सडक निर्माणमा दोहोरो भुक्तानी लिएको १३ लाख राजश्व खातामा दाखिला

जाजरकोट, १७ असोज ।
जाजरकोटमा एउटै आयोजनामा दुई कार्यालयबाट लिएको रकम उपभोक्ता समितिले फिर्ता गरेका छन् । पूर्वाधार विकास कार्यालय जाजरकोटबाट दोहोरो भुक्तानी लिएको १२ लाख ८२ हजार ७ सय २२ रुपैयाँ फिर्ता भएको हो । युगन्यूट डट कमले पहिलो पटक जाजरकोटको एकै सडकमा दुई कार्यालयबाट भुक्तानी शिर्षकमा समाचार सार्वजनिक गरेको थियो । उक्त घटना बाहिरिएपछि चौतर्फि दवाव परेको थियो ।
जाजरकोट नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने एउटा सडक निर्माण गरी एउटै उपभोक्ता समितिले दुई कार्यालयबाट भुक्तानी लिएको केही दिन अघि सार्वजनिक भएको थियो नलगाड नगर पालिकाबाट १९ लाख ४० हजार र सोही योजनामा भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटबाट १३ लाख ४२ हजार १ सय सात रुपैयाँ भुक्तानी दिइएको थियो ।
नलगाड नगरपालिकाको काम अघि नै गरिसकेको छानबिनबाट पुष्टि भएपछि पूर्वाधार विकास कार्यालयबाट डुप्लिकेशन भएको तथ्य पत्ता लागेको थियो । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले बढी भुक्तानी लिएको ५ प्रतिशत धरौटी बाहेक १२ लाख ८२ हजार ७ सय २२ रुपैयाँ उपभोक्ता समितिले मङ्गलवार पूर्वाधार कार्यालयको राजश्व खातामा रकम जम्मा गरेको जानकारी दिए ।
गत असारमा नलगाड नगरपालिका वडा नं. ११ स्थित उखाले तल्लु हितानगाँउ जोड्ने सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुई वटा कार्यालयबाट भुक्तानी लिएको सार्वजनिक भएको थियो ।
अफिसलाई झुक्काएर डुप्लिकेशन गरी रकम भुक्तानी लिने उपभोक्तालाई बोलाएर रकम जम्मा गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएपछि भुक्तानी लिई सकेको रकम फिर्ता गर्न लगाएको यादवले बताए । ती उपभोक्ता समितिलाई अन्य के कारबाही गर्ने बारे प्रमुख जिल्ला अधिकारीसँग परामर्श भइरहेको यादवले जानकारी दिए ।







