मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार ठकुरीद्वारा पदभार ग्रहण

सुर्खेत ,१९ भदौ।
मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार सह–प्रा. डा. सुदीप ठकुरीले पदभार ग्रहण गर्नुभएको छ। भदौ १८ गते विश्वविद्यालयमा आयोजित स्वागत तथा पदभार ग्रहण कार्यक्रममा उहाँलाई औपचारिक रूपमा स्वागत गरिएको हो।

सोही अवसरमा निवर्तमान रजिष्ट्रार सह–प्रा. डा. अर्जुनबहादुर अयडीलाई सम्मानसहित विदाइ गरिएको छ। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति तथा कार्यक्रमका अध्यक्ष सह–प्रा. ई. डा. राजन सुवालले नवनियुक्त रजिष्ट्रार ठकुरीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले निवर्तमान रजिष्ट्रार अयडीलाई मायाको चिनो र कदरपत्रसहित सम्मान गर्नुभएको थियो।
पदभार ग्रहण गर्दै नवनियुक्त रजिष्ट्रार ठकुरीले आफूलाई जिम्मेवारी प्रदान गर्ने सम्बन्धित सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विगतमा मध्यपश्चिम विश्वविद्यालयमै कार्यरत रहँदाको अनुभव स्मरण गर्दै आगामी दिनमा विश्वविद्यालयको विकास र उन्नतिका लागि थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
ठकुरीले विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालालाई आपसी सहयोग र समन्वयको भावनाका साथ विश्वविद्यालयको हितलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गर्नुभयो।
कार्यक्रममा ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एन्ड सोसल साइन्सेजका डिन सह–प्रा. डा. आनन्दप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन प्रशासन अधिकृत शैलेन्द्र पाठकले गर्नुभएको थियो।
स्वागत, पदभार ग्रहण तथा सम्मान–विदाइ कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।






