मन्त्रीसमक्ष मुगु अस्पतालका प्रमुखले पोखे गुनासैगुनासो

मुगु ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल र सचिव भोजराज शर्मासमक्ष मुगु अस्पतालका प्रमुखले गुनासैगुनासो पोखेका छन् ।
बुधवार बिहान आयोजित एक कार्यक्रममा जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर कमल ढुंगानाले जिल्ला अस्पतालका समस्या र गुनासो मन्त्रीसामु प्रस्तुत गरेका हुन् ।
उनका अनुसार जिल्ला अस्पतालमा दरबन्दी अनुसार कर्मचारी नभएको, एक्सरे मेसिन बिग्रेको चार महिनासम्म पनि प्रदेश सरकारले मर्मतका लागि कुनै सुनुवाइ नगरेको उनको भनाइ थियो ।
कर्णाली प्रदेशका अन्य अस्पतालमा सरकारले सशुल्क फार्मेसी सञ्चालन गर्न बजेट छुटाएको, तर मुगुलाई उपेक्षा गरेको, मर्मतसम्भार शीर्षकमा बजेट नरहेको, अस्पतालमा ल्याब भए पनि बजेट र जनशक्तिको व्यवस्था नभएको, बायोमेट्रिक र प्राविधिक नहुँदा अस्पतालमा रहेका मेसिन र विद्युत् नियमित सञ्चालन गर्न समस्या भएको, सरकारले निःशुल्क भनेर तोकेका ९८ प्रकारका औषधि किन्न बजेट अभाव भएको उनको गुनासो थियो ।
उनले अस्पतालमा खानेपानी नहुँदा समस्या भएको बताए। उनले भने, ‘नेपाली सेनाले राति अस्पतालमा खानेपानी छोडिदिन्छ । जसोतसो त्यसैले धान्नुपरेको छ । पानी नआएको दिन सबैखाले सरसफाइका काम रोकिन्छन् । शौचालयमा समेत ताला लगाउनुपर्छ । घेरबार नहुँदा पशु चौपायादेखि अस्पतालवरिपरिका स्थानीयहरू अस्पतालभित्र आवतजावत गर्ने गरेका छन् ।’
कोरियाली सहयोग नियोगले बनाइदिएको अस्पतालका भवन र करोडौँका मेसिन औजार सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छ्न् ।
अस्पताल प्रमुख ढुंगानाले अस्पतालमा रहेका समस्या राखेपछि सहभागीहरूले ‘अस्पताल हो कि अस्तव्यस्त ताल’ भन्दै प्रतिक्रिया जनाएका थिए ।
अस्पताल प्रदेशमातहतमा छ । कर्णालीका १० जिल्लामा छुट्याएको बजेट हेर्दा कर्णाली प्रदेश सरकारले मुगु अस्पताललाई विभेद गरेको आवाज उठिरहेको छ । जिल्ला अस्पताल १५ शय्याको भए पनि बिरामीको चाप रहेकाले ४९ शय्यासम्म चलाउनुपरेको प्रमुख ढुंगानाले बताए ।
मुगु जिल्लाका चार पालिकाका साथै हुम्लाका चेंखेली, अदानचुली बाजुराको हिमाली र जुम्लाको कनकासुन्दरीसम्मबाट समेत बिरामी उपचारका अस्पतालमा आउने गरेका छ्न् ।
कर्णाली प्रदेश सरकारले बजेट प्रस्तुत गर्दा मुगु जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेबमोजिम जनशक्ति र अन्य आवश्यकीय संरचनाको व्यवस्था गर्न पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले कर्णाली सरकारलाई आग्रह गरे ।
सामाजिक विकासमन्त्री पोखरेलले मुगु मात्र नभएर १० जिल्लामा रहेका प्रदेशमातहतका अस्पताल र सामाजिक कार्यालयहरूका विभिन्न शीर्षकका बजेट चालू आर्थिक वर्षमा कटौती भएको बताए । उनले यो वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छुट्याउँदा बजेट अपुग भएको जानकारी गराए ।






