लागि पाल आवश्यक रहेको बताउँछन् राउटे परियोजनाका जोडि शिक्षक लालबहादुर खत्री । पालहरु पुराना भएर काम नलाग्ने अवस्थामा पुगेपछि आफूले सामाजिक विकास मन्त्रालयका मन्त्री विरबहादुर शाहीसँग अनुरोध गरेको उनले बताए । मन्त्री शाहीसँगको अनुरोधमा तत्काल राउटेलाई पाल उपलब्ध गराउने प्रतिवद्धता जनाइएको भएपनि हालसम्म पाल राउटे बस्तीमा नआइपुगेको खत्रीले बताए ।

यता, सामाजिक विकास मन्त्रालय भने नयाँ आर्थिक वर्षमा मात्रै राउटेलाई पाल दिने योजनामा छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को सबै कारोबार बन्द भइसकेको भन्दै नयाँ आर्थिक वर्ष अर्थात साउनपछि मात्रै पालको व्यवस्थापन हुने बताउँछिन सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास महाशाखाकी महिला विकास अधिकृत अनिता ज्ञवाली । आवश्यकता परेको खण्डमा पछि बजेट व्यवस्थापन गर्नेगरी पालको व्यवस्थापन गर्न सकिने उनको भनाई छ ।

निरन्तर ओरालो लाग्दै जनसंख्या
नेपालमा लोपोन्मुख फिरन्ते जातिका रूपमा रहेको राउटे समुदायको जनसंख्या पछिल्ला वर्षहरूमा तीव्र गतिमा घट्दै गइरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगले घुमन्ते–फिरन्ते राउटेको मानवअधिकार अवस्थाका विषयमा गरेको अध्ययन प्रतिवेदन २०८१ ले राउटेको जनसंख्या प्रत्येक वर्ष घट्दै गएको देखाएको छ । आयोगले पछिल्लो ६ वर्षको अवधिमा राउटे समुदायमा गरेको तुलनात्मक अध्ययनमा जन्मदरभन्दा मृत्युदर बढी रहेको पाइएको छ ।

२०७५ सालमा एक सय ४९ रहेको राउटेको जनसंख्या हालसम्म आइपुग्दा घटेर एक सय ३७ मा झरेको छ । यस अवधिमा राउटे समुदायका १२ जनाको मृत्यु भएको तथ्यांकले पुष्टि गर्छ । २०७५ सालमा एक सय ४९ रहेको राउटेको संख्या एक जनाले घटेर २०७६ मा एक सय ४८ भयो । २०७७ मा पुनः तीन जना घटेर एक सय ४५ मा झ¥यो ।

यस्तै, २०७८ मा एक जना घटेर एक सय ४४ भएको राउटेको संख्या २०७९ मा फेरि एक जनाको मृत्यु भएर एक सय ४३ मा सीमित भयो । २०७९ देखि १५ माघ २०८० सम्म घुमन्ते–फिरन्ते राउटेको जनसंख्या ६ जनाले घटेर एक सय ३७ भएको छ, जसमा महिला ७४ र पुरुष ६३ रहेका छन् ।

यो समुदायमा नयाँ जन्ममा लामो अन्तराल भएको पाइएको छ, जसमा साढे दुई वर्षको अवधिमा २०८० साउन र भदौमा दुई शिशु (बालिका) को जन्म भएको छ । राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु÷नराख्नु, प्रजनन् स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभावजस्ता कारणले राउटेको जनसंख्या ऋणात्मक बन्दै जान थालेको आयोगको अध्ययनमा उल्लेख छ ।

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ अनुसार राज्यले कुनै पनि अवस्थामा कुनै पनि नागरिकलाई आफ्नो जीवन धान्ने उपायबाट वञ्चित गराउन पाइँदैन । आदिवासी जनजातिसम्बन्धी महासन्धि, १९८९ (अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९) ले पनि फिरन्ते नागरिक र घुमन्ते किसानहरूको अवस्थाउपर विशेष ध्यान दिनुपर्ने राज्यको दायित्वको रूपमा व्याख्या गरेको छ ।

यी व्यवस्था राउटेको हकमा कार्यान्वयन हुन नसक्नु पनि उनीहरूको संख्या घट्नुको कारक बनिरहेको छ । नेपाल सरकारले लोपोन्मुख आदिवासी जनजातिमा सूचीकृत यो समुदायप्रति राज्यको जिम्मेवारी थप सुदृढ नहुने हो भने एउटा प्रथाजनित परम्परासहितको पृथक् समुदाय पृथ्वीबाटै लोप हुने प्रवल सम्भावना रहेको आयोगले गरेको अध्ययनको निष्कर्ष छ ।

नेपालको घुमन्ते–फिरन्ते लोपोन्मुख अल्पसंख्यक आदिवासी जनजाति राउटेहरू अक्सर कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमफिर गर्दै बसोबास गर्दै आएको छ । राउटे सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सल्यान र सुर्खेत तथा लुम्बिनी प्रदेशको दाङ जिल्लासम्म पुग्ने गर्छन् ।

राउटे समुदायमा ४७ प्रतिशत नागरिक १८ वर्षमुनिका छन् । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ अनुसार बालबालिकाको हेरचाह र शिक्षाको दायित्व राज्यको हुने हुँदा सम्भव भएसम्म व्यापक सुरक्षा र सहायता दिनुपर्ने व्यवस्था न्यूनतम पनि कार्यान्वयनमा आउन सकेका छैनन् । घुमन्ते–फिरन्ते राउटे समुदायमा तीन जना अपाङ्गता लिएर बाँचिरहेका छन् भने १६ जना एकल महिला (श्रीमान् गुमाएका) छन् । यो संख्या कुल महिलाको १८ प्रतिशत हो ।

पाँच वर्षमा ७८ स्थानमा बसाइँसराई
पछिल्ला पाँच वर्षको अवधिमा राउटेहरू ७८ स्थानमा बसाइँ सरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार असार २०७५ देखि असार २०७९ मसान्तसम्म अर्थात् पाँच वर्षको अवधिमा राउटेहरू ७८ स्थानमा बसाइँ सरेका छन्, जसमा सबैभन्दा धेरै सुर्खेतमा ४६ स्थानमा राउटेहरू स्थानान्तरण भएका छन् ।

यस्तै, २१ स्थानमा दैलेख, ६ स्थानमा सल्यान र पाँच स्थानमा जाजरकोटमा बसाइँ सरेका छन् । राउटेहरूको बसाइँसराइको अवस्थाअनुसार सुर्खेत र दैलेख जिल्लाका विभिन्न स्थानहरू रुचाएको देखिन्छ । जहाँ राउटेहरू पटक–पटक स्थानान्तरण भएका छन् ।

चुहिने छानोमा कष्टकर राउटेको बास

गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण

This will close in 0 seconds