विद्यालयमै खोजिँदै जुम्लाका खेल प्रतिभा

गाेल्डेन बुढा
जुम्ला,२६ भदौ ।
जुम्लामा विद्यालयको मैदानबाटै खेल प्रतिभा खोज्ने अभियान सुरु हुने भएको छ। चन्दननाथ नगरपालिका–४, वडाले विद्यार्थीमा लुकेर रहेका खेल प्रतिभा पहिचान गरी उनीहरूलाई अवसर र प्रशिक्षणसँग जोड्ने उद्देश्यले अन्तरविद्यालय रनिङ शिल्ड प्रतियोगिता–२०८३ आयोजना गर्न लागेको हो।‘विद्यार्थीको क्षमता पहिचान, समृद्ध वडा निर्माणको सुनौलो अभियान’ नारासहित हुने प्रतियोगिता असोज १ देखि ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा करिब ५ सय ५५ विद्यार्थी सहभागी हुनेछन्।चन्दननाथ–४ को आयोजनामा हुने प्रतियोगिताको सह–आयोजक सिद्धिविनायक बाल क्लब र प्राविधिक सहयोगी कर्णाली स्पोर्ट्स क्लब जुम्ला छन्।प्रतियोगितामा प्राथमिक (कक्षा १–५), निम्न माध्यमिक (कक्षा ६–८) र माध्यमिक (कक्षा ९–१२) तहका विद्यार्थीबीच विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापमा प्रतिस्पर्धा गराइनेछ। प्राथमिक तथा निम्न माध्यमिक तहमा १ सय, २ सय, ४ सय र ८ सय मिटर दौड, रिले, लङ जम्प, हाई जम्प, टग अफ वार, स्पुन रेस र स्याक रेस हुनेछन्।कक्षा ६–८ का विद्यार्थीबीच फुटबल र कबड्डी तथा माध्यमिक तहमा ३ किलोमिटर दौड, क्विज, चित्रकला र वक्तृत्वकला प्रतियोगिता हुनेछ। प्रतियोगिताको उद्घाटन समारोहमा मार्चपाससमेत गराइनेछ।प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने २ सय ४५ खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। व्यक्तिगत विधाका विजेताले स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र पाउनेछन्।प्राथमिक तथा निम्न माध्यमिक तहका विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। समग्र वडा रनिङ शिल्डमा प्रथम हुने विद्यालयलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक तहका विजेता विद्यालयलाई ट्रफीसमेत दिइनेछ।कर्णाली स्पोर्ट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले विद्यालय तहबाटै प्रतिभा पहिचान गरी उचित अवसर र प्रशिक्षण दिन सके जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने बताए।‘खेलकुद विद्यार्थीको शारीरिक स्वास्थ्यसँग मात्रै जोडिएको विषय होइन, यसले अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक सोचको विकाससमेत गर्छ,’ उनले भने, ‘विद्यालय तहमा हुने यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्छ।’प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न क्लबले प्राविधिक सहयोग गर्ने उनले बताए। विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रतियोगितामा उत्साहपूर्वक सहभागी हुन उनले आग्रह गरेका छन्।धावक हरि रोकायले पनि विद्यालय तहबाटै खेलाडीको क्षमता पहिचान गर्न सके भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने बताए।
प्रतियोगितालाई जित र हारमा मात्रै सीमित नराखी प्रतिभा पहिचान र खेलाडी उत्पादनको अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ।‘विद्यार्थीलाई खेलकुदसँग जोड्न सके उनीहरूलाई विभिन्न कुलतबाट समेत टाढा राख्न सकिन्छ,’ उनले भने, ‘खेलकुदले विद्यार्थीमा अनुशासन र सकारात्मक सोच विकास गर्नुका साथै स्वस्थ जीवनशैली निर्माणमा सहयोग पुर्याउँछ।’सिद्धिविनायक बाल क्लबकी अध्यक्ष पुस्तिका देवकोटाले विद्यार्थीको क्षमता पहिचान र समृद्ध वडा निर्माणको अभियानलाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना गरिएको बताइन्। असोज १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा इच्छुक विद्यार्थीलाई सहभागी हुन उनले आग्रह गरिन्।आयोजकले प्रतियोगिताबाट विद्यालय तहमा लुकेका खेल प्रतिभा पहिचान हुने र विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना, अनुशासन, नेतृत्व क्षमता तथा खेलप्रतिको रुचि विकास हुने अपेक्षा गरेको छ।






