भिर फोडेर चट्टान छिचोल्दै बिकटमा सडक, स्थानियहरुले खुसी मनाए


भीर फोडेर चट्टान छिचोल्दै सल्यान छत्रेश्वरीको दुर्गम बस्तीमा मोटरबाटो पुगेको छ । छत्रेश्वरी गाउँपालिकाले करिव ४५ दिन सम्म आफ्नै स्काभेटर प्रयोग गरेर वडा नम्बर ४ कोजटिल भुगोलमा झंखानी आकाशी हुँदै त्रिवेणी जोड्ने सडक निर्माण गरेको हो । सडक निर्माण संगै अक्कासी, झंखानी, वेतीनी, भेरिखोर, कालुपहरका स्थानियहरु हर्षित भएका छन् । विहिबार भएको सडक उद्घाटन कार्यक्रममा स्थानीयहरुले नाचगान संगै गाउँपालिकालाई विशेष धन्यवाद दिदै सडक निर्माण गर्ने स्काभेटर चालक तथा उद्घाटन कार्यक्रममा पुगेका गाडिका चालकहरुलाई पैसाको माला लगाइदिएर खुसी साटासाट गरेका थिए ।

नागरिकको चुलोको सरकारको रुपमा रहेको स्थानिय सरकारले जन अपेक्षालाई पुरा गर्न सकेकोमा सन्तुष्टी मिलेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले आफुहरुले गाउंपालिकाका ७ वटै वडामा बाटो, खानेपानी, सिंचाई, विद्युत लगाएतका काम गरिरहेको बताए । तर विकट र दुर्गम भएकाले ४ नम्बर वडालाई सबै जनप्रतिनिधीले प्राथमिकता दिएको उनको भनाई छ ।

गत मंशिर १० देखी माघ ९ गते सम्म सडक निर्माणको काम भएको थियो । अन्य खर्च वाहेक इन्धन मात्रै ६ हजार ६ सय लिटर खर्च भएको थियो भने प्राविधिक मुल्यांकन अनुसार यस सडक निर्माणका लागि ३३ लाख ७८ हजार ९ सय ३१ रुपैयाँ बढी लगानी भएको पुर्वाधार बिकास शाखाले जनाएको छ । करिव ४५ दिनको लगातारको कडा मिहेनत पश्चात गाउँपालिकाले जटिल, विकट भुगोलमा सडक पुर्याउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले जानकारी दिए । चुच्चेपोखरा देखी अक्कासी र अक्कासीदेखी भेरीखोरसम्म महत्वपूर्ण काम भएको उनले जनाए ।

उमेरले ७८ वर्ष पुगिसकेका अक्कासीका दुर्गालाल खत्रीले बल्ल आफ्नो गाउँठाउँमा उज्यालो पसेको बताए । उनले भने, “अक्कासीमा अहिले उज्यालो पस्यो । गाउँपालिकाले ठूलो उपलब्धी ल्याइदिएको छ । भिर हेर्दा खेरी त बाटो आउने जस्तो थिएन । स्थानीय सरकारको जोडले सडक आयो । अति खुसी छौँ ।”

सल्यानको साविक कोर्बाङ झिम्पे गाउँविकास समितीको वडा नम्बर ६ हालको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ को निकै जटिल भुगोलमा अवस्थित छ । हुन त दुरिको हिसावले छत्रेश्वरी गाउँपालिकाको केन्द्रबाट करिव २५ देखि ३० किलोमिटर मात्रै छ । डर लाग्दो भिर र विभिन्न खोँच तथा लेकहरु छिचोल्दै यी बस्तीहरुमा कस्टप्रद यात्राको साथ पुग्नुपर्ने अवस्था केहि दिन अघि सम्म थियो । तर अहिले उक्त क्षेत्रमा मोटरबाटो पुगेपछि स्थानीयहरु दंग छन् ।

सडक निर्माण भएपछी छिमेकी गाउँपालिका त्रिवेणीका स्थानीयहरुलाई पनि सहज भएको त्रिवेणी ५ सिम्कका तेज बहादुर डाँगीले बताए । विकट बस्ती, एक घरबाट अर्काे घरमा पुग्न पनि घण्टौ लाग्ने आफ्नो गाउँ वस्तीमा सडक आइपुगेपछि अक्कासी निवासी यशोदा वली खुसीले खुसी ब्यक्त गरिन ।

वस्ती र घरधुरी थोरै भए पनि आफ्नो क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण भएको भन्दै स्थानीय जेष्ठ नागरिक फौद बहादुर खत्रीले आफुहरुको समस्या बुझ्ने, सुखदुखमा साथ दिने स्थानीय सरकार रहेछ भन्ने कुराको अनुभुती भएको बताए । दुरिको हिसाबले करिव १ हजार ६ सय मिटर मात्र सडक निर्माण भएपनि जटिल क्षेत्रमा महत्वपूर्ण काम भएको गाउँपालिकाले जनाएको छ । छत्रेश्वरी गाउँपालिकामा सम्भवत हाल सम्मको अनुभवमा यहि क्षेत्रमा अफ्ठेरो भुगोलमा काम गरेको गाउँपालिकाका स्काभेटर अपरेटर प्रेम बहादुर विष्टले बताए । यस्तै झंगाखी चाख्ले निवासी अन्जु वलीले टिमुर, अदुवा तथा बेमौसमी तरकारी खेतीका लागि महत्वपूर्ण क्षेत्र मानिने अक्कासी, झंगानी क्षेत्रमा सडक निर्माण संगै अव व्यवसायीक तरकारी खेतीमा ठूलो सहयोग पुग्ने बिश्वास व्यक्त गरिन ।

आफ्नो वडाका अन्य स्थानमा पनि सडक निर्माण गरिएको र केही यस्तै विकट वस्तीमा अझै सडक निर्माण गर्न बाँकी रहेको जनाउदै छत्रेश्वरी ४ का वडा अध्यक्ष छविलाल खत्रीले स्थानीय उपभोक्ताहरुले निर्माण भएको सडकको मर्मत सम्भार गर्ने प्रतिवद्धता जनाएको बताए ।

भिर फोडेर चट्टान छिचोल्दै बिकटमा सडक, स्थानियहरुले खुसी मनाए

कर्मचारीले पाएनन् तलब

भिर फोडेर चट्टान छिचोल्दै बिकटमा सडक, स्थानियहरुले खुसी मनाए

शनिवारदेखि कर्णाली उत्सवको पाँचौं संस्करण शुरु