लेबरीबाट फर्केर जुम्लामै उद्योग

गाेल्डेन बुढा

जुम्ला,३१ असार ।
घरको माइलो छोरा हुन्।चार भाइमध्ये २९ वर्षीय मोहनराज रावतको जीवनमा एउटा ‘डी’ ग्रेडले ठूलो मोड ल्यायो। २०७२ सालमा तिला गाउँपालिका–१ स्थित सीता मावि रारालिहीबाट एसईई तृतीय श्रेणीमा उत्तीर्ण भए। तर गणितमा ‘डी’ ग्रेड आयो। ग्रेड वृद्धि परीक्षाका लागि लेखापाललाई फोटो र रुपैयाँ बुझाए। तर फर्म नै छुटाइयो। रुपैयाँ पनि फिर्ता भएन। उनका साथीहरू पढाइमा अगाडि बढे, उनी भने त्यहीँ रोकिए।“साथीहरू अगाडि बढे, म पछारिएँ,” मोहनराज आज पनि त्यो क्षण सम्झिन्छन्।पढाइको ढोका बन्दजस्तै भएपछि उनी रोजगारी खोज्दै भारत पुगे। उत्तराखण्डको चमेली क्षेत्रमा करिब १४ महिना गिट्टी–बालुवा फिट्ने लेबरी काम गरे। पसिना बगाएर करिब एक लाख २५ हजार रुपैयाँ कमाए। तर घर फर्किएलगत्तै बहिनीको विवाह पर्‍यो। कमाएको अधिकांश रकम त्यहीँ खर्चियो। हातमा २० हजार रुपैयाँ मात्र बाँकी रह्यो।त्यसपछि उनले घरको जेठो दाजुसँग ४० हजार रुपैयाँ सापटी मागे। दाजुले साथ दिए। आफ्नै गाउँ तिला गाउँपालिका–१ रारामा फ्रेस हाउस र किराना पसल सुरु गरे। तीन वर्षसम्म मासु, चाउचाउ र बिस्कुट बेचेर व्यवसाय धान्ने प्रयास गरे। तर गाउँको उधारो कारोबारले पसल टिक्न सकेन। व्यवसाय डुब्यो। लगानी डुबेसँगै मन पनि डुब्यो।तर उनी हार मानेनन्।‘अब जुम्लामा कसैले नगरेको काम गर्नुपर्छ’ भन्ने अठोट बोकेर उनी फेरि नेपालगन्जकाे कोहलपुर पुगे। त्यहाँ ४५ दिन आइसक्रिम, कुल्फी र बरफ बनाउने तालिम लिए। तालिम शुल्क ३२ हजार रुपैयाँ तिरे। कोठाभाडा, खाना र अन्य खर्च जोड्दा एक लाख ६ हजार रुपैयाँ सकियो। धेरैका लागि त्यो खर्च थियो, मोहनराजका लागि भने भविष्यको लगानी बन्यो।करिब साढे दुई वर्षअघि उनले जुम्लाको सदरमुकाम खलंगाको बसपार्कमा ‘पूजा आइसक्रिम उद्योग’ स्थापना गरे। बिहान ७ बजेदेखि बेलुका साढे ६ बजेसम्म उनी र उनका कर्मचारी रिक्सा गुडाउँदै आइसक्रिम बेचिरहेका हुन्छन्।बरफ १० रुपैयाँ, कुल्फी २० रुपैयाँ, आइसक्रिम २० रुपैयाँ र चकलेट आइसक्रिम ५० रुपैयाँमा बिक्री हुन्छ। अहिले उनका पाँच वटा रिक्सा खलंगाका गल्ली र चोकमा गुडिरहेका छन्। भाइ नन्दु रावतसहित धनबहादुर रावत, दत्तबहादुर रावत र बमबहादुर बुढा उद्योगमा कार्यरत छन्। तीन कर्मचारीलाई दैनिक बिक्रीको ४० प्रतिशत पारिश्रमिक दिने व्यवस्था गरेका छन्।उनका अनुसार दैनिक न्यूनतम ६ सयदेखि ४ हजार रुपैयाँभन्दा बढीको कारोबार हुन्छ। मासिक न्यूनतम ४५ हजार देखि ५० हजार रुपैयाँ आम्दानी भइरहेको छ। “पहिला अलि बढी हुन्थ्यो, आजभोलि केही घटेको छ,” उनी भन्छन्।उद्योगमा प्रयोग हुने मुख्य कच्चा पदार्थ स्थानीय गाईभैंसीको दूध हो। साथै, चिनी, जेमएस र स्कट प्रयोग गरिन्छ। उत्पादनमा करिब ९० प्रतिशत दूध र १० प्रतिशत अन्य सामग्री मिसाइन्छ। त्यसैले उनका उत्पादन स्थानीय स्वादसँग जोडिएका छन्।व्यवसाय सुरु गर्दा २२ लाख रुपैयाँ लगानी गरेका थिए। त्यसमध्ये ११ लाख आफ्नै र ११ लाख ऋण थियो। अहिले उद्योगमा कुल लगानी २५ लाख रुपैयाँ पुगिसकेको छ। बीचमा ६५ हजार रुपैयाँ खर्चेर डेकोरेसन गरे। मेसिन मर्मतसमेत गरे।

