त्रिभुवन जनता माविमा अनिश्चितकालिन तालाबन्दी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१, खलंगामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । विद्यालयमा कार्यरत ६ जना कर्मचारीहरु पदमुक्त गरिएको भन्दै पीडित कर्मचारीहरुले अल्टिमेटमसहित विद्यालयमा तालाबन्दी गरेका हुन् ।

जिल्लाको सबैभन्दा जेठो विद्यालयका रुपमा चिनिने यस विद्यालयमा गत वर्षदेखि विद्यालय प्रशासन, व्यवस्थापन समिति र कर्मचारीहरुबिच भएको विवादको कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको गुनासो बढेको छ । पदमुक्त गरिएका कर्मचारीहरुले आईतबार बिहानैदेखि विद्यालयको मूलगेटमा तालाबन्दी गरेर अल्टिमेटमसहित आन्दोलनमा उत्रिएको जनाएका छन् ।

गत कात्तिक १४ गते विद्यालय प्रशासनले व्यवस्थापन समितिको निर्णय भन्दै कार्यरत ६ जना शिक्षक तथा कर्मचारीहलाई पदमुक्त गरेको थियो । विद्यालयका अधिकृत जयराम थापा, लेखापाल ठकबहादुर बुढाथोकी, पुस्तकालय सहायक रमा शाह, कार्यालय सहायक गौरी रावत र कार्यालय सहयोगीद्वय डमरबहादुर महत र दुर्गबहादुर खड्कालाई विभिन्न आरोपमा पदमुक्त गरिएको थियो ।

अधिकृत थापाले विद्यालयमा विगत १७ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई वदनियतपूर्ण तरिकाले पदमुक्त गरेको भन्दै न्यायको लागि मुसिकोट नगरपालिका समेत पुगेको जानकारी दिए । गत मङसिर ४ गते नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत बिनाराम खड्का, प्रा.स. नरेन्द्र ओली, वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, विद्यालयका प्रधानाध्यापक गोपीराम केसी, कार्यरत शिक्षकहरुको सयुक्त बैठकले पदमुक्त गरिएका कर्मचारीहरुलाई कामकाजमा फर्कन पत्राचार गरिसकेको अधिकृत थापाको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिको पुस ६ गते बसेको बैठकले पुनः ६ जना कर्मचारीहरुलाई पदमुक्त गर्न निर्णय गरेकोले आफूहरु थप पीडित भएको आन्दोलनरत शिक्षकहरुको भनाई छ । विद्यालयको यस प्रकारको निर्णय र पुस २९ गते पदमुक्त गरिएको पत्राचारले अन्याय भएकोले न्यायको लागि विद्यालयमा तालाबन्दी गर्नुपरेको पीडित कर्मचारीहरु उल्लेख गरेका छन् ।

विद्यालय प्रशासन र व्यवस्थापन समितिको उक्त कदम नसच्चिएमा विरोधमा थप कार्यक्रम गर्दै जाने भन्दै पीडित कर्मचारीहरुको तर्फबाट अल्टिमेटम समेत जारी गरिएको छ ।

त्रिभुवन जनता माविमा अनिश्चितकालिन तालाबन्दी

YUGAAWHAN NATIONAL DAILY (2080-10-14)

त्रिभुवन जनता माविमा अनिश्चितकालिन तालाबन्दी

गठबन्धन सरकारले एक कार्यकाल पूरा गरे पनि