कर्णाली खस सभ्यता आधुनिक नेपाली भाषाको जननी


“खस भाषा वा खस कुरा नेपालको कर्णाली क्षेत्रमी रह्या प्राचिन खस राज्य को आधिकारिक भाषा थ्या ।” देवनागरी लिपीमी लेखिएको उक्त वाक्य आजको समयमा विभिन्न शिलालेख, अभिलेख र कागजपत्रहरूमा पाइन्छ । सो भाषाबाट नै आजको नेपालको आधिकारिक भाषा नेपाली भाषा र त्यसका ११ वटा स्थानीय बोलीको जन्म भएको हो । नेपाल सरकारले वि.सं. २०६८ को जनगणनामा सोही ११ स्थानीय नेपाली बोलीलाई नयाँ भाषाको मान्यता दिएको छ ।
उक्त भाषाहरू जनसङ्ख्याका आधारमा क्रमशः डोटेली, बैतडेली, अछामी, दैलेखी, बझाङ्गी, बाजुरेली, दार्चुलेली, डोल्पाली, जुम्ली, डडेल्धुरी र गढवाली भाषा पर्दछन् । उक्त भाषाहरू हेर्दा मध्यपश्चिम र सूदूरपश्चिममा हरेक जिल्लामा एक भिन्न बोली छ भने पूर्व, मध्य र पश्चिममा झण्डै एउटै जसो नेपाली भाषा प्रयोग गरिन्छ । यससँगै १ हजार भन्दा बढी व्यक्तिहरूले सोही जनगणनामा आफ्नो मातृभाषा खस नै भएको भनेका छन् ।
नेपाली भाषा एक आर्य भाषा हो जुन दक्षिण एसियाको हिमालय क्षेत्रमा बोलिन्छ । यो नेपालको आधिकारिक र सबैभन्दा व्यापक रूपमा बोलिने भाषा हो जहाँ यसले सम्पर्क भाषाको रूपमा पनि काम गर्दछ । भारतीय राज्य सिक्किम र पश्चिम बङ्गालको गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनमा नेपाली भाषाको आधिकारिक हैसियत छ र अरुणाचल प्रदेश, आसाम, हिमाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम र उत्तराखण्ड राज्यहरूमा पनि नेपाली बोल्नेहरूको उल्लेखनीय सङ्ख्या छ । नेपाली भाषा भुटानको लगभग एक चौथाई जनसङ्ख्या द्वारा बोलिन्छ । म्यानमारमा यो भाषा बर्मेली नेपालीहरुले बोल्छन् । थाइल्यान्डमा नेपाली भाषा बोल्नेहरुको सङ्ख्या उल्लेखनिय रहेको छ । मध्यपूर्व, ब्रुनाई, अस्ट्रेलिया, अमेरिका, बेलायत र विश्वभरका विदेशमा रहेका नेपालीहरुले पनि यो भाषा प्रयोग गर्छन् । नेपाली भाषा लगभग १.६ करोड मातृभाषीहरू र अर्को ९ लाख मानिसले दोस्रो भाषाको रूपमा बोल्ने गर्दछन् ।
नेपाली भाषा भारोपेली भाषा परिवार अन्तर्गतको भाषा हो । नेपाली भाषा परिवारका मूलभाषीहरु दक्षिण एसियाका देशहरू नेपाल, भुटान, भारत र चीनमा बसोबास गर्ने मानिसहरु हुन् । नेपाली भाषा पश्चिम र मध्य नेपालको पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने रैथानेहरू खासगरी खस जाति समुदायका मानिसहरुको मातृभाषा पनि हो ।
नेपाली भाषालाई सामान्यतया आर्य भाषा परिवारको उत्तरी क्षेत्रको पूर्वी पहाडी समूहमा वर्गीकृत गरिएको छ । यो भाषा १० औँ र १४ औँ शताब्दीको आसपासमा खस राज्यको राजधानी कर्णाली प्रदेशको सिंजा उपत्यकाबाट उत्पत्ति भएको हो । नेपाली मूल रूपमा खस जनजातिहरूले बोलेका थिए । दक्षिण एसियाको हिमालय क्षेत्रमा बसोबास गर्ने आर्य भाषिक जातिय समुदाय शताब्दीयौंदेखि संस्कृत, मैथिली, हिन्दी र बङ्गालीबाट फरक प्रभाव भएका नेपाली भाषाका विभिन्न बोलीहरू हालको नेपाल र भारतको उत्तराखण्डका विभिन्न क्षेत्रहरूमा देखा परेको विश्वास गरिन्छ, जसले नेपाली भाषालाई सम्पर्क भाषा बनाएको छ । देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन् । स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन् ।
