सुन्तला जात फलफूलमा रोग संक्रमण बढ्दै


सल्यानको बागचौर नगरपालिका–९ मा डांगी परिवारले वि.सं. २०४३ साल देखि नै सुन्तला खेती गर्दै आएका थिए । शिव कृषि फर्मका सञ्चालक डण्डवीर डांगी स्मरण गर्छन्, ‘हाम्रा बुवाले पहिले देखि नै बारीमा सुन्तलाका बोट रोप्नुभएको थियो । ति मध्ये अहिले पनि २५–३० वटा सुन्तलाका बोट जिवित नै छन् । त्यही देखि नै हामीले व्यवसायिक सुन्तला खेती शुरु गरेका हौं ।’
डांगी परिवारको शिव कृषि फर्ममा अहिले करिव चार सय वटा सुन्तलाका बोट छन् । यि सबै बोटहरु उत्पादन दिने बोट हुन् । तर यस वर्ष भने यि बोटले उत्पादन नै घटाए ।
‘गत वर्ष भन्दा उत्पादन घटेको छ । उत्पादन घटेपनि फल लाग्ने बेलामा एक सय ५० क्विन्टल हुन्छ कि भन्ने आशा थियो । अहिले एक सय सय क्विन्टल पनि पुग्छ कि पुग्दैन भन्ने शंका छ’, निरास हुदै उनले भने ।
व्यवसायीक सुन्तला खेती गरिरहेका डण्डविरको बगैंचामा रोगले आक्रमण गरेपछि उत्पादन घटेको हो । ‘हामीले पौषको महिनामा सुन्तला बिक्री गर्छौ । यसपाली भने रोगले समस्या बनायो । फल लाग्ने बेला नै डालाको बोक्रा सुक्ने समस्या आयो । कति औषधी गरियो, गरियो । निको नै भएन’, उनले भने ।
यस अघिको वर्ष २०७९ मा डण्डबीरले दुई सय १२ क्विन्टल सुन्तला बिक्री गरेका थिए । सो भन्दा अघिका वर्षहरुमा उत्पादन अझ धेरै नै थियो । डण्डवीर सल्यानमा सुन्तला उत्पादन तर्फ जिल्लाकै उत्कृष्ट कृषकहरुमध्ये एक हुन् ।
अहिले डण्डविरलाई अर्को पनि समस्या छ, बगैंचामा सुन्तलाका बोटहरुले नियमित उत्पादन पनि दिदैनन् । ‘बुवाले लगाएका शुरुका बोट भनेर बचाएर राखेका छौँ । तिनमा फलेका सुन्तला घरमा खान हुन्छ । राम्रा दाना नै लाग्दैनन् । अहिलेका बोट केहि वर्ष मात्रै राम्रा दाना लगाउछन् अनि फेरी उस्तै हुन्छन् ।’
उत्पादन राम्रो नभएपछि उनले हरेक वर्ष बगैंचामा सुन्तलाको बोट लगाउने गर्छन् । २०६३ साल यता उनले पाँच पटकसम्म बगैंचामा सुन्तलाका बोट रोपिसकेको बताए । गुणस्तरको उत्पादन नदिएपछि उनले बोट नै हटाएछन् ।
राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार सामान्यतया पाँच देखि आठ वर्षसम्म उमेर भएको सुन्तलाको बोट वयस्क मानिन्छ । बोटको उमेर १० वर्षको पुग्दा परिपक्क अवस्थामा पुगिसकेको हुन्छ ।
परिपक्क भएको सुन्तालको बोटले ७४ दशमलव पाँच मिलिमिटरसम्मको फल दिन सक्छ । यो फललाई अलि ठुलो फलका रुपमा गुणस्तर निर्धारण हुन्छ । त्यसैगरी ५८ दशमलव पाँच मिलिमिटरको फल सानो फल र ५२ दशमलव पाँच मिलिमिटर भन्दा तलका फलहरु धेरै सानो फलका रुपमा वर्गिकरण हुन्छन् । डण्डविरको सुन्तला बगैंचामा केहि वर्ष उचित गुणस्तरको फल उत्पादन भएपनि धेरै समय भने कम गुणस्तरको सुन्तला उत्पादन हुने गरेको उनले बताए ।
