स्याउ टिपाइमा जुम्लाको नयाँ सुरुवात

गाेल्डेन बुढा
जुम्ला,१३ भदौ।
जुम्लामा स्याउ टिप्ने समयलाई लिएर यसपटक नयाँ अभ्यास सुरु भएको छ। काँचै स्याउ टिपेर बजार पठाउने पुरानो प्रवृत्तिलाई रोक्दै परिपक्व स्याउ मात्रै बजारमा पठाउने उद्देश्यले जिल्लामै पहिलोपटक स्याउ टिपाइ महोत्सव आयोजना गरिएको हो।तातोपानी गाउँपालिका–६ गैरा भवानीस्थित सामूहिक स्याउ बगैँचाबाट यस वर्षको औपचारिक टिपाइ अभियान सुरु गरिएको छ। तातोपानी गाउँपालिका, कृषि विकास कार्यालय जुम्ला र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको संयुक्त आयोजनामा भएको महोत्सवले स्याउको उत्पादनभन्दा पनि गुणस्तर, उचित मूल्य र बजारको भरोसालाई मुख्य विषय बनाएको छ।गैरा भवानीमा ५२ किसानका ६ हजार पाँच सय स्याउका बोट छन्। सात हेक्टर एक सय ४० रोपनी क्षेत्रफलमा फैलिएको बगैँचाबाट यस वर्ष करिब ३४ देखि ३५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ। यसको बिक्रीबाट ३० लाख ६० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको छ।महोत्सवमै किसान र बजारीकरण गर्ने संस्थाबीच बगैँचामै प्रतिकिलो ९० रुपैयाँमा स्याउ खरिद गर्ने सम्झौता भएको छ। उत्पादित स्याउको बिक्री तथा बजारीकरणका लागि चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरिएको हो।विगतमा जुम्ली स्याउ बजारमा पुर्याउन किसानले हतार गर्ने गरेका थिए।

बजारको माग, मूल्यको आशा र सडकबाट हुने ढुवानीको अनिश्चितताबीच काँचै स्याउ टिपेर पठाउँदा जुम्ली स्याउको गुणस्तरमाथि प्रश्न उठ्दै आएको थियो। किसानले पनि उचित मूल्य पाउन सकेका थिएनन्।यसपटक भने त्यही प्रवृत्ति बदल्ने प्रयास गरिएको छ।कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार भदौको पहिलो सातापछि टिपिएको स्याउमा रस, गुलियोपन र रंग राम्रोसँग विकास हुन्छ। परिपक्व स्याउ लामो समय टिक्ने, स्वादिलो हुने र बजारमा राम्रो मूल्य पाउने भएकाले किसानलाई हतारमा स्याउ नटिप्न आग्रह गरिएको उनले बताए।उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा लगाइएका स्याउका जात टिप्न योग्य अवस्थामा पुगेका छन्। महोत्सवपछि स्थानीय तहअनुसार स्याउ टिपेर बाह्य बजार पठाउने क्रम बढ्नेछ।किसान लक्ष्मीचन्द्र विष्टले यस वर्ष ढिलो गरी स्याउ टिप्न थालेपछि उत्पादनको आकार र तौल बढेको अनुभव सुनाए।विगतमा छवटा स्याउले एक किलो पुग्ने गरेकोमा अहिले चारवटा स्याउले नै एक किलो पुग्ने गरेको उनले बताए। विगतमा प्रतिकेजी ६० रुपैयाँ दिन्थ्याैँ,उनले भने,भदौको दोस्रो सातातिर टिपिएको स्याउ पोटिलो, रसिलो र स्वादिलो हुने उनको अनुभव छ।‘काँचै स्याउ टिपेर बेच्दा किसानले पनि राम्रो मूल्य पाएनन्, बजारमा पनि जुम्ली स्याउको गुणस्तरमाथि प्रश्न उठ्यो,’ विष्टले भने, ‘यसपटक बगैँचामै मूल्य तय गरेर परिपक्व स्याउ बिक्री गर्न पाउँदा खुसी छौँ।’महोत्सवमा सहभागीले किसानका बगैँचामै पुगेर स्याउ टिपे। प्रत्येक सहभागीले दुई किलोका दरले स्याउ टिपेर उपहारका रूपमा लगे। उनीहरूले बगैँचामै न्यूनतम प्रतिकिलो एक सय रुपैयाँका दरले स्याउ खरिदसमेत गरे।स्याउ टिप्दा बगैँचामा हुने क्षतिको रकम कृषि विकास कार्यालयले सम्बन्धित किसानलाई उपलब्ध गराउने जनाएको छ।महोत्सव उद्घाटन गर्दै पूर्ववन तथा वातावरणमन्त्री माधव चौलागाईंले जुम्ली स्याउको मौलिक पहिचान जोगाउनुपर्ने बताए। स्याउ जुम्लाको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको उल्लेख गर्दै उनले उत्पादनसँगै बजारीकरण, सडक तथा अन्य पूर्वाधार सुधारमा ध्यान दिनुपर्ने बताए।जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले स्याउलाई जुम्लाको पहिचानसँगै आम्दानीको प्रमुख स्रोत बनाउन उत्पादन वृद्धि, गुणस्तर र बजार विस्तारमा ध्यान दिनुपर्ने बताए।

आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन र गुणस्तर दुवै बढाउन सकिने उनको भनाइ थियो।प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जुम्ली स्याउको पहिचान कायम राख्दै सुरक्षित ढुवानी र व्यवस्थित बजारीकरण गर्न सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए।जिल्ला प्रहरी प्रमुख चिरञ्जीवी दाहालले कृषि उपजको सुरक्षित ढुवानी र बजारसम्म सहज पहुँचका लागि सुरक्षा तथा यातायात व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।बुधबार सिँजा गाउँपालिकामा पनि स्याउ दिवस मनाइएको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार सिँजाका किसानलाई स्याउ टिपेर बिक्री गर्न खुला गरिएको छ।कार्यक्रममा किसानका समस्या, बगैँचा सुधार, समाधानका उपाय र आगामी दिनमा स्याउ खेती प्रवर्द्धन गर्ने विषयमा छलफल गरिएको थियो।कृषि विकास कार्यालयका अनुसार जुम्लामा चार हजार ६ सय चार दशमलव ५३ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। जिल्लाका करिब १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीसँग स्याउ बगैँचा छन्।





