सम्पादकीय : प्राविधिक शिक्षाको संकटबारे बेलैमा सोचौं

कुनै बेला आकर्षक थियो, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा । विद्यार्थीको थेगि नसक्नु भीड । तर पछिल्ला वर्ष यता प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) तर्फका १८ महिने र तीन वर्षे कोर्स धेरै विद्यालयमा बन्द नै भइसके । कृषि, पशु, इन्जिनियरिङ, कम्प्युटर जस्ता प्राविधिक कोर्सहरु विद्यालय तहमा पढ्न विद्यार्थी इच्छुक छैनन् । प्राविधिक शिक्षा पढेर पनि रोजगारीको अवसर नपाउनु, १२ कक्षा पास गरेर उच्च शिक्षा अध्ययन गर्न विदेश जाने होडबाजीका कारण विद्यालय प्राविधिक शिक्षाको आकर्षण घटेको जानकारहरु बताउँछन् । अहिले नाम चलेका विद्यालयलाई ४० जना विद्यार्थी पाउन समेत मुस्किल पर्ने गरेको छ । सिटिइभिटीका अनुसार कर्णाली प्रदेशका १०४ वटा सामुदायिक विद्यालयले १८ महिने र तीन वर्षे प्राविधिक शिक्षा सञ्चालन गरिरहेका छन् । तीमध्ये कतिपयले सम्बन्धन पाएको केही वर्षमै विद्यार्थी नपाएर कक्षा बन्द गरिसकेको अवस्था छ ।

स्वास्थ्य तर्फका कार्यक्रमहरूमा पनि विगत वर्षहरूका जस्तो अत्यधिक चाप छैन । प्राविधिक शिक्षामा समग्रमा जम्मा ४३ प्रतिशत मात्र विद्यार्थी भर्नाको अवस्थाले राज्यको स्रोत र साधनको पर्याप्त उपयोग हुन नसकेको, नेपालको प्राविधिक शिक्षाले रोजगारी सिर्जनामा मद्दत पुग्न नसकेको, श्रमबजार सँगको तालमेल नमिलेको र शिक्षामा विद्यार्थीहरूको विश्वास कम हुँदै गएको देखिन्छ । नेपालबाट हरेक वर्ष ५० हजारको हाराहारीमा विद्यार्थीहरु पढ्न विदेश जाने गर्छन् । विदेशमा गएर पढ्नुका साथै कमाइ पनि गर्न पाइने भएपछि धेरै विद्यार्थीको रोजाइँ विदेश पर्न थालेको हो । यद्यपि, विदेश पढ्न पाइने पाठ्यक्रम नेपालमा पनि पढाइन्छ । तैपनि धेरै विद्यार्थीहरूको रोजाइँ विदेश बन्न पुगेको छ । जसले गर्दा छिटो रोजगारी पाउन सकिने प्राविधिक धारको शिक्षा र ग्रामिण भेगमा रहेका क्याम्पसहरु बन्द संकटासन्न अवस्थामा छन् ।

विद्यार्थी नपाएपछि धमाधम खोलिएका प्लस टु, क्याम्पसहरु बन्द हुन पुगेका छन् । युवा र बौद्धिक जमात अध्ययनको बहानामा विदेश हानिएपछि देशबाट ठूलो राशीको बजेट पनि पनि विदेश पुगेको छ । नेपालको अर्थतन्त्र मात्र नभई दक्ष युवा जनशक्तिसमेत पलायन हुने दर बढ्दो छ । यो अवस्थाले अहिलेको युवा, शिक्षा र रोजगारीको डरलाग्दो चित्र देखाउँछ । अध्ययनका लागि भनेर विदेसिने युवाको संख्याले हाम्रा तीन तहका सरकारहरु झस्किनुपर्ने हो । तर सरकारी निकायहरुमा यो बहसको विषय बनेको छैन् । हाम्रो शिक्षा प्रणाली, शिक्षण संस्था र हाम्रो समग्र राजनैतिक, आर्थिक तथा सामाजिक परिवेशले त्यो अवसर दिन नसक्दा बढ्दो युवा आप्रवासन र देशबाट ठूलो धनराशी पनि बाहिरिएको छ । नेपालमै पढ्न चाहने विद्यार्थीलाई यहाँको समग्र शैक्षिक प्रणाली, शिक्षण सिकाइ, विद्यालय क्याम्पसमा हुने राजनीति, परीक्षा–नतिजा प्रक्रिया आदिले असन्तुष्ट बनाउने गरेको छ । विद्यार्थीहरूलाई स्वदेशमै अध्ययन गर्न प्रेरित गर्न, रोजगारीको सुनिश्चितता हुने वातावरण तयार गर्न अब सरकारले महत्वपूर्ण कदम चाल्न ढिला गर्नु हुँदैन् ।

सम्पादकीय : प्राविधिक शिक्षाको संकटबारे बेलैमा सोचौं

कर्णाली प्रदेश लोकसेवा आयोगमा खुल्यो जागिर

सम्पादकीय : प्राविधिक शिक्षाको संकटबारे बेलैमा सोचौं

कर्णालीबाट राष्ट्रिय सभा सदस्यमा ६ उम्मेदवारको विगत,