‘सिट्स ग्रिनिङ र क्याङकर’ले सताउँदै
शिव कृषि फर्ममा सुन्तलाका बोटमा थरी थरीका रोग लागेका छन् । ‘कृषिबाट सरहरु आउनु भएको थियो, ग्रिनिङ र क्याङकर भन्ने रोग लागेको भन्दै हुनुहुन्थ्यो’, फर्मका सञ्चालक डण्डवीर डांगीले भने ।

‘धेरै औषधी गर्यौ हामीले । निको नै भएन’, उनको दुःखेसो भियो । डण्डवीरको फर्ममा मात्र होइन आसपासका अन्य सुन्तला जात फलफूल रहेका बगैंमा समेत रोग संक्रमण बढेको छ । यि दुई रोगले पात, फल र मसिना हांगामा नै असर पु¥याउँछन् । राष्ट्रिय फलफूल विकास केन्द्र, काठमाडौंको अध्ययन प्रतिवेदन हेर्ने हो भने क्याङकर रोग कोत्रे रोगका रुपमा चिनिन्छ । त्यसैगरी सिट्स ग्रिनिङ रोग संक्रमण भएका पात र फलमा असर गर्दै अन्त्यमा बोट मर्ने समस्या समेत हुन्छ ।
मुख्य उत्पादक क्षेत्रमै संक्रमण
सुन्तला जात फलफूल उत्पादनका दृष्टिकोणले सल्यानको बागचौर नगरपालिका प्रमुख मध्ये एक हो । यस नगरपालिकाले गत आर्थिक वर्षमा जिल्लाकै तुलनामा करिव ४२ प्रतिशत सुन्तला निर्यात गरेको थियो ।
अहिले रोग संक्रमणको अवस्थामा जिल्लामा बागचौर र शारदा नगरपालिका बढी प्रभावित भएका स्थानीय तह हुन् । २०७९/०८० मा सल्यानले चार हजार नौं सय ९३ मेट्रिकटन सुन्तला निर्यात गर्दा बागचौर नगरपालिकाले मात्र दुई हजार नौं सय १८ मेट्रिकटन निर्यात गरेको कृषि विकास कार्यालय, सल्यानको तथ्यांक छ ।

छत्रेश्वरी गाउँपलिकाले एक हजार ३०, त्रिवेणी गाउँपालिकाले पाँच सय ५४, शिद्धकुमाख गाउँपालिकाले दुई सय ३३ र बलगाडकुपण्डे नगरपालिकाले एक सय सात मेट्रिक टन निर्यात गरेका थिए । त्यसैगरी शारदा नगरपालिकाले एक सय पाँच, दार्मा गाउँपालिकाले ३५ र कपुरकोट गाउँपालिकाले आठ मेट्रिटन बढी सुन्तला निर्यात गरेको देखिन्छ ।
२०७९/०८० मा सुन्तला निर्यात मार्फत सल्यानले ३३ करोड ७० लाख २७ हजार रुपैयाँ बढी आम्दानी गरेको थियो । सो आर्थिक वर्षमा जिल्लाले औषत रुपमा प्रति किलोग्राम ६७ रुपैयाँसम्ममा सुन्तला निकासी गरेको कृषि विकास कार्यालय, सल्यानले जनाएको छ ।
उत्पादन घट्ने सम्भावना
हालको समयमा भने सल्यानमा सुन्तला जात फलफूल उत्पादन घट्ने कृषि विकास कार्यालय, सल्यानले आंकलन गरेको छ । कार्यालयका सूचना अधिकारी इश्वरीनारायण घर्तीले गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्ष २०८०/०८१ मा १०–१५ प्रतिशतले सुन्तला जात फलफूल उत्पादन घट्ने बताए ।
