खाद्य तथा उपभोक्ता अधिकार संरक्षणमा सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड

कैलाली, २ असोज ।

नेपालको संविधानले प्रत्याभूत गरेको खाद्य तथा उपभोक्ता अधिकार सुनिश्चित गर्न जिम्मेवार निकाय र आमउपभोक्ता सचेत तथा जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले आज धनगढीमा आयोजना गरेको समन्वय बैठकमा खाद्य तथा उपभोक्ता अधिकार संरक्षणका लागि सरोकार भएका सबै निकायले आपसी समन्वय र सहकार्यका साथ जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिइएको हो ।

बैठकमा खाद्य तथा उपभोक्ता अधिकार संरक्षणसम्बन्धी ऐन, कानुनका प्रावधान, ती कानुनले सिर्जना गरेका दायित्व, उपभोक्ता अधिकार तथा सरोकारवाला निकायको कर्तव्यका विषयमा छलफल भएको थियो । 

त्यस्तै, मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना, नेपाल सरकारको कार्यविभाजन नियमावली, २०८३, सुदूरपश्चिम प्रदेश सरकारको कार्यविभाजन नियमावली, २०८१ तथा स्थानीय तहको कार्यविभाजनसम्बन्धी व्यवस्था र सेवाप्रदायक निकायको दायित्वबारे पनि छलफल गरिएको थियो ।

आयोगका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख सहसचिव प्रकाशदत्त भट्टले संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक र धारा ३६ ले खाद्यसम्बन्धी हकको प्रत्याभूति गरेकाले त्यसको संरक्षण र संवद्र्धनका लागि थप जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए । 

उनले उपभोक्ता संरक्षण ऐन, २०७५, खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर जिल्लामा उपभोक्ता तथा खाद्य अधिकार संरक्षणका लागि अन्य निकायसँगको समन्वयमा काम भइरहेको बताए । उनले नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा रहेका स्थानीय तह थप क्रियाशील भएमा उपभोक्ता अधिकार संरक्षणका सवालमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले सम्बन्धित निकायलाई आफ्नो जिम्मेवारीमा रहेका काम तदारुकताका साथ गर्न आग्रह गर्दै चाडपर्वका बेला बजार अनुगमनलाई थप चुस्त बनाउनुपर्नेमा जोड दिए । 

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव झपिराज ओझा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार पाल सहभागी थिए ।

त्यस्तै, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, उपभोक्ता हित संरक्षण मञ्च नेपाल कैलाली, खाद्य आयात निर्यात प्रमाणीकरण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायत सेवाप्रदायक तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

बैठकले खाद्य तथा उपभोक्ता अधिकार संरक्षण कुनै एक निकायको मात्र जिम्मेवारी नभएकाले सरोकार भएका सबैले मिलेर काम गर्ने निष्कर्ष निकालेको छ । यस्तै, खाद्य तथा उपभोक्ता अधिकारलाई केवल बजार तथा बजार अनुगमनको विषयका रूपमा मात्र नहेरी मानव अधिकार र सार्वजनिक जवाफदेहिताको विषयका रूपमा ग्रहण गर्दै थप क्रियाशील हुनुपर्नेमा जोड दिएको छ ।

त्यसैगरी, सुदूरपश्चिममा औषधि व्यवस्था विभागको कार्यालय नभएको र अन्य निकायसँग त्यससम्बन्धी दक्ष जनशक्ति नभएकाले स्वास्थ्य तथा मेडिकल क्षेत्रको अनुगमनमा समस्या भइरहेकाले यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विषयमा छलफल भएको थियो ।

खाद्य तथा उपभोक्ता अधिकार संरक्षणमा सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड

आलेखः फेरिँदै व्यावसायिक रणनीति, बदलिँदै विश्व रिसव

खाद्य तथा उपभोक्ता अधिकार संरक्षणमा सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान 

Leave a comment

Your email address will not be published. Required fields are marked *