हेलिकोप्टरबाट अनुदानको खाद्यान्न ढुवानी सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा प्राप्त यसवर्षको खाद्यान्न हेलिकप्टरबाट ढुवानी सुरु भएको छ ।
लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार यसवर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी हेलिकोप्टरबाट सुरु भएको छ । आर्थिक वर्ष सुरु भएको पाँच महिना सात दिनपछि खाद्यान्न ढुवानी सुरु भएको हो ।
खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयरलाई ताकेता गरेपछि बल्ल ढुवानी कार्य सुरु भएको हो । हेलिकोप्टरले सर्केगार्ड गाउँपालिका–२ को ल्याप्चेबाट ढुवानी सुरु गरेको हो । ल्याप्चेबाट १५ मिनेटमा सिमकोट विमानस्थलसम्म खाद्यान्न ढुवानी हुने गरेको छ ।
एउटा उडानमा हेलिकोप्टरले सात क्वीन्टल खाद्यान्न बोक्ने गर्छ । दैनिक २० देखि २४ उडान हुनेछ । यसवर्ष हवाई मार्गको खाद्यान्न सुर्खेतबाट ६ हजार र नेपालगञ्जबाट चार हजार क्वीन्टल कोटा निर्धारण गरिएको छ । यो खाद्यान्न सिम्रिक एयरले नेपालगञ्जबाट प्रतिकेजी एक सय ४३ रुपैयाँ र सुर्खेतबाट प्रतिकेजी एक सय ३७ रुपियाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेको छ ।
खाद्यान्न सुर्खेतबाट ट्रकमा ढुवानी भएर हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्म आउने गरेको छ । त्यसपछि नेपालगञ्जबाट खाद्यान्न ढुवानी हुनेछ ।