आधिकारिक रूपमा नेपाली भाषा भनिने यस भाषालाई समुदाय स्तरमा अन्य नामले पनि चिन्ने गरिन्छ । नेपाली भाषाका अधिकांश शब्द खस भाषाबाट आएका हुनाले यसलाई प्रारम्भिक कालमा “खस कुरा” अर्थात् खस जातिको भाषा वा बोली भनिन्थ्यो । जुन भाषा पश्चिमी नेपालमा खस राज्य कालमा प्रचलित भयो । शाह वंशीय शासनकालमा गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपालको एकीकरणपछि, नेपाली भाषालाई गोर्खालीहरूले बोल्ने भएकोले “गोरखा भाषा” भनेर चिनिन थाल्यो ।
पहाडी क्षेत्र अर्थात सामान्यतया हिउँ नपर्ने वा हिउँदमा मात्र पर्ने क्षेत्रमा बढी प्रचलित भएकोले यस भाषालाई “पर्वते भाषा” अर्थात् पहाड बासीहरूको भाषा पनि भनिन्छ । यद्यपि विशाल खस साम्राज्य कालमा जडान क्षेत्र अर्थात बढी जाडो हुने र हिउँ पर्ने क्षेत्रहरू जुम्ला, हुम्ला, तल्लो डोल्पा अनि ताक्लाकोट वरपरका कैलाश मानसरोवर साथै ब्रम्हपुत्र उपत्यका आदि क्षेत्रमा पनि खस भाषा प्रचलित थियो । तर हिमाली क्षेत्रमा पातलो बस्ती हुने र अधिकांश जनसंख्या पहाडी क्षेत्रमा हुने भएकाले खस भाषालाई पहाडी वा पर्वते भाषा भनिएको हो ।
वर्तमान नेपाली भाषाको प्रारम्भिक रूपहरू १० देखि १४ औँ शताब्दीमा खस साम्राज्यको समयमा हालको पश्चिम नेपालको मध्य आर्य भाषा परिवारका अपभ्रंश भाषाभाषीहरूबाट विकसित भएको थियो । यो भाषा संस्कृत र प्राकृत भाषाको अपभ्रंशबाट विकसित भएको हो । खस राज्यको पतनपछि कर्णाली–भेरी क्षेत्रमा बाइसे राज्यहरूर गण्डकी क्षेत्रमा चौबिसे राज्यहरूमा विभाजन गरियो । नेपाली भाषाको हालको प्रचलित संस्करण करिब ५०० वर्ष अघि कर्णाली, भेरी, सेतीबाट पूर्वतर्फका खस जातिको एउटा शाखा कर्णाली र गण्डकी बेसिनका तल्लो उपत्यकामा बसोबास गरेपछि उत्पत्ति भएको मानिन्छ ।
तराई र नेपालको मध्य पहाडको विशाल भूभागमा शासन गर्ने सेन राज्यको पालामा नेपाली भाषा अवधी, भोजपुरी, ब्रज र मैथिली भाषा लगायत भारतीय भाषाहरूबाट प्रभावित भएको थियो। नेपाली भाषी र सेनहरुबीच घनिष्ट सम्बन्ध थियो, पछि यो भाषा यस क्षेत्रको भाषिक बन्यो । फलस्वरूप, व्याकरण सरलीकृत भयो, शब्दावली विस्तार भयो, र यसको ध्वनीविज्ञान नरम भयो, यसलाई संमक्रमित गरेपछि नेपालीले पुरानो भाषाहरूमा रहेको जटिल अवनयन प्रणालीलाई गुमाएको थियो । काठमाडौँ उपत्यकामा (तत्कालीन नेपालमण्डल भनेर चिनिन्थ्यो) लक्ष्मीनरसिंह मल्ल र प्रताप मल्लको शासनकालमा नेपाली भाषाका शिलालेखहरू देख्न सकिन्छ, जसले काठमाडौँ उपत्यकामा नेपाली भाषीहरूको उल्लेखनीय बृद्धिलाई संकेत गर्छ ।
