व्यवसाय घट्दै जाँदा व्यापारीहरू चिन्तित

कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको प्रमुख व्यापारी केन्द्र गमगढी बजारमा केही बर्ष यता व्यापार व्यवसाय क्रमिक रूपमा घट्दै जाँदा व्यापारीहरू चिन्तित बनेका छन् । जिल्लामा बेरोजगारीको संख्या बढ्दै गएपछि रोजगारीको लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरू हाल दैनिक जसो अपेक्षित व्यापार नभए पछि चिन्तित बनेका हुन् ।

लाखौँ रुपैयाँको लगानी गरी सोचे अनुसारको ब्यापार नचले पछि केही व्यापारी सटरको भाडा र बैंकको किस्ता तिर्न नसके पछि केही व्यापारीहरू विस्थापित भइसकेका छन् । भने केही व्यापारीहरू विस्थापित हुने क्रममा रहेका छन् । केही बर्ष अगाडी सामान्य अवस्थाको ब्यापार व्यवसाय पछिल्ला दिनहरूमा ह्वातै घटेको व्यापारीहरूले बताएका छन् ।


गमगढी तल्लो बजारमा फेन्सी लगायत अन्य खुद्रा पसल सञ्चालन गर्दै आएका व्यापारी नरजङ् शाहीले भने,‘केही बर्ष अघि राम्रो व्यापार हुने गर्दथ्यो तर आज भोली दिनमा पाँच सयको पनि व्यापार हुँदैन ।’ गाउँका मान्छे सँग पैसा पनि छैन विगतमा तल्लो हुम्ला बाट ग्राहकहरू किनमेलका लागि यहाँ आउँथे । तर कर्णाली करिडोर बनेपछि हुम्लाका ग्राहक पनि आउँदैनन् । अब कसरी बैंकको किस्ता तिर्ने रु अनि सटरको भाडा शाहीको प्रश्न थियो । अब केही महिनामा पसल छोड्नुको विकल्प छैन उनले भने ।

व्यापार नभएको पिडा केवल नरजङ् शाहीको मात्र हैन यस्तै पिडा गमगढी माथिल्लो बजारका फेन्सी पसल गर्दै आएका हरिकृष्ण ऐडीले भने, ‘मैले लाखौँ रुपैयाँ लगानी गरेर फेन्सी पसल सञ्चालन गरे तर भने जस्तो ब्यापार नै छैन ,व्यापार धेरै घटेको छ, पहिले धेरै चहल पहल हुने गमगढी बजार अहिले दिनमा सुनसान जस्तै हुने गर्छ । व्यापारिक समस्या केबल शाही र ऐडिको मात्र हैन गमगढी बजारका सबै साना ठुला व्यापारी तथा होटेल व्यवसाय गर्दै आएका हरू सबैको हो । पछिल्लो समयमा गमगढी बजार बाट व्यापार नभएपछि व्यापारीहरू विस्थापित हुने क्रम बढेको छ । ’

नेपाल उद्योग वाणिज्य सँग मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताए । जिल्लामा बेरोजगारको संख्या बढ्दै जानुका साथै जिल्लामा ठुलो संख्यामा जनतालाई रोजगार दिएको ग्रामीण पहुँच कार्यक्रमको म्याद सकिनु र अन्य कुनै किसिमका रोजगारमूलक आयोजनाहरू जिल्लामा सञ्चालन नहुँदा जिल्लाको आर्थिक स्थिति चलायमान नहुँदा ब्यापार व्यवसाय चौपट परेको अध्यक्ष बुढाको भनाई रहेको छ ।

नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको नेपालकै ठुलो र गहिरो ताल राराबाट केही हुन सक्छ कि भनेर कुरेका गमगढी बासी जनता तथा व्यापारीहरू रारा आएका पर्यटकहरू गमगढी नझरी उतै बाट फर्कने गरेकाले व्यापारीहरूको आशा आसमै सीमित रहको बुढाको भनाई रहेको छ । छायाँनाथरारा नगरपालिका वडा नं ७ पिनाको राता चौर बाट मालवाहक गाडी साबिककै रोडमा पठाउने र पर्यटक बोकेका गाडीहरू गमगढी आउने तल्लो बाटो सुधारेर बालै हुँदै गमगढी–रारा जाने व्यवस्था मिलाएको खण्डमा सुक्न लागेको गमगढी बजारको व्यवसायमा केही सुधार हुने पनि अध्यक्ष बुढाको भनाई रहेको छ ।

हाल पिनाको राता चौरदेखि बालै बगर र बालैदेखि बोटुधाराका केही स्थानका सडक खण्डहरू २०७९ साल असोजमा लगातार एक हप्ता परेको भीषण पानीले सडक तहसनहस पारेको थियो भने उक्त सडक हाल सम्म पनि मर्मत हुन नसक्दा स्थानीयहरू सवारी साधन बाट सवार हुँदा वैकल्पिक लामो बाटो प्रयोग गरिरहेका छन् । यथा शीघ्र पिना बालै हुँदै गमगढी सडक मर्मत गर्नु पर्ने स्थानीय जनताले माग गरेका छन् ।

व्यवसाय घट्दै जाँदा व्यापारीहरू चिन्तित

आलु भन्दै प्याज ल्याउने एक सब्जीमण्डीलाई पाँच

व्यवसाय घट्दै जाँदा व्यापारीहरू चिन्तित

YUGAAWHAN NATIONAL DAILY (2080-09-14)