प्रधानमन्त्री देउवाले दिए डा. उपाध्यायलाई विश्व रेकर्डको प्रमाणपत्र

काठमाडौं । गीतकार डा. डी आर उपाध्यायलाई विश्व रेकर्डको प्रमाण पत्र प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक समारोहका बिच प्रधानमन्त्री देउवाले उक्त प्रमाण पत्र प्रदान गरेका हुन् ।
सोही अवसरमा प्रधानमन्त्री देउवाले डा. उपाध्यायको यस कार्यका लागि बधाई तथा शुभकामना समेत दिएका थिए ।
डा. उपाध्यायले गत असार १५ गते मंगलबार एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड प्रमाण पत्र प्राप्त गरेका थिए । ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा एक हजार ५१ शब्दको लेख उनले प्रकाशन गरेका थिए ।
कार्यक्रममा डा. उपाध्यायले नेपालको गौरव बढाउने उद्देश्यका लागि रेकर्ड कायम गरेको बताए । उनले यसअघि गीत सङ्गीत तथा विभिन्न विधामा ५१ विश्व रेकर्ड कायम गरेको समेत जानकारी दिए ।
कार्यक्रममा उक्त सो अवसरमा गिनिज बुकको मिडिया कोर्डिनेरको प्रमाणपत्र हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल, नरेश भट्टराई, राजधानी दैनिकका डब्बु क्षेत्री, मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र राष्ट्र खबरका राज लुइँटेललाई प्रदान गरिएको थियो ।
डा. उपाध्यायका एक दर्जन जति उपन्यास प्रकाशित छन्, भने तीन गीति सङ्ग्रह प्रकाशित छन् । यस्तै उनका २४ एल्बम बाहिर आएका छन् ।






