तुम्लिङसम्मको सडक सञ्चालनमा

हुम्ला , ३१ असार ।
पर्यटकीय मार्गका रूपमा परिचित हेक्पा खोलादेखि न्यालुलेकहुँदै लिमीको तुम्लिङसम्मको सडक सञ्चालनमा आएको छ । हिमपातले छ महिनादेखि अवरुद्ध हुँदै आएको सो सडकको मर्मत कार्यपछि सडक सुचारु भएको हो।
नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले गत मङ्सिरमा भएको हिमपातपछि अवरुद्ध हुँदै आएको हेक्पा खोलादेखि न्यालुलेकहुँदै तुम्लिङसम्मको पर्यटकीय सडक सञ्चालनमा आएको बताए ।

हिमपातपछि हिम पहिरोका कारण सो सडक अवरुद्ध थियो । उनले हिम पहिरोले भत्काएको सडक मर्मतपछि तुम्लिङ, लिमीका जाङ र हल्जी गाउँसम्म यातायात सञ्चालन भएको अध्यक्ष तामाङले जानकारी दिए यसअघि सडक अवरुद्धका कारण लिमीका स्थानीय बासिन्दा गाउँपालिका केन्द्र र सदरमुकाम सिमकोट आउनुपरे हिल्साहुँदै पैदल मार्गबाट आउनुपथ्र्याे ।
उनले सडक सञ्चालन भएसंगै अब लिमी आउजाउ र सामान ढुवानी गर्न सहज भएको बताए । अध्यक्ष तामाङका अनुसार हेक्पा खोलादेखि पाँच हजार मिटर अग्लो स्थान न्यालुलेक र लिमीको तुम्लिङसम्म सडकको मर्मत र सफाइ गरिएको छ ।
सडक सञ्चालन भएसँगै चिनियाँ सरकारको सहयोगमा गत कात्तिकमै हिल्सामा ढुवानी गरिएको खाद्यान्नसमेत लिमी लैजान सहज भएको छ । त्यसैगरी सडक सञ्चालनमा आएपछि नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने बाटो खुलेको छ ।
स्रोत : गोरखापत्र






