सम्पादकीय :विकासमा उदासीनता
विकास नागरिकको जीवनस्तर उकास्ने आधार हो । विकासले नागरिकलाई प्रगतिमा लैजान्छ । यही कारण त आज विश्वमा विकास र समृद्धिको लहर छ । आज सबै मुलुकले विकासको नारा दिइरहेका छन् । विकास निर्माणमा नै देशहरुबीच प्रतिस्पर्धा पनि छ । आज विश्वका देशहरु भौतिक विकासको तीव्र आकाँक्षासहित अगाडि बढिरहेका छन् । नेपालजस्ता विकासको गतिमा अगाडि बढिरहेका देशका लागि 
भौतिक पुर्वाधारको विकासमा निकै भोक छ । अर्थात नेपाल पनि विकास र समृद्धिको तीव्र आकाँक्षा लिएर अगाडि बढीरहेको छ । यद्यपी नेपालमा हुने विकास र निर्माणमा सुस्तता भने उस्तै छ । आज पनि वर्षौं अघि थालिएका विकास आयोजनाहरु समयमै सम्पन्न नहुने समस्या छ । दर्जनौं विकास आयोजनाहरु अलपत्र छन् । निर्माण सुरु भएका आयोजनाहरु पनि पूरा हुन सकेका छैनन् । यसले पनि यहाँको विकास
निर्माणको गति देखाएको छ । हाम्रो विकास अवस्थालाई छर्लगं पारेको छ । कर्णालीमा विकास निर्माणको अवस्था पनि सन्तोषजनक छैन । राजनीतिक पहुँच कमजोर भएका कारण यहाँ विकास आयोजना पनि कम पर्दछन् । एक त विकास आयोजनाका लागि बजेट कम पर्ने र बजेट आए पनि त्यसको कार्यान्वयन नहुने समस्याले कर्णालीमा जरा गाढेको छ । आज पनि प्रदेशका विभिन्न जिल्लामा विकास
आयोजनाहरु अलपत्र अवस्थामा छन् । कतिपय विकास आयोजनाहरु शिलान्यास मात्र भएका छन् । कतिपय आयोजनाहरु त वर्षौंदेखि राजनीतिक नारा मात्र बनेका छन् । चुनावी नारा बनाउने र त्यसपछि त्यसको वेवास्ता गर्ने सस्ंकार यहाँ छ । यस्तै आयोजनाहरु मध्ये कर्णालीलाई तराइसँग जोड्ने तेलपानी भुरीगाउँ सडक पनि एक
हो । जो वर्षौंदेखि अलपत्र छ । यो सडक अन्तर्गत भेरी नदीमा निर्माणाधिन पुल अहिले पनि अलपत्र छ । यो पुल निर्माण नहुँदा उक्त सडकमा मोटर गुड्न सकेका छैनन् । यो पुल निर्माण भएमा कर्णाली प्रदेश लुम्बिनी प्रदेशसँग सहज रुपमा जोडिने छ । सुर्खेतबाट तराइँ जाने सबैभन्दा छोटो मार्ग भएकाले पनि यो सडक संचालनमा सरकार गम्भिर बन्नै पर्दछ । यो सडक निर्माणमा हालसम्म करोडौं बजेट खर्च
भइसकेको छ । तर केही काम बाँकी हुँदा सडक संचालनमा भने आउन सकेको छैन । यसकारण पनि यो सडकको स्तरोन्नति र संचालनमा प्रदेश सरकार र संघीय सरकारले चासो दिन्ु पर्दछ । अझ पछिल्लो समय स्थानीयले पनि यो पुलको काम एक महिनाभित्र सुरु गर्न अल्टिमेटम नै दिएका छन् । काम सुरु नभए आन्दोलन गर्ने
स्थानीयको चेतावनी छ । तसर्थ विकासमा हुने यस्तो ढिलासुस्ती र उदासीनता अब अन्त्य हुनै पर्दछ । अनिमात्र यो सडक निर्माणले गति लिनेछ । विकासको स्वाद स्थानीयले मात्र होइन, दुई वटा प्रदेशले संयुक्त रुपमा लिन पाउनेछन् । यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकारको समयमै ध्यान जाओस् ।





