सुर्खेतमा एमालेद्धारा जेष्ठ नागरिक सम्मान

वीरेन्द्रनगर, २ फागुन ।
नेकपा एमाले वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ ले आफ्ना वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ६० वर्ष देखि माथिका ३ सय बढी जेष्ठ नागरिकहरुलाई वडा नं. ५ को कालिका मन्दिर परिसरमा सम्मान गरेको हो ।
सम्मान पाउनेहरुमा १०० वर्ष माथिका ४ जना, ९० वर्ष माथिका १२ जना, ८० वर्ष माथिका ८० जना र अन्य ६० वर्ष माथिका रहेको नेकपा एमाले वडा नं. ५ ले जनाएको छ ।
जेष्ठ नागरिक सम्मान कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्जसमेत रहेका कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेलले जेष्ठ नागरिलाई जहिले पनि नेकपा एमालेले सम्मान गरिरहने राजनितिक संस्कार रहेको दाबी गरे ।
नेता कंडेलले हाल नेकपा एमालेलाई देशका अन्य पार्टीहरु मिलेर एक्लो बनाएर खेदिरहेको तर नेपाली जनताले कहिले पनि एक्लो नबनाउनेमा आफ्नो पार्टी ढुक्क भएको र जनताले अन्य पार्टीहरुलाई आफ्नो मतबाट खेद्ने बिश्वास व्यक्त गरे ।
कार्यक्रमा बोल्दै नेता कंडेलले सुर्खेत जिल्लामा भएका धेरै सरकारी तथा सार्वजनिक जग्गा राजनितिक पार्टीहरु मिलेर दुरुपयोग गरेको तर वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ मा रहेको कालिका मन्दिरको जग्गा संरक्षण गर्न र कालिका मन्दिरलाई धार्मिक मात्र नभएर कर्णालीको एक प्रसिद्ध पर्यटकिय क्षेत्र बनाउन आफ्नो ठाँउबाट प्रतिबद्ध भएर लाग्ने जिकिर गरे ।
सम्मान कार्यक्रमका अध्यक्ष समेत रहेका नेकपा एमाले वडा नं. ५ का अध्यक्ष बासु आर्चायले नेकपा एमालेका तत्कालिन अध्यक्ष प्रथम कम्युनिष्ट पार्टीका जननिर्वाचित प्रधानमन्त्री मनमाेहन अधिकारीले सुरुवात गरेको सामाजिक सुरक्षा (बृद्ध भत्ता) कार्यक्रमको स्मरण गर्दै उनै सम्झनामा आफुहरुले पनि वडा नं.५ का जेष्ठ नागरिकहरुलाई सम्मान गरेको बताए ।
सम्मान कार्यक्रममा आचार्यले भने आफु युवा भएर जेष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको र आगामी दिनहरुमा नेकपा एमालेले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा वीरेन्द्रनगर नगरपालिको उपमेयर समेत रहेका मोहनमाँया ढकाल, नेकपा एमाले प्रदेश सदस्य कृष्ण बहादुर हमाल, जिल्ला अध्यक्ष अमृत वि.सी., जिल्ला कमिटी सचिवासय सदस्य गंगाराम तिमिल्सीना, डम्मर तिवारी, पुर्ण प्रसाद पौडेल, केशर तारामी, नगर कमिटी अध्यक्ष निलकण्ठ खनाल लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।