गोरखा राज्यका शाह राजाहरूबाट नेपाली भाषाको संस्थागत सुरुवात भएको मानिन्छ । नेपालको एकीकरणपछि, नेपाली भाषा १८ औँ शताब्दीमा नेपाल अधिराज्यको दरबारमा बोलिने हँुदा राज्यको सम्पर्क भाषा भयो । नेपाली भाषामा लेखिएका प्रारम्भिक कृतिहरू मध्ये एक गोरखाका राजा राम शाहको शासनकालमा लेखिएको हो जुन अज्ञात लेखकले ‘राम शाहको जीवनी’ नामक पुस्तक लेखेका थिए । ‘पृथ्वीनारायण शाहका दिव्योपदेश’ उनको जीवनको अन्त्यतिर लेखिएको पुस्तक नेपाली साहित्यको निबन्ध विधाको पहिलो कृति मानिन्छ । पृथ्वीनारायण शाहले दिव्योपदेशमा “मेरा साना दुःखले आज्र्याको मुलुक होइन, चार जात ३६ वर्णको साझा फूलवारी हो सबैलाई चेतना भया” भनेका छन् ।
उनको भाषामा आज्र्या, भया जस्ता शब्दको जुन प्रयोग भएको छ त्यो भाषा पश्चिम नेपालमा अहिले पनि जस्ताको त्यस्तै प्रयोग हुन्छ । यस समयमा लेखिएको सबैभन्दा प्रमुख कृति भानुभक्त आचार्यको ‘भानुभक्त रामायण’ थियो । महाकाव्य रामायणको संस्कृत भाषाबाट नेपाली भाषामा पहिलो पटक अनुवाद भएको थियो । आचार्यको उक्त कृतिको कारण आधुनिक नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन् भने आधुनिक नेपालको “सांस्कृतिक, भावनात्मक र भाषिक एकीकरण” भानुभक्त आचार्यले गरेको हुन् भनेर चर्चासमेत गरिन्छ । भानुभक्त आचार्यले लेखेको रामायणको पहिलो श्लोक “एक दिन नारद सत्यलोक पुगिगया लोकको गरौं हित भनी, ब्रह्मा ताहीं थिया पर्या चरणमा खुसी गराया पनि ।” यस श्लोकमा खस भाषाको नै प्रयोग भएको छ ।
अहिले कर्णाली र सुदूरपश्चिम भनेर छुट्टाइए पनि पहिले यो भूमि खस साम्राज्यका नामले प्रख्यात थियो । कत्युरी शासन कालमा पनि यो भाषाको प्रयोग भएको पाइन्छ । तर कत्युरीहरूले राज्य भाषाको मान्यता दिएका थिएनन् ।त्यसपछि खस साम्राज्यको उदय भयो । खसहरूले जुम्लाको सिंजालाई राजधानी बनाएर शासन गरेका थिए । भारतको कुमाउँ, गढवाल लगायत तिब्बतको खार क्षेत्र र नेपालको त्रिशूलीसम्म खस साम्राज्य फैलिएको थियो । तत्कालिन खस राजाहरुले यसलाई राजकिय भाषाको मान्यता दिएपछि यो भाषा “खस भाषा” भनेर चिनिन थालेको थियो । त्यहाँबाट सर्दै पूर्वि नेपालसम्म पुगेपछि यस भाषाले नेपाली भाषाको मान्यता पाएको थियो । नेपाली भाषाको मान्यता पाएपछि लेख्न र पढ्न सजिलो होस् भनेर केही विकसित गरियो ।
प्राचिन खस भाषा पश्चिम नेपालमा अझैं पनि रहेको छ । पश्चिम नेपालमा अँझै पनि काँ जाँदा भयौ, काँ बाटी आयौ, क्या अद्दा छौ जस्ता शब्दको प्रयोग हुन्छ । यसरी प्राचीन खस भाषा परिस्कृत भएर अहिलेको आधुनिक नेपाली भाषामा विकसित भएको हो । प्राचिन खस साम्राज्यको राजधानी जुम्लाको सिंजा उपत्यकालाई नेपाली भाषाको मुहान मान्न सकिन्छ ।
