बाँकेमा कुष्ठरोगको जोखिम घटेन, हरेक वर्ष बढ्दै नयाँ बिरामी

बाँके, २६ भदौ ।
बाँकेमा कुष्ठरोगको जोखिम घट्नुको सट्टा नयाँ बिरामी फेला पर्ने क्रम वर्षेनी बढ्दै गएको छ। जिल्लामा कुष्ठरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि नयाँ बिरामीको संख्या घट्न नसकेको हो।
गत आर्थिक वर्ष २०८२/८३ मा जानकी गाउँपालिका–३ मानपुरस्थित साइनिङ अस्पतालमा १९३ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्। अस्पतालका प्रमुख मङ्गल थारुका अनुसार पहिचान भएका बिरामीमध्ये ८१ जना बाँकेका छन्। पहिचान भएका कुल बिरामीमध्ये ६२ प्रतिशतमा कुष्ठरोगका कीटाणु पत्ता लागेको उहाँले बताउनुभयो।
बाँके र बर्दियासहित विभिन्न पहाडी जिल्लाबाट स्वास्थ्य परीक्षणका लागि साइनिङ अस्पताल पुगेका बिरामीमा समेत कुष्ठरोग देखिएको उहाँले बताउनुभयो।
‘बाँकेमा कुष्ठरोगको प्रकोप दर घटेको छैन। हरेक वर्ष नयाँ बिरामी फेला पर्ने क्रम बढ्दै गएको छ,’ थारुले भन्नुभयो, ‘लुम्बिनी प्रदेशमै बाँके उच्च जोखिममा रहेको जिल्ला हो।’
अस्पतालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १७४ जना र २०८०/८१ मा १४६ जना नयाँ कुष्ठरोगी पहिचान भएका थिए। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा नयाँ बिरामीको संख्या निरन्तर बढिरहेको देखिन्छ।
साइनिङ अस्पतालले कुष्ठरोगका नयाँ बिरामी पहिचान गर्नुका साथै अपाङ्गता रोकथाम तथा उपचार, सम्पर्क परीक्षण, समुदायस्तरीय पहिचान शिविर, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क उपचार सेवा सञ्चालन गर्दै आएको छ।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले कुष्ठरोगीमाथि हुने सामाजिक लाञ्छना र विभेद अझै पूर्णरूपमा अन्त्य हुन नसकेको बताउनुभयो। कुष्ठरोगप्रतिको गलत धारणा र सामाजिक विभेदका कारण कतिपय बिरामीले समयमै स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन नसक्ने अवस्था रहेको उहाँले जनाउनुभयो।
नयाँ बिरामीको खोजी, समयमै पहिचान र जनचेतना अभिवृद्धिका लागि सरकारले थप प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्ने पौडेलको भनाइ छ।
स्वास्थ्यकर्मीका अनुसार सरकारले सञ्चालन गर्दै आएको कुष्ठरोग निवारणसम्बन्धी नीति तथा कार्यक्रम अपेक्षाकृत प्रभावकारी हुन नसक्दा सरकारी स्वास्थ्य संस्थाले समेत नयाँ बिरामी पहिचान तथा उपचारका लागि साइनिङ अस्पताल र आईएनएफ नेपालजस्ता संस्थाको सहयोग लिनुपर्ने अवस्था रहेको छ।
कुष्ठरोग समयमै पहिचान गरी नियमित उपचार गरे निको हुने भए पनि रोग लुकाउने, उपचारमा ढिलाइ गर्ने तथा समाजमा हुने लाञ्छना र विभेदका कारण समस्या अझै कायम रहेको स्वास्थ्यकर्मीको भनाइ छ। त्यसैले समुदायस्तरमै सक्रिय खोजी, नियमित परीक्षण र जनचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

बाँकेमा कुष्ठरोगको जोखिम घटेन, हरेक वर्ष बढ्दै नयाँ बिरामी

लुम्बिनी प्रदेशका प्रमुख सचिव काप्रीको बिदाइ, प्रशासनिक

बाँकेमा कुष्ठरोगको जोखिम घटेन, हरेक वर्ष बढ्दै नयाँ बिरामी

विद्यालयमै खोजिँदै जुम्लाका खेल प्रतिभा

Leave a comment

Your email address will not be published. Required fields are marked *