बर्दियाका सामुदायिक वन समृद्धिको आधार बन्दै  दिगो वन व्यवस्थापनबाट करोडौं आम्दानी 

बर्दिया, १९ साउन ।

सामुदायिक वनमा लागू गरिएको सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन बर्दियामा प्रभावकारी बन्दै गएको छ । वन संरक्षणलाई प्राथमिकतामा राख्दै वैज्ञानिक वन व्यवस्थापन अघि बढाइएपछि काठ उत्पादन, स्थानीय रोजगारी सिर्जना, सामुदायिक आम्दानी वृद्धि, सरकारी राजस्व संकलन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत उत्साहजनक उपलब्धि हाँसिल भएको छ ।

यसले बर्दियाका सामुदायिक वनलाई संरक्षणको माध्यम मात्र नभई स्थानीय समृद्धिको आधारका रूपमा स्थापित गर्दै लगेको छ । समृद्धिका लागि वन परियोजना अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका १२० वटा सामुदायिक वनको करिब १५ हजार हेक्टर क्षेत्रमा सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन गरिएको छ ।

यस वर्ष ७ लाख ५० हजार घनफिट काठ उत्पादन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ५ लाख १५ हजार घनफिट काठ उत्पादन भइसकेको छ । उत्पादन भएको काठ बिक्रीबाट मात्रै सामुदायिक वनले हालसम्म ३६ करोड रुपैयाँ आम्दानी गरिसकेका छन् । त्यसबाट लुम्बिनी प्रदेश सरकारको कोषमा ८ करोड रुपैयाँ तथा संघीय सरकारलाई ५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको डिभिजन वन कार्यालय बर्दियाका सिनियर डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले जानकारी दिए ।

हालसम्म उत्पादन भएको काठमध्ये करिब २५ प्रतिशत मात्रै बिक्री भएको छ । बाँकी काठ पनि बिक्री हुन सके सामुदायिक वनको आम्दानी करिब एक अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसले सामुदायिक वनको आर्थिक क्षमता अझै ठूलो रहेको देखाएको छ ।

वन व्यवस्थापनसँगै स्थानीय स्तरमा रोजगारीका अवसर पनि उल्लेखनीय रूपमा बढेका छन् । वन व्यवस्थापनका विभिन्न काममा उपभोक्ताले प्रत्यक्ष रोजगारी पाएका छन् भने स–मिल उद्योगमार्फत थप २ करोड रुपैयाँभन्दा बढी बराबरको रोजगारी सिर्जना भएको स्थानीय उपभोक्ता अनिता थारुले बताए ।

स्थानीय बिमला पौडेलका अनुसार पहिले रोजगारीका लागि भारत तथा अन्य जिल्लामा जानुपर्ने अवस्था थियो। अहिले भने आफ्नै गाउँमा काम पाइने, घर निर्माणका लागि आवश्यक काठ सहज रूपमा उपलब्ध हुने भएपछि समुदायको वनप्रतिको अपनत्व र जिम्मेवारी दुवै बढ्दै गएको छ ।

वन ऐनअनुसार सामुदायिक वनको आम्दानीमध्ये ४० प्रतिशत वन संरक्षण तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने व्यवस्था छ । बाँकी ६० प्रतिशतमध्ये आधा रकम गरिबी न्यूनीकरण, महिला सशक्तीकरण तथा वन उद्यम विकासमा र बाँकी समुदायको पूर्वाधार तथा सामाजिक विकासमा खर्च गरिँदै आएको स–मिल सञ्चालक श्यामलाल थारुले बताए ।

सम्बद्र्धन प्रणालीको मुख्य उद्देश्य पुराना तथा परिपक्व रुखको व्यवस्थापन गर्दै नयाँ बिरुवा हुर्काउने, वनलाई पुनर्जीवित बनाउने र निरन्तर उत्पादनशील राख्नु हो । यही प्रणालीमार्फत वनको जैविक विविधता संरक्षणसँगै दीर्घकालीन रूपमा काठ तथा अन्य वन पैदावारको दिगो उत्पादन सुनिश्चित गर्ने लक्ष्य लिइएको छ ।

त्यसै कार्यक्रमअन्तर्गत डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा ४० किलोमिटर तारजाली छेकबार निर्माण गरिएको छ । यसबाट जंगली जनावर गाउँबस्तीमा प्रवेश गर्ने क्रम घट्दै गएको र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सकारात्मक प्रभाव परेको कार्यालयले जनाएको छ ।

वन क्षेत्रको वैज्ञानिक व्यवस्थापन, स्थानीय समुदायको सक्रिय सहभागिता र पारदर्शी आम्दानी व्यवस्थापनका कारण बर्दियाका सामुदायिक वन अहिले संरक्षण र विकासलाई एकसाथ अघि बढाउने सफल नमुनाका रूपमा स्थापित हुँदै गएका छन् । दिगो वन व्यवस्थापनबाट प्राप्त आम्दानीलाई समुदायको सामाजिक तथा आर्थिक विकासमा परिचालन गरिँदै आएकाले यस कार्यक्रमले ग्रामीण जीवनस्तर उकास्न, स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन र वन स्रोतको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको सरोकारवालाहरूको विश्वास छ ।

बर्दियाका सामुदायिक वन समृद्धिको आधार बन्दै   दिगो वन व्यवस्थापनबाट करोडौं आम्दानी 

काँचो स्याउ रोक्न पाँचबुँदे निर्णय

Leave a comment

Your email address will not be published. Required fields are marked *