ब्राण्ड स्टोरी : बजार बनाउने जमर्कोमा ‘टोफु’

पुनम वि.सी.
सुर्खेत,१ मंसिर ।
‘टोफु’ नाम सुन्दैमा चाइनिज, जापानिज या कोरियन अर्थ लाग्ने कुनै चिजवस्तु हो कि भन्ने तपाइँलाई पनि लाग्यो होला । यदि शुरुमै तपाइँलाई त्यस्तो लाग्यो भने मान्नुस् तपाइँ शतप्रतिशत सहि हुनुहुन्छ । ‘टोफु’ खासगरी तरकारीमा मिसाएर खाइने एक प्रकारको पोषिलो आहारा हो । चीनबाट शुरुवात भएको मानिने टोफु वा बोलीचाली भाषाको तोफुलाई सामान्य रुपमा बुझने हो भने भट्मासको दूधबा बनेको पनिर भनेर बु्झन सकिन्छ ।
त्यहि ‘टोफु’ले सुर्खेतलगायत कर्णालीका बजारहरुमा आफुलाई परिचित गराउने जमर्कोमा छ । धेरैजसो मान्छेले स्वाद चाख्न त परै जाओस् सम्भवतः नामै समेत नसुनेको उत्पादन वीरेन्द्रनगर–८ स्थित रित्विक टोफु उद्योगले गर्दै आएको छ । ‘कर्णालीका लागि नौलो परिकार हो टोफु ’ उद्योगकी सञ्चालक टीका खत्री (वली) ले भनिन्, हामीले यसलाई यहि उत्पादन गरेर कर्णालीको बजारकै लागि उद्योग सञ्चालनमा ल्याएका हौँ ।’

मानव स्वास्थ्यका लागि प्रोटिनको स्रोतका रुपमा गनिएको टोफु उत्पादन उद्योग गत वर्ष २०७८ देखि वीरेन्द्रनगरबाट उत्पादन सुरु गर्न थालिएको हो । पहिलो चरणमा उद्योगले हालसम्म करिव ३० क्विन्टल टोफु उत्पादन गरी बजारमा पठाइएको उद्योगकी सञ्चालक खत्रीले जानकारी दिइन् । खासगरी सेतो भटमासको दूधबाट टोफु तयार हुन्छ
। उक्त दूधबाट पनिर बनेपछि त्यसलाई नै टोफु भनिन्छ । कर्णालीका रुपमा भने यहाँ उत्पादित भटमास नै उद्योगको मुख्य कच्चा पदार्थ हो । ‘पहिलो वर्ष हामीले राम्रो कच्चापदार्थ पनि पाएनौं । त्यसैले नियमित रुपमा धेरै परिमाणमा उत्पादन गर्न सकिएन’ खत्रीले भनिन्, ‘बजारमा पाइएको सेतो भटमास सबै प्रयोग योग्य थिएनन् ।’
उनका अनुसार बजारमा मिश्रित भटमास उपलब्ध थियो, जसमध्ये कुहिएको र नकुहिएको छुट्टाउनुपथ्र्यो । अब भने उद्योगले कर्णालीमा भटमास उत्पादनसँग प्रत्यक्ष जोडिने योजना बनाएको छ ।
दैलेख, सल्यान, कालिकोट, सुर्खेतलगायतका जिल्लामा सेतो भटमास उत्पादन गरिरहेका किसानसँग जोडिदै उद्योगले आफ्नो उत्पादन क्षमता बढाउने योजना गरिरहेको छ । ‘हामी सुरुवाति चरणमा छौँ । किसानबाट सोझै प्रशोधन भएको भटमास ल्याउने र यसपाली करिव ५० क्विन्टल टोफु उत्पादन गर्ने लक्ष्य छ’, उनले भनिन् । यसअघि उद्योगले प्रति किलोग्राम चार सय रुपैयाँमा टोफु बिक्रि वितरण गर्दै आएको छ ।
प्रोटिनको स्रोत
शरीरको कोशिकाहरू मर्मत गर्न र नयाँ बनाउन मद्दत गर्न आहारमा प्रोटिन आवश्यक हुन्छ । विषेशगरी बालबालिका, किशोरकिशोरी र गर्भवती महिलाको वृद्धि र विकासको लागि पनि प्रोटिन महत्वपूर्ण छ । भटमासको सोया दूधबाट टोफु बनाइन्छ । पनिर बनाउने जस्तै प्रक्रियामा टोफु निर्माण हुन्छ, हेर्दा पनि गाई–भैसीको दूधबाट बनाइने पनिर जस्तै देखिन्छ ।
टोफु प्रोटिनका लागि राम्रो स्रोत हो । पौष्टिक रूपमा, टोफुमा क्यालोरी कम हुन्छ र ठूलो मात्रामा प्रोटीन हुन्छ । यसमा आइरनको मात्रा उच्च हुन्छ, र निर्माणमा प्रयोग हुने कोगुलेन्टहरू (जस्तै क्याल्सियम क्लोराइड, क्याल्सियम सल्फेट, म्याग्नेसियम सल्फेट) को आधारमा यसमा उच्च क्याल्सियम वा म्याग्नेसियम सामग्री हुन्छ ।
टोफुको उत्पत्ति चीनमा भएको हो र ६ सय वर्षभन्दा बढी समयदेखि चिनियाँ खानामा प्रयोग हुदै आएको छ । यो पनि इण्डोनेसिया, जापान, कोरिया, सिंगापुर, थाइल्याण्ड र भियतनाम सहित पूर्वी र दक्षिण पूर्वी एशियाको व्यञ्जनका रुपमा समेत प्रयोग गरिन्छ ।
किसानसगै सहयात्राको योजना
