भोटेकोसीको विनासकारी बाढी हाइड्रोको सुरुङभित्र पुग्नै सकेन सरकार

ओम शाही
सुर्खेत ,१४ भदौ।
बुधबार (१० भदौ) बिहान भोटेकोसी र त्रिशूली नदी आसपासका बस्तीमा सधैँझैँ चहलपहल थियो । गृहणी खाना पकाउँदै थिए, विद्यार्थी विद्यालय पुग्दै थिए, कर्मचारी कार्यालय जाँदै थिए । निर्माण र जलविद्युत् आयोजनामा काम गर्ने मजदुर पनि आ–आफ्नो काममा जुटिसकेका थिए । रोजगारीका लागि घरबाट टाढा पुगेकाहरू दसैँमा घर फर्कने योजनासहित काम गरिरहेका थिए ।
पर्यटक र तीर्थयात्री गोसाइँकुण्ड तथा मानसरोवरतर्फ लाग्दै थिए । काम विशेषले घरबाट हतारहतार हिँडेकाहरु पनि बाटोमै थिए । बिडम्बना, केही घण्टामै भोटेकोसीको भीषण बाढीले सबै दृश्य बदलिदियो । बाढीले रसुवा, नुवाकोट र धादिङका नदी किनारका बस्ती, बजार, सडक तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्यायो । हजारौ नागरिक सम्पर्कविहीन भए । अहिले उनीहरूका परिवार एउटै खबरको प्रतीक्षामा छन्न्—आफन्त जीवित छन् कि छैनन् ?
भोटेकोसीको भीषण बाढीले हजारौँको ज्यान मात्र लिएन, जीवित बचेका, छुटेका केहीको जीवन निकै कष्टकर बनेको छ । खासगरी रसुवा, नुवाकोट र धादिङको भोटेकोसी र त्रिशूली नदी बेसिनका फाटहरुका बस्ती, शहर र बजार भोटेकोसीको महाविपत्तीले खण्डहर बनेका छन् । ऊर्जा विकासको हव मानिने रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनामा कार्यरत कर्मचारी र मजदुरहरु सम्पर्कविहीन छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीपछि रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन ११ जलविद्युत् आयोजनामा कार्यरत आठ सय ९८ कर्मचारी तथा मजदुरको अवस्था अज्ञात छ । सम्पर्कविहीनमध्ये कतिपय सुरुङभित्र फसेका छन् । उद्धारमा नेपाली सेना परिचालन भए पनि बाढीले थुनिएका सुरुङसम्म पुग्न आवश्यक प्रविधि र जनशक्ति पर्याप्त नहुँदा उद्धार चुनौतीपूर्ण बनेको छ ।श्रीमान्को बोली सुन्न आतुर छन् हृदयश्वरी
बझाङको जयपृथ्वी नगरपालिका–८ स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका–१० बस्दै आएकी हृदयश्वरी जोशी चार दिनदेखि श्रीमान्को खबर आउने प्रतीक्षामा छिन् । उनका श्रीमान् हेमन्तराज जोशी निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत् आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए ।

बाढी आएपछि उनी सुरुङ क्षेत्रमा फसेको र त्यसपछि सम्पर्कमा नआएको परिवारले जनाएको छ । तीन वर्षीय छोरा र पाँच वर्षीया छोरीसहित हृदयश्वरी अहिले श्रीमान् सकुशल फर्कने आशामा छिन् । घटना घट्नुपूर्व हृदयश्वरीसँग हेमन्तले चाँडै घर आउने भनेका थिए । फोनमा हेमन्तले हृदयश्वरीलाई म ठीक छु, अहिले आराम गर्छु भनेका थिए । तर, त्यसको केही समयमै हेमन्त सम्पर्कविहीन भएको समाचार आएपछि उनी बेचैन भइरहेकी छन् ।
‘चार दिन भइसक्दा पनि हाइड्रोको सुरुङमा फसेकाहरूको अवस्था अज्ञात छ । हामीले चार दिनसम्म धैर्य गर्यौँ । उहाँहरूको कुरा पत्यायौँ, अझै पनि पत्याएका छौँ । तर, अब हामीमा सहन सक्ने अवस्था छैन,’ उनले भनिन् । उनले आफूहरूको सरकारप्रतिको विश्वास कायमै रहेको बताउँदै सुरुङमा फसेकाहरूको तत्काल उद्धार गर्न आग्रह गरिन् ।
