वृद्धा महिलामाथि हतियार प्रहार

दैलेखमा वृद्धा महिलामाथि हतियार प्रहार भएको छ । दैलेख प्रहरीले घटनामा संलग्न दुई बालकलाई पक्राउ गरेको छ । प्रहरीले ती बालकहरूको पहिचान भने गोप्य राखेको छ ।
माघ १९ गते राति महावु गाउँपालिका–१, दवडा स्थित आफ्नै घरमा खुद्रा पसल गर्ने ७५ वर्षीय मिनादेवी शर्मा आफ्नै पसलमा सुतिरहेको बेला उनीहरुले धारिलो हतियार खुर्पा हँसिया, बियरको बोतल र काठको गरालोले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय, दैलेखबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा १५ जनाका टोली तत्काल घटनास्थलमा परिचालन भएको थियो । घाइतेलाई तत्काल जिल्ला अस्पताल दैलेखमा पठाई सामान्य उपचार पश्चात् थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा पठाइएको थियो ।
अहिले पनि उनको आइसियुमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए । उनीहरूमाथि ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत दैलेखबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति प्राप्त भई बाल निगरानी कक्षमा राखी अनुसन्धान भइरहेको उनले बताए ।






