दुना–टपरी उद्योगले बदल्दै ग्रामीण महिलाको जीवन घरमै बसेर आम्दानी गर्ने अवसर विस्तार

बर्दिया, १५ साउन ।
बर्दियाको मधुवन नगरपालिकास्थित ग्रामीण महिला सामुदायिक वन उपभोक्ता समूहले दुना–टपरी उद्योगलाई थप प्रभावकारी र दिगो बनाउन महिलाहरूका लागि सीप विकास तालिम सञ्चालन गरेको छ । तालिमले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै घरमै बसेर आयआर्जन गर्ने अवसर सिर्जना गरेको छ ।
गत वर्षदेखि सञ्चालनमा रहेको दुना–टपरी उद्योगमा आबद्ध महिला समूहको क्षमता अभिवृद्धि तथा थप महिलालाई उद्योगसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको ग्रामीण महिला सामुदायिक वन उपभोक्ता समूहकी सचिव ओम घर्तीले जानकारी दिए ।
उनका अनुसार सामुदायिक वनका उपभोक्ता परिवारका २८ जना महिलालाई दुना–टपरी निर्माणसम्बन्धी तालिममा सहभागी गराइएको छ । तालिमपछि उनीहरूले घरमै बसेर दुना–टपरी तथा लाफा तयार गरी उद्योगमा बिक्री गर्न सक्नेछन्, जसबाट नियमित आम्दानीको अवसर प्राप्त हुनेछ ।
सामुदायिक वनमा खेर गइरहेका सालका पातको सदुपयोग गर्दै गत असोजदेखि उद्योग सञ्चालनमा आएको हो । हाल उद्योगमा १० जना महिला प्रत्यक्ष रूपमा संलग्न छन् भने तालिमपछि थप महिलाहरू पनि उत्पादनमा जोडिने अपेक्षा गरिएको छ ।
उद्योगले महिलाहरूले घरमै तयार गरेका हाते दुना–टपरी खरिद गर्ने गरेको छ। मेसिनबाट उत्पादन हुने दुना–टपरीका लागि आवश्यक लाफा पनि स्थानीय महिलाबाटै खरिद गरिन्छ । उत्पादन संकलनपछि उद्योगले प्याकेजिङ गरी बजारमा पठाउने व्यवस्था मिलाएको सचिव घर्तीले बताए ।
“सबै महिला उद्योगसम्म आउन सक्ने अवस्था हुँदैन । त्यसैले घरमै बसेर दुना–टपरी बनाउने र त्यसबाट आम्दानी गर्ने व्यवस्था गरेका छौँ । यसले धेरै महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ, अब यो संख्या अझै बढ्नेछ’’ सचिव घर्तीले भने ।
दुना–टपरी उद्योगले महिलाहरूको सीप विकाससँगै उनीहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ । घरधन्दा र पारिवारिक जिम्मेवारीसँगै महिलाहरूले अतिरिक्त आम्दानी गर्न थालेपछि उनीहरूको आत्मविश्वास बढेको छ भने परिवारको आर्थिक अवस्थामा समेत सकारात्मक सुधार देखिन थालेको छ ।
सामुदायिक वनको स्रोतको दिगो उपयोग गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको यस उद्योग स्थापना तथा प्रवद्र्धनका लागि सम्बद्र्धन परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । उक्त परियोजना युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग, आड्रा नेपालको समन्वय तथा एनसाव, नेपाली बी ग्रुप र फेकोफनको साझेदारीमा सञ्चालन भइरहेको छ ।




