स्याउ कृषकलाई बिरुवा काँट छाँटको चटारो


मुगुका स्याउ किसानहरू अहिले आ–आफ्नो स्याउ बगैँचामा रूख बिरुवा काँटछाँट गर्ने चटारोमा छन् । माघ÷फागुन महिनामा स्याउका बिरुवा काँटछाँट गर्ने उपयुक्त समय हो । यस समयमा बिरुवा काँटछाँट नगरे पछि स्याउ धेरै फल्ने, साना दाना लाग्ने र धेरै फल झर्ने भएको हुनाले त्यस्तो हुन बाट बचाउनको लागि स्याउ कृषकहरू बगैँचाका रूख, बिरुवा काँटछाँटमा व्यस्त देखिएका हुन् ।
फागुन महिनाको दोस्रो साता पछि स्याउका बिरुवामा पालुवा र कोपिला लाग्न थाल्छ । त्यस अघिनै बोटमा निस्किएका बाक्ला हाँगा, अनावश्यक देखिएका हाँगा काट्नुपर्ने हुन्छ । मुगुको स्याउ पकेट क्षेत्रको रूपमा रहेको ताल्चा, पिना, काला पाल्त, मैतु, पाथरखोला, तुम, घट्टलेख, शोभा, रोवा, बाम, सोरुकोट, खमाले लमेरा तथा सेरीजामका किसानलाई अहिले धमाधम स्याउका बिरुवा काँट छाँट गर्ने काम कृषकहरूले गरिरहेका छन् । उनीहरू बिहान देखि बेलुका साँझ सम्म स्याउ बगैँचामा बिरुवा काँटछाँट, निलो तुथो, चुना लगाउने का काममा व्यस्त देखिन्छिन् ।
पहिला कोदो, जौ, गहुँ, तरकारी खेती गरि बालबच्चा र घर चलाउन निकै समस्या भएपछि स्याउ उत्पादनमा लागेका किसानहरू पछिल्लो समय सडक सञ्जाल जोडिएर ढुवानीमा सहजता आएपछि स्याउको माग बढेको छ । त्यसैले पुरानो सबै खेती छोडेर स्याउमा व्यस्त छौँ । घर खर्च र छोराहरूको पढाई लेखाई यही स्याउ खेतीले धानेको छ,’ छायानाथ रारा नगरपालिका–४ ताल्चाकी कृषक मायादेवी भामले बताए । बगैँचामा ३ सयभन्दा बढी स्याउ फल्ने बिरुवा रहेका छन् । बिहान बेलुका बिरुवालाई काँटछाँट गर्ने, निलो तुथो र चुना लगाउने काममा व्यस्त छौँ ।’
छायाँनाथ राराकै अर्की स्याउ किसान विष्णुमाया रोकायाले आफ्नो बगैँचामा ५ हजार स्याउका बिरुवा रहेको र आफू आफू पनि काँटछाँटमा व्यस्त रहेको बताइन् । घरमा अन्य सबै खेती छोडिसकेका छौँ । छोराछोरी भनेका पनि यही स्याउका बिरुवा हुन् । बिरुवाले फल दिएपछि हामीले खाना खानु छ । फल नदिए जीवन जिउन समस्या आउँछ,’ उनले भनिन् । गत वर्ष धेरै हिउँ पर्नाले स्याउका बिरुवालाई सिँचाइमा कुनै समस्या परेको थिएन । यो वर्ष हिउँ कम आउनाले सिँचाइमा समस्या भएको छ । सबैभन्दा बढी समय स्याउका बिरुवा सुरक्षामा नै बित्ने गरेको छ ।’
छायाँनाथ रारा नगरपालिका–६ कोटिल्ला गाउँका कुसलाल कुलालले धेरै वर्ष हिमान्चल प्रदेशमा स्याउ सम्बन्धि काम गरेर अहिले आफ्नै जिल्लामा स्याउ खेती गरिरहेको बताउनु भयो ।अर्काको देशमा कुनै हक अधिकार नहुने भएको हुँदा भारतमा सिकेको सीप आफ्नै जिल्लामा गाउँघरमा लागु गर्नुपर्छ भन्ने मनसायले अहिले स्याउ खेती तिर लागेको छु,’ उनले भने । पछिल्लो समय मुगुमा धेरै कृषकहरूले स्याउ खेती गरे पनि प्राविधिक ज्ञान नहुनाले सोचे अनुसारको उपलब्धि नभएको कृषकहरूको भनाई रहेको छ ।
जिल्ला कृषि बिकास कार्यालय मुगुका प्रमुख चन्द्रबहादुर शाहीका अनुसार बगैँचामा हामीले प्रत्येक वर्ष बिरुवा काँटछाँट गर्नु पर्ने हुन्छ । बिरुवालाई पहिले देखि मलजल र गोडमेल गर्नुको साथै विभिन्न प्रजातिका किराले रोग लाग्ने भएको हुँदा यसबाट बच्नुपर्ने हुन्छ । स्याउका बिरुवा काँटछाँट गर्दा कुन बिरुवाको हाँगो कसरी काट्ने भन्ने तरिका सिकाइरहेका छौँ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुगुका प्रमुख तेजबिक्रिम मल्लले नराम्रो धेरै फल लाग्नु भन्दा राम्रो थोरै फलले राम्रो आम्दानी दिन सक्ने भएकोले स्याउको सुरक्षाको लागी कृषकहरूले निकै ध्यान दिनु पर्ने बताए ।






