पर्यटन प्रवद्र्धनका लागि काठमाण्डौँ–सल्याान साईकल यात्रा गर्ने युवालाई छत्रेश्वरीमा सम्मान

सल्यानका एक युवाले पर्यटन प्रवद्र्धनका लागि भन्दै काठमाण्डौँ देखि सल्यान सम्मको साईकल यात्रा पुरा गरेका छन् ।
सल्यानका निषेध दाहालले आफ्नो क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसारका लागि ५०९ किलोमिटर भन्दा बढी लामो साईकल यात्रा गरेका हुन् ।

गत विहिबार काठमाण्डौँ स्थित पशुपतिनाथबाट यात्रा गरेर मंगलबार सल्यान आइपुगेका साईकल यात्री दाहाललाई छत्रेश्वरी गाउँपालिकाले सम्मान गरेको छ ।

गाउँपालिका कार्यालयमा दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले छत्रेश्वरी गाउँपालिका सहित जिल्लाभित्र ऐतिहासिक महत्व बोकेका स्थलहरु रहेको भन्दै प्रचारप्रसारका लागि निषेध दाहालले गरेको प्रयासको प्रसंशा गरे । उनले छत्रेश्वरी गाउँपालिका पर्यटनको दृष्टीले एक उत्कृष्ट गन्तव्य भएको र पालिका भित्रका पर्यटकीय, धार्मीक, ऐतिहासिक क्षेत्रको प्रवद्र्धनका लागि काम गरिरहेको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा लगाएतले दाहाललाई स्वागत र सम्मान गर्दै हरेक युवाहरु असल र उदाहरणीय बन्नुपर्ने धारणा राखेका थिए ।

छत्रेश्वरी, ३ मूलखोला निवासी २४ वर्षिय दाहाल सेवा नै धर्म हो भन्ने सन्देश सहित सल्यानको खैरावाङ भगवती मन्दिर, छत्रेश्वरी सतिपिठ, खड्गदेवी मन्दिर लगाएतका क्षेत्रको तस्वीर टाँस गरी साईकल यात्रा गरेका हुन् ।

यात्राको क्रममा विभिन्न स्थानमा धेरै व्यक्तिबाट आफुलाई सकारात्मक साथ सहयोग मिलेको भन्दै उनले सल्यानका पर्यटकीय क्षेत्रले धेरैलाई आकर्षण गर्न सक्ने बताए । ‘यात्राको क्रममा कुनै अफ्ठेरो भएन, खान, बस्न तथा साईकल मर्मतका लागि पनि विभिन्न ठाउँमासहयोग प्राप्त भयो’, उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि साईकल यात्रालाई सबैले सकारात्मक रुपमा लिए ।’ दाहालले बुधबार विहान खैरावांगको दर्शन गर्ने तथा छायाँछेत्र, खड्गदेवी मन्दिर लगाएत जिल्लाका विभिन्न स्थानमा पनि पुग्ने बताएका छन् ।

पर्यटन प्रवद्र्धनका लागि काठमाण्डौँ–सल्याान साईकल यात्रा गर्ने युवालाई छत्रेश्वरीमा सम्मान

जुम्लामा ६८ औं प्रहरी दिवस मनाइयो