नागरिक उड्डयन प्राधिकरणको नाफा साढे तीन अर्ब


नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा तीन अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ ।
प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक प्रदीप अधिकारीले त्यस्तो हिसाबसहितको प्रतिवेदन पेश गरेका हुन् । पर्यटनमन्त्री सुदन किराती प्रमुख अतिथि रहेको सो कार्यक्रममा पछिल्लो एक वर्षमा प्राधिकरणले सबै खर्च कटाएर तीन अर्ब ४९ करोड १५ लाख मुनाफा कमाएको हिसाब प्रस्तुत गरियो ।
महानिर्देशक अधिकारीले प्राधिकरणको आय एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख तथा नन्एड्ओटीकलतर्फ एक अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड तीन लाख आम्दानी भएको बताए । उनले पुँजीगत खर्च तर्फ सात अर्ब ४४ करोड ३८ लाख, कार्यसञ्चालन खर्चतर्फ चार अर्ब २२ करोड ९९ लाख ,आयकर तथा अन्य खर्च चार अर्ब १५ करोड पाँच लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको उल्लेख गरे ।
प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान एक सय ९२ प्रतिशतले वृद्धि भएको पनि प्रतिवेदनमा जनाइएको छ । त्यस्तै, हवाई उडानमा यात्राहरूको संख्या पनि तीन सय ६४ प्रतिशत र कार्गो पनि एक सय प्रतिशतले वृद्धि भएको उल्लेख छ ।
सन् २०२३ को अन्त्यमा आइपुग्दा तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको संख्या ५५ पुगेको जनाइएको छ । कोरोनाका कारण आर्थिक रुपमा धराशायी भएको उड्डयन क्षेत्र २०२२ मा सुधारोन्मुख हुँदै चालु अवस्थामा पुरानै अवस्थामा फर्किएको महानिर्देशक अधिकारीको दावी छ ।