‘म मात्रै होइन, म जस्ता पीडामा परेका अरू परिवार पनि छन् । सबैका आफन्त छन्, सबैका घरमा मानिसहरू पर्खिरहेका छन् । उनीहरूलाई राज्यले तत्काल सुरुङबाट निकालोस्,’ उनले भनिन् । उनीसँग अब एउटा अन्तिम इच्छा छ, सुरुङमा थुनिएका श्रीमान्को राज्यले तत्काल गरिदेओस् । उद्धारमा भएको ढिलाईले आफ्नो परिवार नउजाडियोस् ।
छोराको उद्दार पर्खिरहेका बुवा
हाइड्रोपावरको सुरुङमा छेकिएका जाजरकोटको शिवालय गाउँपालिकाका ३० वर्षीय मेहन्द्र शाही सकुशल फर्कने आशामा बाढी प्रभावित क्षेत्रमा पुगेका छन्, उनका बुवा शेरबहादुर शाही ।
शिवालय गाउँपालिकाका अध्यक्षसमेत रहेका शाही छोरा बाढीमा फसेको खबर सुने लगत्तै त्रशूली पुगेका थिए । महेन्द्र त्रिशूली–३ ए जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत थिए ।

छोरा सुरुङमा फसेको खबर पाएको चार दिनसम्म पनि पनि छोराको अवस्था उनलाई थाहा छैन । ‘छोरा कहाँ छ, कस्तो अवस्थामा छ भन्ने थाहा छैन । उद्धार हुन्छ कि भन्ने आशामा बसेका छौँ,’ उनले भने ।
स्थानीय सरकारका प्रमुख भएर विपद्मा फसेका नागरिकको उद्धारमा भूमिका खेल्नुपर्ने शाही अहिले आफ्नै छोराको उद्धारको प्रतीक्षामा छन् । सुरुङबाहिर बसेर उद्धार टोलीको खबर पर्खनुबाहेक उनीसँग अर्को विकल्प छैन । शाहीका लागि अहिले समय घडीले होइन, उद्धार टोलीबाट आउने खबरले चलिरहेको छ । बाढीपछि परिवारले न निद्रा पाएको छ, न निश्चित जवाफ । छोरा कहाँ छन्, जीवित छन् कि छैनन्, उद्धारकर्मी उनीसम्म पुग्न सके कि सकेनन्—यी कुनै प्रश्नको उत्तरसँग शाही अपरचित छन् । शाहीका लागि पछिल्ला हरेक क्षण अनिश्चितताका बीच घर्किरहेका छन् ।
कहाँ कति सम्पर्कविहीन ?
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अनुसार बाढीले सञ्चालनमा रहेका र निर्माणधिन ११ जलविद्युत आयोजनामा कार्यतर आठ सय ९८ कर्मचारी र मुजदुरहरुको अवस्था अज्ञात छ । रसुवा र नुवाकोटमा बाढीका कारण जलविद्युत आयोजनामा ठुलो क्षतिसमेत भएको छ ।
इप्पानको तथ्यांक अनुसार निर्माणाधीन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्क विहीन छन् । जसमध्ये आधा नेपाली र आधा विदेशी छन् । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जनाको अवस्था अझै अज्ञात छ ।
यी मध्ये आयोजनामा कार्यरत आठ जना कोरियन नागरिक छन् । आयोजनाको परामर्शदाता जेड कन्सर्ल्ट र लामा जेभियर्स जेभीका सात जना पनि सम्पर्क विहीन भएको जनाइएको छ । साथै, आयोजनामा कार्यरत १२ जना हेडवर्क्स क्षेत्रमा र दुई जनाभन्दा बढी विद्युतगृह (पावर हाउस) क्षेत्रमा उद्दारको पर्खाइमा रहेको जनाइएको छ ।
त्यस्तै, रसुवागढी एक सय ११ मेगावाट आयोजनामा कार्यरत ५१ जना सम्पर्क विहीन छन् । पाँच मेगावाटको मैलुङ खोला आयोजनाको विद्युतगृहमा कार्यरत आठ जना कर्मचारी हालसम्म सम्पर्कमा आएका छैनन् । उनीहरुसँग बुधबारदेखि नै सम्पर्क हुन नसकेको जनाइएको छ ।
त्यस्तै, एक सय २० मेगावाटको रसुवा भोटेकोसीमा सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका दुई जना हराइरहेका छन् । २० मेगावटको लाङटाङ खोला जलविद्युत आयोजनामा बुधबार सुरुङमा थुनिएर सम्पर्क विहीन भएका ४२ जना कर्मचारी र मजुदरसँग सम्पर्क स्थापित हुन नसकेको इप्पानले जनाएको छ ।
