गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाइयोस् : विष्णु पौडेल

काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवं पूर्व(अर्थमन्त्री विष्णु पौडेलले आरोप लगाएका छन्। रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे।
विमानस्थलको कामलाई अघि बढाउनका लागि एशियाली विकास बैंक (एडिबी)सँग शीघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाइ नगर्न सचेत गराएका छन ।

‘सेकेन्ड फेजको निर्माणको काम अघि बढाउनका लागि एडिबी ७ अर्ब लगानी गर्न तयार छ। डिजाइनका कामहरू सम्पन्न भएका छन्। अत्याधुनिक टर्मिनल निर्माणको डिजाईनको काम सकिएको छ, उनले भने, यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब नगरोस्।
उपमहासचिव पौडेलले गृहजिल्ला रूपन्देहीलाई देशभरकै नमूना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दाबीसमेत गरे।
उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुटट्याइएको बजेट सरकारले कटौती गरेको भन्दै असन्तुष्टिसमेत जनाए।






