प्राङ्गारिक मलका कार्यक्रममा ध्यान देऊ !

१० वर्षको अवधिमा नेपालमा १४ लाख बढी गाईगोरुको संख्या घट्यो । यता कर्णाली प्रदेशमा समेत उस्तै अवस्था छ । यहाँ पनि लाखौंको संख्यामा गाईगोरु हराएका छन् । यो अवस्था चिन्ताको विषय पनि हो । खेतीका लागि मात्र भनेर गोरु पालन हुन्छ, तर कृषिमा ट्याक्टरको प्रयोग गर्न थालेपछि भने यो पनि विस्थापित हुदैछ । दुध उत्पादनका लागि गाई पालन गर्ने किसानहरुको संख्या बढेको छैन । किसानहरु भैसी पालन गर्न भने ईच्छुक नै छन् । दुध उत्पादन भईसकेपछि बुढा भएका भैसीलाई मासुमा पनि बिक्रि गर्न सकिने भएपछि किसानहरुले भैसी पालनलाई भने नियमितता दिएका छन् । तर कर्णालीमा भैसी पाल्ने किसानहरुको संख्या अत्यधिक वृद्धि हुन सकेको छैन । यथार्त तथ्यांक नभएपनि कर्णाली दुध उत्पादनमा भने करिव करिव आत्मनिर्भर नै छ ।
गाईगोरुको संख्या घटेपछि यसको प्रत्यक्ष असर यहाँको माटोमा पर्छ नै । किसानहरु प्राङ्गारिक मल उत्पादनमा त्यति चासो देखाएका छैनन् । बजारमा पाईने रासायनिक मल नै किसानका लागि सजिलो भएको छ । जसकारण कर्णालीमा प्रत्येक वर्ष रासायनिक मलको खपत पनि बढिरहेको छ । तर नियमित रुपमा रासायनिक मलको मात्र प्रयोगले उत्पादकत्व बढाउला भन्ने छैन । माटोलाई प्राङ्गारिक मल आवश्यक पर्छ नै । तर मलका लागि मात्र गाईभैसी पालन गर्दा शारिरिक परिश्रम बढी नै हुने भएपछि किसानहरु यस तर्फ आकर्षित छैनन् । यसको असर पनि केहि दशकमै अवश्य देखिन्छ । यसका पनि विकल्पहरु छन् । किसानले पहिले बनाएका गाईगोरुको गोठले ओगटेको क्षेत्रमा नै प्राङ्गारिक मलको उत्पादन गर्न सकिन्छ । उनीहरुलाई यस विषयमा प्राविधिक जानकारी तथा केहि पूर्वाधार समेत सहयोग गर्नुपर्ने होला ।
विकल्पको रुपमा गड्यौले मल हुन सक्छ । किसान आफैले घरमा सजिलैसँग गड्यौले मल उत्पादन गर्न सक्छन् । माटोको लागि पनि उत्तम मानिएको यो मल बनाउन धेरै मेहनत पनि लाग्दैन । गाईगोरु पालन छाडेका किसानहरुका लागि यो एकदमै लाभदायी छ । घरमा सानो खाल्डो बनाएर, बारीमा भएका घाँसपातको प्रयोगले यो मल बनाउन सकिन्छ । किसानहरुले यसका लागि धैरै समय पनि दिन पर्दैन । यस्ता खालका कार्यक्रम स्थानीय तह तथा प्रदेश सरकारसँग समेत नभएका होइनन् । अहिले पनि गाउँ–गाउँमा यि कार्यक्रमहरु लागु भईरहेका छन् । तर गाईगोरु पाल्न छाडेका किसानको तुलनामा यि कार्यक्रमहरुका लाभग्राही भने न्यून नै छन् । यस विषयमा खासगरी स्थानीय तहले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । कर्णालीलाई अर्गानिक कृषि उत्पादनको प्रदेश बनाउन समेत यस्ता कार्यक्रमहरुको आवश्यकता छ । वडा स्तरबाट नै किसानलाई गड्यौले मल जस्ता प्राङ्गारिक मल उत्पादनको विधि सिकाउने हो भने कर्णालीको माटो उत्पादनमैत्री रहिरहन्छ । अन्यथा रासायनिक मलको प्रयोगले मात्र कर्णालीले कति वर्षसम्म उत्पादन दिन सक्ला र ? यस विषयमा स्थानीय तहले समयमा नै सोच्न जरुरी छ ।






