बाढीमा सम्पर्कविहीन जोशी दम्पतीका सन्तानलाई भारतको समाजसेवी परिवारको सहयोग

बाँके, २६ भदौ ।
रसुवा–भोटेकोसी नदीमा आएको बाढीपहिरोमा परी सम्पर्कविहीन भएका बाँकेको कोहलपुरका एक दम्पतीका तीन सन्तानलाई भारतको उत्तर प्रदेशस्थित एक समाजसेवी परिवारले आर्थिक सहयोग गरेको छ।
कोहलपुर नगरपालिका–१२ का वीरेन्द्र जोशी र उहाँकी श्रीमती सत्या जोशी गत भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुहुन्छ। रसुवागढी नाकामा पार्किङ व्यवस्थापनको काम गर्दै आउनुभएका जोशी दम्पती बाढीपहिरोमा परेपछि सम्पर्कविहीन हुनुभएको हो।
अभिभावक नै सम्पर्कविहीन भएपछि तीन सन्तानको पालनपोषण तथा शिक्षामा समस्या देखिएपछि भारतको उत्तर प्रदेश, लखिमपुर खिरीस्थित गोला गोकर्णनाथका समाजसेवी केशवराम अग्रवाल परिवार सहयोगका लागि अघि आएको हो।
अग्रवाल परिवारले जोशी परिवारलाई भारतीय एक लाख रुपैयाँ सहयोग गरेको छ। नेपाली रुपैयाँमा करिब एक लाख ६० हजार बराबर हुने उक्त रकममध्ये तत्काल एक लाख रुपैयाँ नगद हस्तान्तरण गरिएको छ भने बाँकी रकम आवश्यक सामग्री खरिद तथा बालबालिकाको शिक्षामा सहयोग गर्ने तयारी गरिएको छ।
अग्रवाल परिवारले आफ्ना छोराहरू मधुर र अमित अग्रवालमार्फत नेपालगन्जका वरिष्ठ सुनचाँदी व्यवसायी सकिल अहमद जसगढसँग समन्वय गरी सहयोग रकम पठाएको हो। जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको रोहबरमा श्री नेपाल ज्वेलर्सका सञ्चालक जसगढले जोशी परिवारलाई एक लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो।
जोशी दम्पतीका जेठा छोरा सन्तोष मामासहित जिल्ला प्रशासन कार्यालय पुगेर सहयोग रकम बुझ्नुभएको थियो। परिवारलाई तत्काल नगद आवश्यक देखिएकाले पहिलो चरणमा एक लाख रुपैयाँ हस्तान्तरण गरिएको जसगढले बताउनुभयो।
‘परिवारलाई तत्काल आवश्यक परेकाले एक लाख रुपैयाँ नगद हस्तान्तरण गरिएको हो,’ जसगढले भन्नुभयो, ‘बाँकी ६० हजार रुपैयाँ बराबरको सहयोग आवश्यक सामग्री खरिदमा खर्च गरिनेछ।’
जोशी दम्पतीका तीन सन्तानमध्ये जेठा सन्तोषले प्लस टु अध्ययन पूरा गर्नुभएको छ। छोरी सुनीता स्वास्थ्य विज्ञानमा उच्च शिक्षा अध्ययनको तयारीमा हुनुहुन्छ भने कान्छा छोरा सुनील कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ।
अभिभावक नै सम्पर्कविहीन भएपछि दुई साना सन्तानको पढाइ निरन्तरता दिनसमेत समस्या हुने देखिएको छ। उनीहरूको शिक्षामा समेत सहयोग पु¥याउने विषयमा अग्रवाल परिवारसँग समन्वय भइरहेको जसगढले बताउनुभयो।
‘साना दुई बालबालिकाको अध्ययन खर्चमा समेत सहयोग गर्न सकिने गरी दातासँग समन्वय भइरहेको छ,’ उहाँले भन्नुभयो।
जडीबुटी कारोबारमा संलग्न अग्रवाल परिवारले विपद्मा परेका परिवारलाई सहयोग गर्न इच्छुक अन्य परिवारसँग समेत समन्वय गरी मानवीय सेवामा सहकार्य गर्ने इच्छा व्यक्त गरेको जसगढले बताउनुभयो।
सहयोगकर्ता जसगढले यसअघि पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख ११ हजार रुपैयाँ सहयोग गरिसक्नुभएको जानकारी दिनुभयो।