नेपाली भाषाको आधुनिक काल २० औँ शताब्दीको प्रारम्भमा सुरु हुन्छ । यस अवधिमा राणावंशले नेपाली भाषालाई शिक्षाको भाषा बनाउन विभिन्न प्रयासहरू गरे । जसमा देव शमशेरले गोरखापत्र र चन्द्र शमशेरले गोरखा भाषा प्रकाशन समितिको स्थापना गरेका थिए । यस समयमा हिन्दी र बङ्गाली भाषाहरूको तुलनामा नेपाली सीमित साहित्य थियो । नेपाली साहित्य, संस्कृति, कला र विज्ञानको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९५७ मा राजकीय नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको थियो ।
हाल नेपालमा नेपाली भाषा शिक्षा, प्रशासन, सञ्चार माध्यम, अदालत र प्रकाशनमा सरकारी कामकाजको भाषाको रूपमा प्रचलित रहेकोे छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकोे संविधानको भाग १ अन्तर्गतका धारा ६ र ७ सरकारी कामकाजको भाषासँग सम्बन्धित छन् । धारा ६ मा “राष्ट्रभाषा” अन्तर्गत “नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्” भनिएको छ भने धारा ७(१) मा “देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ” भनी स्पष्ट संवैधानिक व्यवस्था गरिएको छ ।
पश्चिम बङ्गालमा नेपाली भाषालाई पश्चिम बङ्गाल सरकारले सन् १९६१ मा दार्जिलिङ जिल्ला र कालिम्पोङ र खरसाङको आधिकारिक भाषाको रूपमा मान्यता दिएको थियो । नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश गर्न सन् १९८० को दशकतिर भारतमा नेपाली भाषा आन्दोलन भयो । सन् १९७७ मा भारतीय साहित्यको प्रवद्र्धनमा समर्पित संस्था ‘साहित्य अकादमी’ ले नेपालीलाई आधिकारिक रूपमा स्वीकार गरेको थियो । सिक्किमलाई भारतमा गाभिएपछि, सिक्किम आधिकारिक भाषा ऐन, १९७७ ले नेपाली भाषालाई राज्यको आधिकारिक भाषाको रूपमा मान्यता दियो । २० अगस्ट १९९२ मा लोकसभाले नेपाली भाषालाई आठौं अनुसूचीमा समावेश गर्ने प्रस्ताव पारित ग¥यो ।
३१ अगस्ट १९९२ मा, भारतको संसदले कोङ्कणी, मणिपुरी र नेपाली भाषालाई भारतमा आधिकारिक हैसियतको भाषाको रूप दिनको लागि भारतीय संविधानको आठौँ अनुसूचीमा संशोधन गर्न एक विधेयक पारित ग¥यो । भारतीय राज्य सिक्किम र पश्चिम बङ्गालको गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनमा नेपाली भाषाको आधिकारिक हैसियत रहेको छ । अरुणाचल प्रदेश, आसाम, हिमाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम र उत्तराखण्ड राज्यहरूमा पनि नेपाली बोल्नेहरूको उल्लेखनीय सङ्ख्या रहेको पाइन्छ ।
भुटानमा करिब एक चौथाई जनसङ्ख्याले नेपाली भाषा बोल्ने भए पनि भुटानमा यसको आधिकारिक हैसियत छैन । नेपाली भाषा बोल्नेहरूलाई भुटानमा “ल्होत्साम्पा” अर्थात “दक्षिणी” भनिन्छ । भुटानी सरकारले बनाएका विभिन्न कानूनका कारण धेरै नेपाली भाषा बोल्ने भुटानी जनता शरणार्थीको रूपमा देशबाटै विस्थापित भएका छन् ।






