मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको स्थलगत निरीक्षण

कैलाली, १ भदौ ।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् । मुख्यमन्त्री भट्टले प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, डायलायसिस सेवा, सघन उपचार कक्ष (आइसीयू) लगायत विभिन्न वार्डको स्थलगत निरीक्षण गरेका हुन ।
निरीक्षणका क्रममा उनले अस्पतालको समग्र सुधारका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए । प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने उनले बताए । यहाँको स्वास्थ्य सेवाको प्रमुख भरोसाको केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको अवस्था अपेक्षाअनुसार नरहेको मुख्यमन्त्री भट्टको भनाइ थियो ।
उनले अस्पताल सुधारका लागि प्रदेश सरकार, अस्पताल प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री भट्टले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलाई एक साताभित्र अस्पताल सुधारको स्पष्ट कार्ययोजना पेस गर्न निर्देशन दिए । उनले तत्काल गर्नुपर्ने सुधार, आवश्यक पूर्वाधार, उपकरण, जनशक्ति तथा बजेटको आवश्यकतासहितको योजना तयार पार्न निर्देशन दिए ।
निरीक्षणमा क्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव डा नीरज अर्याल, आयुर्वेद महाशाखा प्रमुख डा चेतराज जोशीलगायतको सहभागिता थियो ।