२०७८/०७९ को तुलनामा २०७९/०८० मा सल्यानमा एक सय ३० हेक्टर बढी जग्गामा सुन्तला जात फलफूल खेति गरिएको थियो । तर २०७९/०८० मा सुन्तला जात फलफूललाई उत्पादनशिल क्षेत्रफल भने शुन्य दशमलव दुई हेक्टरले मात्र बढेको उनले जानकारी दिए । २०७८/०७९ मा सल्यानमा एक हजार पाँच सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला जात फलफूलको खेती गरिएको थियो । यस आर्थिक वर्षमा जिल्लामा नौं सय ८० हेक्टर जमिन उत्पादनशिल थिए । २०७८/०७९ मा सल्यानमा ६ हजार नौं सय ३५ मेट्रिकटन सुन्तला जात फलफूल उत्पादन भएको तथ्यांक छ । २०७९/०८० मा सल्यानमा एक हजार ६ सय ७५ हेक्टर क्षेत्रफलमा सुन्तला जात फलफूलको क्षेत्रफल रहदा नौं सय ८२ हेक्टर मात्र उत्पादनशिल क्षेत्र विस्तार भएको थियो । २०७९/०८० मा सल्यानले आठ हजार तीन सय २२ मेट्रिकटन सुन्तला जात फलफूलको उत्पादन गरेको थियो । जिल्लाले २०७९/०८० मा चार हजार नौं सय ९३ मेट्रिकटन सुन्तलाको निकासी गरेको कृषि विकास कार्यालय, सल्यानका सूचना अधिकारी इश्वरीनारायण घर्तीले जानकारी दिए ।
हाल सुन्तला जात फलफूल वालीमा रोग संक्रमण बढेपछि हाल २०८०/०८१ मा उत्पादन घट्ने सम्भावना रहेको उनले जनाए ।
‘बगैंचा व्यवस्थापनमा सचेत रहन आग्रह’
सुन्तला जात फलफूल बालीमा पछिल्लो समय विभिन्न रोगको संक्रमण क्रम बढिरहेको छ । पछिल्लो समय सुन्तला जात फलफूलमा ‘गुम्ममोसिस’, क्याङकर, सिट्स ग्रिनिङ लगायतका रोगहरु संक्रमण बढिरहेको कृषि विकास निर्देशनालय, सुर्खेतका प्रमुख चित्रबहादुर रोकाय बताउँछन् ।
‘यि रोगहरु जलवायु परिवर्तनसँग समेत सम्बन्धित छन् । यो वाहेक नयाँ–नयाँ रोगहरु पनि संक्रमण भईरहेका हुन्छन् । खासगरी सुन्तला जात फलफूलमा भाइरसहरुको संक्रमण बढिरहेको छ’, उनले भने ।
भाइरसको संक्रमण भएपछि अन्य रोगहरुको समेत संक्रमण जोखिम बढ्ने उनले बताए । यसको मुख्य कारणमध्यमा जलवायु परिवर्तन रहेको उनको भनाई छ । परिवर्तन भईरहेको तामक्रम र हावाको आद्रताले सुन्तलाजन्य फलफूलमा प्रत्यक्ष असर पारेको कृषि विकास निर्देशनालयका प्रमुख रोकायले बताए ।
यस अवस्थामा फलफूल बगैंचा व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव छ । परम्परागत खेती पद्दतीलाई परिवर्तन गर्दै मलखादको व्यवस्थापन, गोडमेल, सिचाईं लगायतका पक्षमा किसानले ध्यान दिनुपर्ने उनको सुझाव छ ।
जलवायु परिवर्तनले खासगरी कर्णालीको कृषिमा असर पारेको बताउँदै उनले सचेत रहन किसानलाई आग्रह गरे ।





