अशान्त मधेस आपसी सद्भाव र राष्ट्रिय एकता कायम गर्न अपिल

ओम शाही
सुर्खेत, १५ साउन ।
गएको आइतबार (१० साउन) मधेश प्रदेशको सुनसरी जिल्लास्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबिच विवाद भयो । उक्त झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका एक युवकको मृत्यु भयो । मृत्यु हुनेमा २४ वर्षीय ओमप्रकाश मेहता छन् । सशस्त्रको गोली लागेर अन्य १० जना घाइते भएका थिए । उनीहरूमध्ये गोली लागेर घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको पनि उपचारका क्रममा बिहीबार मृत्यु भएको छ । घटनापछि स्थिति नियन्त्रणमा लिन सरकारले छानबिन समिति गठन गरेको छ । विभिन्न क्षेत्रमा कर्फ्यु लगाए पनि सुनसरीसहित मधेशका अन्य जिल्लाहरूमा बिहिबार साँझसम्म प्रदर्शन अनियन्त्रित बन्न पुग्यो ।
यो समाचार तयार पार्दासम्मको स्थिति सामान्य बन्नुको साटो सुनसरी घटनाको तरंग मधेसका अन्य जिल्लामा फैलिँदै गएको थियो । आन्दोलनले उग्ररुप लिन थालेपनि सरकारले गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । तर, उक्त छानबिन समितिप्रति सुनसरीवासी अझै विश्वस्त हुन सकेको छैनन् । बरु, तनाव र प्रदर्शन थप फैलन पुगेको छ । सुरक्षाकर्मीको गोली लागेर सिराहामा बिहीबार दिउँसो थप अर्का युवक औरही गाउँपालिका–२ का गणेश यादवको मृत्यु भएपछि सुरक्षा स्थिति नियन्त्रण बाहिर पुग्यो । आन्दोलनकारीले सार्वजनिक तथा निजी सम्पत्तीमाथि आगजनी र तोडफोडसमेत गरेका छन् । बिहिबार बिहानैदेखि सिराहामा दुई पक्षबीचको विवाद मत्थर भइसहेको छैन । दिउँसो २ बजेदेखि कर्फ्यू लगाइएको छ । कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्किएपछि धनुषाका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । त्यस्तै, गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिराहाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । घटनमा प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि व्यापक प्रश्न उठेको छ । विवादले उग्ररुप लिदापनि समस्या समाधानमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङले निर्णायक भूमिका निभाउन नसकेको भन्दै बिहिबारको संसद बैठकमा प्रतिपक्षी दलका सांसदले सरकारको चर्को आलोचना गरका थिए ।
संयमित रहन अपिल
सुनसरी घटनाको विवाद मधेस लगायत अन्य प्रदेशमा फैलनसक्ने भन्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह लगायत प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुले संयमता अपनाउँन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायतका क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव तथा राष्ट्रिय एकता कायम राख्न सबैसँग अपिल गरेका छन् । बिहीबार एक अपिल जारी गर्दै राष्ट्रपति पौडेलले सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु ।’ राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई शान्ति–सुव्यवस्था पूर्ववत् अवस्थामा फर्काउन तथा नागरिकले शान्तिपूर्ण रूपमा जीवनयापन गर्न सक्ने वातावरण बनाउन सरकार हरसम्भव प्रयासमा लाग्ने विश्वास व्यक्त गरेका छन् । यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेका छन् । ‘हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ,’ बिहिबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै शाहले भने । उनले अशान्ति र विभाजनको अवस्था अन्त्य गर्दै आपसी एकता, शान्ति र सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताए ।
प्रधानमन्त्री शाहले घटनाको वास्तविकता बाहिर ल्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै घटनामा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे । ‘यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री शाहले भने । यस्तै, सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश संकटमा फसेका बेला सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखि सबैले हातेमालो गरेर निकास निकाल्नु पर्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि सबैलाई राष्ट्रिय एकतामा उभिएर संवादमार्फत निकास खोज्न आग्रह गरेका छन् । उनीहरुले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखि स्थिति सामान्य बनाउँनतर्फ सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन् । साथै, उनीहरुले आमनागरिकमाथि राज्यले गरिरहेको दमन रोक्नुपर्ने माग गरेका छन् ।
यस्तै, मधेशकेन्द्रित दलहरूले पनि सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले साम्प्रदायिक तनावपछि राज्यका निकायले संयमित र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । साम्प्रदायिक तनावजस्तो संवेदनशील परिस्थितिमा राज्यका निकायले अत्यन्त संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रही काम गर्नुपर्ने उनीहरुको ठहर छ ।