कर्णालीमा कुल दुई हजाार चार सय ७५ हेक्टर क्षेत्रफलमा भटमास खेति हुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रकाशित गरेको ‘तथ्यांकमा कर्णाली प्रदेश’ पुस्तकमा उल्लेख भएबमोजिम कर्णालीले वार्षिक रुपमा कुल दुई हजार सात सय १७ मेट्रिक टन भटमास उत्पादन गर्छ । भटमास अन्र्तगत सेतो भटमास टोफु उत्पादनका लागि महत्व छ । रित्विक टोफु उद्योगका लागि प्रशोधित सेतो भटमास मात्र प्राप्त गर्न सक्ने सहज बजार व्यवस्था भने देखिदैन ।
स्थानीय होलसेल तथा फुटकर व्यवसायीले बजारमा ल्याईपु¥याएको सेतो भटमास प्रशोधित हुदैन। यसले गर्दा उत्पादनमा समस्या सृजना हुन्छ । यो अवस्थालाई मध्यनजर गर्दै उद्योगले ‘किसानसँगै सहयात्रा’का साथ अघि बढ्ने योजना बुनेको छ । उद्योगकी सञ्चालक खत्रीले भनिन्, ‘अन्य क्षेत्रबाट आयात गर्नुभन्दा कर्णालीकै किसानको उत्पादनलाई उद्योगसँग जोड्ने योजना छ । यस कारण उत्पादन लागत कमी कम हुन्छ र हामीले गुणस्तरीय टोफु पनि उत्पादन गर्न सक्छौँ ।’ किसानलाई सेतो भटमास खेतितर्फ आर्कषण गर्दै बजारको ‘ग्यारेन्टी’ समेत गर्ने उद्योगको आगामी योजना रहेको खत्री बताउँछिन् ।
कसले नखाने ?
यसमा अत्यधिक मात्रामा ओग्जालिक एसिड भएकाले मिर्गौलाका बिरामीले नियमित प्रयोग गर्नु नहुने पोषणविद्हरुले सुझाव दिने गरेका छन् । खासगरी स्तन ट्युमर, थाइराइडका विरामीले नियमित रुपमा यसको परिकार खानु हुँदैन भने गर्भावस्थामा बढी सेवन गरेमा भ्रुणलाई क्षति पु¥याउन सक्ने सम्भावना उत्तिकै रहेको बताइन्छ । टोफुको अत्यधिक प्रयोगले रगत जमाउन सक्ने र पुरुषहरूमा स्पर्म (वीर्य) कम उत्पादन गराउन सक्ने अवस्था रहने पोषणविद्हरुको भनाई छ ।
टोफुका फाइदा
एउटा अध्ययनले यसको नियमित प्रयोगले पुरुषहरूको आन्द्राको क्यान्सर ६१ प्रतिशत र महिलाको ५९ प्रतिशतसम्म निको भएको देखाएको छ । कलेजो स्वस्थ राख्न मद्दत गर्नुका साथै यसमा एन्टिअक्सिडेन्ट र हेप्टोप्रोटेक्टिव गुण भएकाले कलेजोलाई क्षति हुनबाट जोगाउँछ । छालाको सम्पूर्ण समस्या समाधान गर्छ भने चाउरीपन पनि कम गर्छ ।
केश झर्न कम हुन्छ । अध्ययनअनुसार यसको नियमित सेवनले मुटु रोग, मिर्गौला रोग, स्तन क्यान्सर निको भएको देखाएको छ । महिनावारी सुकेका महिलालाई सोयाबिन वा टोफुको एक कप नियमित प्रयोगले हर्मोनको सन्तुलन राम्रो भएको पाइएको छ । ‘प्रि–मेनोपज’ तथा ‘पोस्ट–मेनोपज’ मा टोफु समावेश गरे राम्रो परिणाम देखिएको छ ।
मेनोपजमा हुने समस्याका लागि तोफुको प्रयोगले फाइदा पु¥याएको विभिन्न अनुसन्धानले देखाएको छ । मधुमेहलाई कम्तीमा १५ प्रतिशत र इन्सुलिनलाई २५ प्रतिशतसम्म नियन्त्रण गर्नुका साथै ८० ग्राम नियमित प्रयोगले हड्डी बलियो बनाउने बताइएको छ । स्तन क्यान्सर, वंशानुगत क्यान्सर समेत गरी करिब १२ प्रकारका क्यान्सरमा उपयोगी हुनुका साथै शरीरको अनावश्यक चिल्लो पदार्थ हटाउने । प्रोस्टेट क्यान्सर ३२ देखि ५१ प्रतिशत कम भएको अध्ययनले देखाएको छ ।
छोरीले सिकाइन् टोफ
उद्योग सञ्चालक टीका खत्री (वली) का तीन सन्तान छन्, दुई छोरा, एक छोरी । एक्ली छोरी रिताकुमारी वलीले जो त्रिभुवन विश्वविद्यालयमा जैविक प्रविधि विषयमा स्नातकोत्तर अध्ययन गरेकी छिन् उनलेनै टोफुसँग परिचय गराइन्, अनि सुरु भयो टोफु उद्योग ।
‘छोरीले टोफुको बारेमा बताएपछि हामीलाई पनि राम्रो लाग्यो । उद्योग सञ्चालन अघि हामीले घरमै टोफु बनाएर परीक्षण पनि गर्याे । उद्योग सञ्चालक खत्री भन्छिन्, राम्रो लाग्यो, त्यसपछि भने टोफु उत्पादन गर्ने उद्योग खोल्ने निर्णय गरियो ।’





