जेठ १३ देखि पोलियो रोग विरुद्धको खोप अभियान सुरु हुँदै


जेठ १३ देखि २६ गतेसम्म पोलियो रोग विरुद्धको खोप अभियान सुरु हुँदैछ । यो राष्ट्रिय अभियान हो । यसर्थ, कर्णाली प्रदेश र सुर्खेत जिल्लामा पनि तयारी भईरहेको छ ।
पोलियो रोग विरुद्ध दुई किसिमका खोपहरु दिईन्छ । ओरल पोलियो भ्याक्सिन (ओपिभी) र ईनएक्टिभेटड पोलियो भ्याक्सिन (आईपिभी) भ्याक्सिनहरु दिईन्छ । यसपटकको अभियानमा आईपिभी खोप दिन लागिएको हो । ओपिभी खुवाईन्छ भने आईभी सिरिन्ज मार्फत दिईन्छ ।
सुर्खेतका ३ सय ५१ खोपकेन्द्रबाट २० हजार बालबालिकालाई ओपिभी खोप लगाईदै छ । पालिका अनुसार दुई चरणमा लगाईने यो खोप विद्यालयबाट दिईने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । पहिलो चरणमा जेठ १६ देखि १८ सम्म र दोस्रो चरणमा जेठ २२ देखि २५ गते सम्म संचालन हुनेछ ।
२०७१ सालदेखि नेपालमा पोलियो रोग विरुद्ध खोप दिन थालिएको हो । २०७३ जेठ देखि २०७५ भदौंसम्म यो खोप अभाव भएको थियो । त्यसैले २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई यस पटक खोप लगाईने युनिसेफका प्रतिनिधी सिताराम रिमालले बताए ।
उनका अनुसार देशभर १४ लाख ६२ हजार बालबालिकालाई यो अभियान अर्न्तगत खोप लगाईदैछ । खोप लगाउँदा सामान्य किसिमका लक्षणहरु देखिन सक्ने भन्दै त्यसबाट हतोत्साहित नहुन जनस्वास्थ्य सेवा कार्यालयले नागरिकलाई अपिल गरेको छ । कार्यालयका अनुसार खोप लगाएको ठाउँमा रातो देखिने, ज्वरो आउने जस्ता सामान्य लक्षण देखिने गर्छन् ।
विश्वमै पोलियो संक्रमण कायम रहेका देशहरु अफगानस्तान र पाकिस्तान दुई ओटा मात्रै छन् । यी बाहेकका देशमा पोलियो संक्रमितको संख्या शुन्य छ । तर, खोप भने निरन्तर दिईरहेका छन् ।
खोप कमजोर भएका मुलुकहरु बढी जोखिममा हुने भएकाले नेपालमा निरन्तर खोप लगाईरहेको युनिसेफका प्रतिनिधि रिमालले जानकारी दिए ।
विश्वबाटै पोलियो उन्मुलन नहुन्जेलसम्म नेपालमा पनि खोप निरन्तर भईरहने जनाइएको छ । यो रोग जोकोहीमा संक्रमण हुनसक्ने भएपनि पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । संक्रमण व्यक्तिलाई पक्षघात हुने र ५ देखि १० प्रतिशत सम्म मृत्यु समेत हुने गरेका छन् ।






