असारको अन्तिम दिनः जहाँ युवा, युवती काफल टिप्न जान्छन्

गाेल्डेन बुढा

जुम्ला,३२ असार ।

बिहानैदेखि पाटन उक्लिने बाटोमा मानिसहरूको पाइला बढ्न थाल्छ। कसैको काँधमा निकालोबाट बुनेको डोको छ, कसैले प्लास्टिकको झोला बोकेको छ। युवतीहरूको हाँसो जंगलभरि फैलिन्छ, युवाहरू उनीहरूको पछिपछि उक्लिरहेका हुन्छन्। आकाशमा बादल मडारिन थालेका हुन्छन्। हरियो पाटनमाथि राताम्मे काफलले भरिएका रुखहरू उनीहरूलाई कुरिरहेका हुन्छन्। दिन ढल्दै जाँदा पाटनमा देउडाको ताल गुञ्जिन्छ, मायाप्रितिका गीतहरू उर्लिन्छन्, अनि काफलको मिठाससँगै असार महिनाले बिदाइ पाउँछ।

जुम्लाको सिँजा क्षेत्रमा असारको अन्तिम दिन काफल खाने दिन मात्रै होइन, एउटा पुस्ताले अर्को पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने दिन पनि हो। यही दिन युवतीहरू पाटनमा पुगेर काफल टिप्छन्, युवाहरू उनीहरूसँगै रमाउँछन्, टिपिएका काफल साटासाट हुन्छन्, देउडा खेलिन्छ र साँझ घर फर्कँदा असारलाई बिदाइ गरेर साउनलाई स्वागत गरिएको विश्वास गरिन्छ।जुम्लाको प्रदेशसभा क्षेत्र (ख) अन्तर्गत पर्ने सिँजा, हिमा र कनकासुन्दरीका स्थानीयका लागि यो दिन वर्षकै विशेष दिन मानिन्छ। बुढापाकाका अनुसार पाटनमा गएर काफल टिप्ने र खाने चलन पुस्तौँदेखि निरन्तर चल्दै आएको हो। युवतीहरूले काफल टिप्ने, युवाहरूले उनीहरूसँग रमाइलो गर्ने, टिपेका काफल मागेर खाने र देउडामार्फत मनका भावना साटासाट गर्ने संस्कारले यो दिनलाई केवल मौसमी फलको उत्सवमा सीमित राखेको छैन, सामाजिक सम्बन्ध र प्रेम अभिव्यक्त गर्ने अवसरसमेत बनाएको छ।जेठको मध्यदेखि पाक्न थालेको काफल असार मसान्तसम्म आइपुग्दा जंगलभरि राताम्मे हुन्छ। यही दिनपछि काफल विस्तारै हराउँदै जान्छ। त्यसैले असारको अन्तिम दिन काफल खानैपर्ने विश्वास स्थानीय समाजमा गहिरोसँग बसेको छ।

काफल टिप्न जाँदा प्लास्टिक वा निकालोबाट बुनेका भाँडा साथमा लगिन्छ। कतै वर्षा परे छाता ओढिन्छ, कतै प्लास्टिक। स्थानीय मान्यताअनुसार यही दिन पानी पर्नु शुभ मानिन्छ। पानी परेपछि साउन सुरु भएको ठानिन्छ र त्यसपछि गाईगोरु लेकतिर लैजाने परम्परा सुरु हुन्छ।सिँजा–६ का स्थानीय मानवहादुर बुढा भन्छन्, “काफल टिपेर असारको विदाइ गर्छौँ। पानी परेपछि साउनको स्वागत गरेर घर फर्किन्छौँ। यही दिनबाट नयाँ मौसम सुरु भएको महसुस हुन्छ।”पाटनमा काफल टिप्ने मात्रै होइन, सामूहिक भोज खाने चलन पनि छ। दही, दूध, जुम्ली मार्सीको खिर, मासु, पुरी र तरकारी पाटनमै पकाइन्छ। पुराना पटुका, चोलो, धोती लगाइन्छ, गलामा माला पहिरिन्छ। यही दिन गाईको गलामा पहिलोपटक घाँडो (घण्टी) बाँध्ने परम्परा छ। हरियो चौरमा गाईलाई घाँडो लगाइएपछि मात्रै वर्षभरिको गोठालो जीवन सुरु भएको मानिन्छ।

