जाजरकोट भूकम्पः घर बनाउने पुरुष जेलमा, विचल्लीमा परिवार


१७ कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले घरमा क्षति पुगेपछि जाजरकोट र रुकुम पश्चिममा ठुलो संख्यामा नागरिकहरु त्रिपालमुनिको कष्टकर जीवन बिताउन बाध्य छन् । भूकम्प प्रभावित क्षेत्रनलगाड नगरपालिका–९, जाजरकोटका एउटै वडाका २० जना कमाउने मुख्य अभिभावकहरुको बास नै विगत तीन बर्षयता जेलमा भएपछि परिवारको बिचल्ली भएको छ । भूकम्पले घर बस्न नमिल्ने बनाएको छ, तर, घर बनाउने मान्छे जेलमा परेपछि परिवारले खुला आकाशमुनीको त्रिपालमा रात बिताइ रहेको छ ।

अफिम वा कोकाको खेती गर्ने सम्बन्धी कसूर सजाय अन्तर्गत नलगाड–९,घोरेङ्गा, बाँसकोट र ताँत्रा गाउँका २० जना युवा जेल परेका हुन । धन कमाउने अभिभावक जेल परेपछि गाउँमा साना बालबालिका, महिला र एकल महिला, अपांगता भएका व्यक्ति, दिर्घरोगी र बेसाहारा व्यक्तिहरु मात्रै छन् ।

आर्थिक प्रलोभनमा परी एक अपरिचित व्यक्तिको हौसलामा अफिम ओसारपोसार गर्दा नलगाड–९, घोरङ्गा, बाँसकोट र ताँत्रा गाउँका २० जना युवा जेल जानुपर्ने अवस्था आएको हो । जसमा १२ जना भारतिय कारागार र पाँच जना जाजरकोट कारागार चलान भएका छन् । त्यस्तै सुर्खेत, बाँके र काठमाडौं कारागारमा एक÷एक जना रहेका छन् ।

भूकम्पले चर्किएका घर छोडेर हाल त्रिपालका बसिरहेका पीडित परिवारलाई खान, लगाउनको बन्दोबस्त गर्नै धौ धौ परिरहेको छ । काम गर्नेसक्रिय जनशक्ति गाउँका युवाहरु नै जेलपरेपछि अस्थायी टहरासमेत निर्माण गर्न नसकिएको स्थानीय लक्ष्मी सिंह बताउँछिन ।

‘धन कमाउने श्रीमान जेलमा हुनुहुन्छ । आयस्रोत केही छैन । १० जनाको घरपरिवारलाई एकातिर के खाउँ ?के लगाउँ ?भन्ने पिरलो छ’ उनले भनिन्, ‘अर्कोतिर भूकम्पले घर चर्किएपछि अस्थायी टहरा समेत बनाउन सकिएको छैन । त्रिपालमै चिसो रात काट्न बाध्य हुँदा स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको छ ।ं’

लक्ष्मी सिंहका तीन छोरा र तीन छोरीसहित घरमा बुढा सासु, ससुरा छन् । श्रीमान प्रेम सिंह जेलपरेपछि खानाको जोहोका लागि काम गर्नुपर्ने बाध्ययताले जेठो छोराले समेत पढाई छाडिसकेका छन् । भने अन्य छोराछोरीलाई पनि पढाई छाड्नुपर्ने बाध्यता आइपरेको छ । उनी जस्तै अन्य पीडित परिवारको अवस्था दयनिय छ ।

कमाएर परिवार पाल्ने श्रीमान्जेल परेपछि परिवारमा मानसिक विचलन आउनुका साथै हतोत्साहित बनेको शुसिला सिंहले बताइन । श्रीमान्जेल पर्दा काम गरेर १२ जनाको परिवार पाल्नुपर्ने पीडाले थिचोलेको अवस्थामा भूकम्पले दिएको थप पीडाले परिवार विछिप्त बनेको उनी बताउँछिन् ।

शुसिलाकाचार बर्षदेखि २२ बर्षसम्मका दुई छोरा र आठ छोरी छन् । काम गर्ने जेठो छोरा र बुहारी समेत छुट्टिएर अलग बस्न थालेपछि बाँकी परिवार पाल्न उनलाई हम्यहम्य परेको छ । ‘लोग्ने मान्छे घरमा हुनेहरु त्रिपालबाट टहरामा सरेका छन् । तर हामीलाई अस्थायी टहरा पनि बनाउन हम्यहम्य परेको छ । घर बनाउने कल्पना नै छैन’उनले भनिन्, ‘पहिले घरमा भेडाबाख्राहरु धेरै थिए । कमाउनेश्रीमान जेल परेपछि सबै बेच्दै खाँदै ग¥यौं । अब एउटा भैंसी बेच्न मात्रै बाँकी छ ।’

