पेट्रोलियम अन्वेषण: कर्णाली समृद्धिको कोशेढुंगा

दैलेखको पञ्चकोशी क्षेत्रमा २०७६ असोजदेखि पेट्रोलियम पदार्थको अन्वेषण शुरु भएको छ । अहिले यो काम अन्तिम चरणमा पुगेको छ । चीनबाट थप ड्रिलिङको लागि ल्याइने ठूला उपकरणहरु राखिने फाउण्डेशनको तयारी भएसंगै यो काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ ।

दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा प्रदान गरिएको छ । सरकारले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिएर जग्गा अधिग्रहण गरिसकेको छ । पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

कर्णालीमा ठूला आयोजनाहरु सुस्त गतिमा भइरहेको बेला चिनियाँ अनुदानमा सञ्चालित यो आयोजना कर्णालीको गौरवको हुनेछ । निरन्तर पानीमाथि ज्वाला बल्ने उक्त क्षेत्रमा यदि पेट्रोलियम पदार्थ फेला परेमा प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्नेछ । यसलाई कर्णाली प्रदेशका लागि समृद्धिको कोशढुंगा मानिनेछ ।

प्रारम्भिक सर्भेमा उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको देखिएको छ । यो सकारात्मक संकेत हो । यसले थप ड्रिलिङ गर्नुपर्ने देखिएको छ । जसको लागि जग्गा अधिग्रहण र सडक चौडा पार्ने काम थालिएको छ । अब हुने अन्वेषण अन्तिम चरणमा रहेकाले खानी तथा भूगर्भ विभागका अधिकारीहरु पनि उत्साही देखिएका छन् । अबको अध्ययनमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउनुका साथै गहिराइ पनि मापन हुनेछ । परिणाम फैलावटबारे थाहा हुनेछ । उत्खननका लागि खर्च र फाइदाबारे भने अन्तिम अन्वेषण ड्रिलिङ गर्ने कार्यपछि खुल्नेछ ।

विभागका अनुसार डेढ महिनाभित्र मेशिन चीनबाट कोलकत्ता हुँदै अन्वेषण स्थलमा आइपुग्नेछ । यसका लागि ड्रिलिङ हुने स्थानमा फाउन्डेसन सुरु गरिएको छ । ड्रिलिङ गर्न सुरु भएको ५ महिनामा सकिने बताइएको छ । पेट्रोलियम अन्वेषणको सम्झौता म्याद यही फागुनमा सकिदैँछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खानी विभागले म्याद थपको लागि प्रस्ताव पठाइसकेको छ ।
अन्वेषणका लागि आवश्यक ठूला उपकरण ल्याउन कर्णाली राजमार्ग हुँदै साँगेतडा बजारबाट चामुण्डाविन्दासैनी नगरपालिकाबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग प्रयोगमा ल्याइनेछ । अन्तिम ड्रिलिङ सर्बे हुने स्थान भैरवी गाउँपालिकाको जलजले हो । जहाँसम्म चिनियाँ टोलीसहित स्थलगत अनुगमन गरिसकेको छ ।

सडक डिभिजन सुर्खेत मार्फत सडकको मोडहरु फराकिलो पारिएको छ । ठूलो ड्रिलिङ मेशिन ल्याउन हालको सडक निकै साँगुरो छ ।

नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी ४ वटा सर्भेका काम भईसकेको छ ।

पेट्रोलियम अन्वेषण: कर्णाली समृद्धिको कोशेढुंगा

YUGAAWHAN NATIONAL DAILY (2080-10-12)

पेट्रोलियम अन्वेषण: कर्णाली समृद्धिको कोशेढुंगा

जाजरकोट भूकम्पः घर बनाउने पुरुष जेलमा, विचल्लीमा