घरमा गाई नहुनेले पनि बजारबाट पाउडर दूध किनेर भए पनि खिर खाने चलन अझै बाँकी छ।सिँजाका जंगलमा चराचुरुङ्गीको आवाज पनि यो संस्कृतिसँग गाँसिएको छ। स्थानीय विश्वासअनुसार चराले कराउन थालेपछि काफल पाकेको संकेत मिल्छ। काफल पाकेपछि जंगल राताम्मे हुन्छ र चराहरूलाई टाढासम्म चारो खोज्दै भौंतारिनु पर्दैन।काफललाई यहाँ केवल जंगली फलका रूपमा हेरिँदैन। यो प्रकृतिको शुद्ध उपहार हो। यसलाई फलाउन मल चाहिँदैन, विषादी चाहिँदैन, संरक्षण गर्न रसायन चाहिँदैन। त्यसैले यसको स्वादसँगै यसप्रतिको विश्वास पनि पुस्तौँदेखि जोगिएको छ।स्थानीय बुढापाकाका अनुसार ज्वरो, घाँटी दुख्ने, दम, रगतको कमी वा खाना अरुची हुँदा काफल उपयोगी मानिन्छ। सिँजा गाउँपालिका–६ जोडुका ८९ वर्षीय मोतिराम बुढा काफलले मुटुसम्बन्धी समस्या र क्यान्सरको जोखिम कम गर्न सहयोग पुग्ने जनविश्वास रहेको सुनाउँछन्। आधुनिक विज्ञानले यी सबै दाबी पुष्टि नगरे पनि स्थानीय समाजमा काफललाई औषधीय गुण भएको फलका रूपमा सम्मान गरिन्छ।सिँजाका लोकगीत, देउडा र चड्किलामा काफल बारम्बार दोहोरिन्छ। काली बुढाका अनुसार पहिले प्रत्येक घरमा जुम्ली मार्सीको खिर पाक्थ्यो, गाईको ताजा दूध उमालिन्थ्यो, गाउँभरि देउडाको घन्को सुनिन्थ्यो। अहिले त्यो दृश्य केही फेरिएको छ। खिर पाक्ने भाँडो घटेको छ, युवाहरू गाउँबाहिर छन्, कतिपय पाटन पहिलेझैँ भरिभराउ छैनन्।

यद्यपि साँझ पर्दासम्म पाटनबाट फर्किने युवायुवतीका हातमा काफल हुन्छ, अनुहारमा मुस्कान हुन्छ र सम्झनामा अर्को असारसम्म जोगिने एउटा दिन हुन्छ।यही सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यले सिँजा गाउँपालिकाले काफल खाने दिनलाई औपचारिक रूपमा ‘काफल दिवस’ का रूपमा मनाउन थालेको छ। सिँजा गाउँपालिका–६ का वडा अध्यक्ष लालबहादुर बुढाका अनुसार गाउँपालिकाको १२औँ गाउँसभाले परापूर्वकालदेखि चल्दै आएको यो परम्परालाई संस्थागत गर्दै प्रत्येक वर्ष काफल दिवस मनाउने निर्णय गरेको हो।आज पनि गोवानी, दमाईमारे, डिके, देउलाडी, माजखरक र चौरीमेलका रमणीय पाटनमा सयौँ स्थानीय भेला भए। काफल टिपे, देउडा खेले, चड्किला गाए र वर्षौंदेखि दोहोरिँदै आएको एउटा सांस्कृतिक कथा फेरि एकपटक जीवित राखे।

Leave a comment

Your email address will not be published. Required fields are marked *