घरमा गरिबिले थिच्दै गएपछि शुसिलाकामाइलो छोरा समेत कामका लागि पढाई छोडेर भारत छिरेका छन् । गाउँमा काम पनि नपाइने र पाइएको कामले पनि परिवारलाई खान लगाउन मुस्किल परेको उनी बताउँछिन् । घरमा खान, लगाउन नै मुस्किल परेपछि छोराछोरी पढाउन छोडेर काममा लगााउनुपर्ने अवस्था आएको उनले बताइन ।

घरमा कमाउने बुवा कालिबहादुर सिंह जेलपरेपछि आफुले पडाइ छोडेर परिवारको आहारा जोहो गर्न बाध्य भएको छोरा राजेन्द्र सिंहले बताए । ‘बुढी आमा, श्रीमति र सानो छोराको भोको पेट हेर्न सकिन । त्यसैले पढाइ छोडेर ज्यालादारी काममा लागेको छुँ’ उनले भने, ‘त्यसैमा झन्, भूकम्पले पीडा थपेको छ । अस्थायी टहरा पनि बनाउन सकेका छैनौं ।’

काम गर्ने युवाहरु जेलमा हुँदागाउँका महिलालाई बच्चा पाल्न नै धौ धौ परेकोबेला भूकम्पले चर्किएका घर, टहरा बनाउनसक्ने अवस्था नरहेको स्थानीयवासी महेन्द्र सिंहले बताए । ‘जेल परेका युवाहरुको गलत नियत थिएन । काम गरेर खाने सिधासाधा व्यक्तिहरु आर्थिक प्रलोभनमा फसेका हुन्’ उनले भने, ‘एक अपरिचित व्यक्तिले गाउँमा अफिम संकलन गरेको रहेछ । त्यही अफिम नेपालगंज पु¥र्याइदिए वापत प्रति किलोको आठ–१० हजार रकम दिने भनेपछि ओसारेका रहेछन् ।’

यता वडाअध्यक्ष भविन्द्र बहादुर सिंहले जेलमा रहेका युवाहरुको परिवारलाई सहयोग गर्न अपिल गरेका छन् । चारैतिर भूकम्पले थिलथिल पारेको अवस्थामा वडाले हेर्न नसकेको भन्दै उक्त परिवारको अस्थायी टहरा निर्माण तथा खाद्यन्न सहयोगका लागि उनलेदातासँग गुहार मागेको बताए ।

नगरपालिकाका मेयर डम्बर बहादुर रावत अन्य भूकम्प पीडित भन्दा युवा जेलमा रहेका पीडित परिवारलाई धेरै सहयोग गर्नुपर्ने अवस्था रहेपनि पालिकाले सोचेअनुसार सहयोग गर्न नसकेको स्विकार गर्छन। यस्तो अवस्थामापीडितको घाउमा मल्हम लगाउन सहयोगी दाताहरुमा उनको अपिल छ ।‘अस्थायी टहरा निर्माणका लागि २५ हजार रकम वितरण गरेका थियौं । तर खान लगाउन नै धौ धौ भएपछि उहाँहरुले टहरा निर्माण गर्न सक्नु भएको छैन’ उनले भने, ‘पालिकाले भूकम्प प्रतिरोधी भवन निर्माण मापदण्ड बनाउदै छ । तर अस्थायी टहरा नै बनाउन नसक्ने अवस्थाका व्यक्तिले कसरी प्रतिरोधी घर बनाउँछन् ?चिन्ता र चासोको बिषय हो । तर पालिकासँग स्रोत पनि छैन ।’

‘लागुऔषध’ को रूपमा चिनाइँदै आएको अफिमलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ ले प्रतिबन्धित गरेको छ । सोही कानुनअनुसार अफिम खेती गर्न, ओसारपसार गर्न र प्रयोग गर्न पाइन्न । लागू औषध सम्बन्धी कसूरको सजाय अन्तर्गत २५ बोेटभन्दा बढी अफिम वा कोकाको खेती गर्ने सम्बन्धि कसूर सजायका आधारमा अफिम वा कोकाको खेती गर्ने, वा कसूरको गम्भिरता, कसूयदारको दोषिपना कसूरबाट पुगेको क्षेति तथा कसूरबाट भएको वा हुनसक्ने जोखिम समेतलाई आधारमानी कानुन अनुसार २० जना युवालाई ३ बर्षदेखि १० बर्षसम्मको कैद सजाय तोकिएको छ ।

जाजरकोट भूकम्पः घर बनाउने पुरुष जेलमा, विचल्लीमा परिवार

पेट्रोलियम अन्वेषण: कर्णाली समृद्धिको कोशेढुंगा

जाजरकोट भूकम्पः घर बनाउने पुरुष जेलमा, विचल्लीमा परिवार

विवाह गर्न वडाको सिफारिस अनिवार्य