उदरमा अझै चुनौती
शुक्रबारदेखि नेपाली सेनाले जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार सुरु गरेको छ । हेलिकप्टरमार्फत केही व्यक्तिको उद्धार गरिएको छ । तर, बाढीले माटो, ढुंगा र पानीले थुनिएका सुरुङभित्र रहेकाहरूको उद्धार अझै हुन सकेको छैन । सुरुङ खोल्न आवश्यक प्रविधि र दक्ष जनशक्ति अभावले उद्धारमा कठिनाइ भएको छ ।
समयमै सुरुङ खोलेर भित्र रहेका व्यक्तिसम्म पुग्न सके जीवित उद्धारको सम्भावना रहने भएकाले परिवारहरूले उद्धारमा ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन् । २० मेगावटको लाङटाङ खोला जलविद्युत आयोजनाका प्रतिनिधि विजय भट्टराईले तत्काल उद्धार गर्न सकिने सुरुङमा समेत सरकारले उद्धार कार्य अघि बढाउन चासो नदिएको बताए ।
सुरुङमा मात्रै होइन सुरुङ बाहिर अलपत्र परेकाहरुको हेलिकप्टरबाट उद्धार गर्न राज्यले चासो नदिएको उनको दावी छ । उनले भने, ‘लाङटाङको सुरुङ अन्यको जस्तो ठुलो छैन । एक दुई सय लामो टनेलमा अक्सिजन पर्याप्त हुन्छ । यस्ता खालका सुरुङ बाढी वा अन्य कारणले थुनिएको खण्डमा मान्छे तीन/चार दिनसम्म पनि बाँच सक्छ । हामीले उद्धारका लागि अनुरोध गरेका गर्यै छौं । खै किन हो सरकारले गम्भीर रुपमा लिएको छैन ।’
उनले बाढीका कारण थुनिएका सबै सुरुङ तत्काल खोल्न सकेको अवस्थामा अझै पनि फसेका व्यक्तिहरुलाई जिवितै बाहिर निकाल्न सकिने ठुलो सम्भावना रहेको दावी गरे । बाढी आएको चार दिन बितिसक्दा पनि सयौँ नागरिकको अवस्था यकिन हुन नसक्दा नदी किनारमा उद्धारको प्रतीक्षा मात्र छैन, सुरुङबाहिर आफन्तको आँसु र बेचैनी पनि बढिरहेको छ ।
कर्णालीका एक सय ९७ को अवस्था अज्ञात
रसुवाको भोटेकोसीको विनासकारी बाढीपछि सम्पर्कविहिन भएका कर्णालीका ७० जना सम्पर्कमा आएका छन् । बुधबार आएको बाढीपछि परिवारको सम्पर्कमा नरहेका दुई सय ६७ मध्ये शनिबार साँझसम्म ७० जना सम्पर्कमा आएका हुन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढी पश्चात एक सय ९७ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । परिवार तथा आफन्तहरूको सम्पर्कमा नरहेकाहरू अधिकांश रसुवा र नुवाकोट जिल्लामा जलविद्युत् आयोजनामा कार्यरत मजदुर छन् ।
प्रहरीको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार बाढीपश्चात् सम्पर्कविहीन हुनेहरू जुम्लाका धेरै छन् । जुम्लाबाट ८२ पुरुष हालसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । त्यस्तै, सुर्खेतका १६ पुरुष र एक महिला गरी १७ जना परिवारको सम्पर्कमा छैनन् । जाजरकोका दुई पुरुष र एक महिला गरी तीन, सल्यानका ४१ पुरुष, ११ महिला दुई बालक र एक बालिका गरी ५५ जनाको अवस्था अज्ञात छ ।
त्यस्तै, रुकुम पश्चिमका चार पुरुष, चार महिला र एक बालक गरी नौ, हुम्लाका चार पुरुष, दुई महलिा र एक बालक गरी सात, डोल्पाका एक पुरुष, एक महिला गरी दुई, मुगुका ६ पुरुष, चार महिला र एक बाल गरी ११ र कालीकोटका तीन पुरुष, दुई महिला र एक बालक गरी ६ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । परिवारको सम्पर्कमा नरहेकाहरुको अवस्था पत्ता लगाउन प्रहरीले आवश्यक समन्वय गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए ।






