बर्दियामा चार महिनामा नदीजन्य घटनामा डुबेर १० जनाको मृत्यु, एक बेपत्ता

बर्दिया,१ भदौ ।

बर्दियामा गत वैशाखयता नदी, खोला, नहर तथा पोखरीमा डुबेर १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। नदी–खोलामा नुहाउने, माछा मार्ने, दाउरा संकलन गर्ने तथा पशु चराउने क्रममा डुबेर मानवीय क्षति हुने गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहोराका अनुसार पछिल्लो समय नदीजन्य क्षेत्रमा सावधानी नअपनाउँदा डुबेर मृत्यु तथा बेपत्ता हुने घटना बढिरहेका छन्।
साउन १० गते राजापुर नगरपालिका–५ स्थित मैलाखोलामा पौडी खेल्ने क्रममा १४ वर्षीय पुजन परियारको मृत्यु भएको थियो। त्यस्तै, साउन १९ गते बढैयाताल गाउँपालिका–२ का ३५ वर्षीय गोपाल सुनारको मैलाखोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
साउन २५ गते गेरुवा गाउँपालिका–३ की ७६ वर्षीया जगमति थारु कर्णाली नदीमा डुबेर बेपत्ता भएकी थिइन्। उनको शव दुई दिनपछि फेला परेको थियो।
यसअघि असार २६ गते बासगढी नगरपालिका–३ का ११ वर्षीय उत्तम थारुको घरनजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो।
त्यस्तै, असार २४ गते गेरुवा गाउँपालिका–४ का २४ वर्षीय प्रदीप थारु कर्णाली नदी नजिक भैंसी चराउन गएको र भैंसी फर्काउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए। उनको खोजी जारी राखिए पनि हालसम्म फेला पार्न नसकिएको डिएसपी बोहोराले बताए।
प्रहरीका अनुसार नदी, खोला, नहर तथा पोखरीमा जाँदा आवश्यक सुरक्षा सावधानी नअपनाउनु नै यस्ता दुर्घटनाको प्रमुख कारण देखिएको छ। पानीको बहाव तीव्र भएका बेला नदीमा पस्ने, पौडी खेल्ने तथा जोखिमपूर्ण स्थानमा माछा मार्ने र दाउरा संकलन गर्ने गर्दा दुर्घटनाको जोखिम झन् बढ्ने गरेको प्रहरीको भनाइ छ।
निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले खोलानाला तथा नदीमा नुहाउन, दाउरा संकलन गर्न वा अन्य कामका लागि जाँदा सुरक्षाका आधारभूत मापदण्ड पालना गर्नुपर्ने बताए। विपद् व्यवस्थापन समितिले डुबान तथा डुबेर हुने दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि यस्ता घटना पूर्णरूपमा रोक्न नसकिएको उनले बताए।
“घटना हुनासाथ सुरक्षाका सबै निकायलाई उद्धारका लागि परिचालन गर्ने गरिएको छ,” उनले भने, “तर यस्ता घटनाबाट हुने मानवीय क्षति रोक्न नागरिक स्वयंले पनि जोखिमयुक्त स्थानमा सावधानी अपनाउन आवश्यक छ।”
भण्डारीले डुबेका तथा बेपत्ता व्यक्तिको खोज तथा उद्धारका लागि पर्याप्त दक्ष जनशक्ति, उद्धार उपकरण र आवश्यक सामग्रीको समेत आवश्यकता रहेको बताए। नदी तथा खोलामा पानीको बहाव बढ्ने समयमा विशेष सतर्कता अपनाउन र जोखिमयुक्त स्थानमा नजान उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।

बर्दियामा चार महिनामा नदीजन्य घटनामा डुबेर १० जनाको मृत्यु, एक बेपत्ता

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

बर्दियामा चार महिनामा नदीजन्य घटनामा डुबेर १० जनाको मृत्यु, एक बेपत्ता

ओभरीस्थित सर्पदंश उपचार केन्द्रमा एक वर्षमा १२४

Leave a comment

Your email address will not be published. Required fields are marked *