बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, सर्पकै संख्या सबैभन्दा बढी

बाँके, ११ साउन । 

डिभिजन वन कार्यालय बाँकेले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रजातिका १९७ वटा वन्यजन्तुको उद्धार गरेको छ । घाइते, टुहुरा, बस्तीमा पसेका तथा विभिन्न कारणले जोखिममा परेका वन्यजन्तुको उद्धार गरी उपचारपछि पुनः प्राकृतिक वासस्थानमा फर्काइएकाले वन्यजन्तु संरक्षणमा सकारात्मक उपलब्धि हासिल भएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै १७० वटा सर्प रहेको बताए । तीमध्ये ७६ वटा कोब्रा (गोमन), ३६ वटा धामन, १९ वटा करेत, १३ वटा रसेल भाइपर, १० वटा अजिङ्गर, पाँच वटा पानी सर्प र एउटा राजगोमन रहेको उनले जानकारी दिए ।

उनका अनुसार अन्य उद्धार गरिएका वन्यजन्तुमा आठ–आठ वटा गोही र सुनगोहोरो, चार वटा चित्तल, तीन–तीन वटा नीलगाई र हुचिल तथा एक–एक वटा बँदेल, बाँदर, बाज र कालोबिरालो रहेका छन् ।

सुशील सुवेदीले घाइते, टुहुरा, बाटो बिराएर बस्तीमा पुगेका वा अन्य कारणले सङ्कटमा परेका वन्यजन्तुको नियमित रूपमा उद्धार गरिँदै आएको जनाए । उनले उद्धार गरिएका अधिकांश वन्यजन्तुलाई आवश्यक उपचारपछि बाँकेका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पुनःस्थापना गर्ने गरिएको र केहीलाई आवश्यकताअनुसार बाँके राष्ट्रिय निकुञ्ज पठाइने गरिएको बताए ।

उनका अनुसार कार्यालयमै घाइते वन्यजन्तुको उपचार गरिने र पूर्ण रूपमा निको भएपछि मात्रै प्राकृतिक वासस्थानमा छाड्ने व्यवस्था गरिएको छ । आहाराको अभाव, मानव गतिविधिको विस्तार, बाटो बिराएर बस्तीमा पस्नु तथा पानी पिउने क्रममा तालतलैया वा नहरमा फस्नेजस्ता कारणले वन्यजन्तु आफ्नो वासस्थानबाट बाहिरिने गरेको उनले भने ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार बाँकेमा वन्यजन्तु उद्धारको संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा १७, २०७७/७८ मा ३४, २०७८/७९ मा ३१, २०७९/८० मा ४२, २०८०/८१ मा ९९, २०८१/८२ मा १३८ र २०८२/८३ मा १९७ वटा वन्यजन्तुको उद्धार गरिएको छ ।

वन्यजन्तु उद्धारको संख्या वर्षेनी बढ्दै जानुले एकातिर वन्यजन्तु संरक्षणमा सरकारी निकायको सक्रियता बढेको देखिए पनि अर्कोतर्फ वन क्षेत्र र मानव बस्तीबीचको द्वन्द्व तथा वन्यजन्तुको वासस्थानमा बढ्दो दबाब पनि चुनौतीका रूपमा रहेको सरोकारवालाहरूको भनाइ छ ।

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, सर्पकै संख्या सबैभन्दा बढी

मुगु अदालतमा ७८ प्रतिशत मुद्दा फर्स्योट

Leave a comment

Your email address will not be published. Required fields are marked *