उद्योगमा बरफ र आइसक्रिम उत्पादन गर्ने दुईवटा मेसिन छन्, जुन भारतको लखनउबाट ल्याइएको हो।प्रायः विद्यालयका बालबालिका र बुढाबुढी उनका नियमित ग्राहक हुन्। लगानी लगभग उठिसकेको छ। उद्योग अहिले नाफामा छ।“सुरुमा लगानी डुब्छ कि भन्ने डर थियो,” उनी भन्छन्, “तर अहिले राम्रो कमाइ भइरहेको छ। सीप सिकेपछि आफ्नै गाउँमा बसेर आमाबुबाको हेरचाह, छोराछोरीको पढाइ र घरखर्च सबै यहीँबाट चलेको छ। नेपाल सरकारको अधिकृत तहको तलबसरह मासिक आम्दानी भइरहेको छ।”मोहनराजका अनुसार अधिकांश युवा रोजगारीका लागि दिल्ली, मुम्बई, हिमाचल वा कालापहाडतिर जान्छन्। उनी भने जुम्लामै बसेर स्थानीय दूध किन्छन्, रातभर जाग्राम बसेर कुल्फी, बरफ र आइसक्रिम बनाउँछन् र बिहानदेखि साँझसम्म बसपार्क, विमानस्थल, जुम्ला बहुमुखी क्याम्पस र बालमन्दिर क्षेत्रसम्म रिक्सा गुडाउँदै बिक्री गर्छन्।“काम गर्ने आत्मबल र इच्छाशक्ति भए देशमै केही गर्न सकिन्छ,” मोहनराज रावत भन्छन्, “सामान्य व्यापार हो, तर आम्दानी राम्रै छ। सन्तानको भविष्य सुनिश्चित गर्न अब हामीलाई कसैको भर पर्नु परेको छैन।”एसईईकाे ग्रेड वृद्धि परीक्षाले उनको पढाइ रोकिदियो। तर त्यहीँबाट सुरु भएको संघर्षले आज उनीलाई जुम्लाको सफल युवा उद्यमी बनायाे। भारतको लेबरीबाट फर्किएका युवा माेहनराजले आज आफ्नै घरआगनमा रोजगारी सिर्जना गर्दै सीप, श्रम र आत्मविश्वासले भविष्य बदल्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम भने रोकिएको छैन। जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ को असोज मसान्तसम्म ३ हजार ७ सय ५६ जनाले राहदानी बनाएका छन्।जसमध्ये आर्थिक वर्ष २०८१/८२ मा ६ सय ३२ जना, २०८०/८१ मा ७ सय ८३ जना,२०७९/८० मा १ हजार ४ सय ५ जना, २०७८/७९ मा ६ सय र २०७७/७८ मा ३ सय ३६ जनाले राहदानी लिएका छन्।

लेबरीबाट फर्केर जुम्लामै उद्योग

साइकलका दुई पाङ्ग्रामा २५ वर्षको पत्रकारिता :

Leave a comment

Your email address will not be published. Required fields are marked *